YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 8:31-47

यूहन्‍ना 8:31-47 NCV

येशूले उहाँमाथि विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्‍यौ भने, तिमीहरू साँच्‍चै नै मेरा चेलाहरू हौ। तब तिमीहरूले सत्यतालाई चिन्‍नेछौ, अनि सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” तिनीहरूले उहाँलाई भने, “तर हामी ता अब्राहामका सन्तान हौं, र कहिल्यै कसैको सेवक बनेका छैनौं। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौं भन्‍ने कुरा तपाईं कसरी भन्‍न सक्नुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको एउटा सेवक हो। घरमा कुनै पनि सेवकको स्थायी स्थान हुँदैन, तर पुत्रचाहिँ सधैंभरि घरमा रहन्छन्। त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने, तिमीहरू साँच्‍चै स्वतन्त्र हुनेछौ। तिमीहरू अब्राहामका सन्तान हौ, म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ; किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन। मैले मेरा पिताको उपस्थितिमा जे-जे देखें, सो तिमीहरूलाई भन्दैछु; तर तिमीहरूले चाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।” तिनीहरूले जवाफ दिए, “हाम्रा पिता त अब्राहाम हुन्।” येशूले भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ ता, तिमीहरूले पनि अब्राहामले गरेका काम गर्नेथियौ। तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्‍चय गरेका छौ, जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्‍वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्। तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।” तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौं; हाम्रा एउटै मात्र पिता स्वयम् परमेश्‍वर नै हुनुहुन्छ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूका पिता परमेश्‍वर हुनुहुँदो हो ता, तिमीहरूले मलाई प्रेम गर्नेथियौ; किनकि म परमेश्‍वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफै आएको होइनँ, तर मलाई परमेश्‍वरले पठाउनुभयो। मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरूले मैले भनेका कुराहरू सुन्‍न सक्दैनौ। तिमीहरू ता तिमीहरूका पिता शैतानबाटका हौ, र तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन; किनकि त्यसमा केही सत्य छँदैछैन। झूटो बोल्नु ता त्यसको स्वभाव अनुसारको बोली हो; किनकि त्यो झूट हो, र झूटको पिता नै हो। किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ! के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ? जो परमेश्‍वरबाटको हो, त्यसले परमेश्‍वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्‍नुको कारण यही हो कि, तिमीहरू परमेश्‍वरका होइनौ।”

यूहन्‍ना 8 पढ्नुहोस्