येशूले आफूमाथि विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ। तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तान हौं, र अहिलेसम्म कसैको दासत्वमा परेका छैनौं। ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी कसरी भन्छौ?”
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। म जान्दछु, तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न खोज्दछौ, किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन। जे-जे मैले मेरा पिताको उपस्थितिमा देखेको छु, त्यही म भन्दछु। तिमीहरूले पनि जे तिमीहरूका पिताबाट सुनेका छौ, त्यही गर्दछौ।”
तिनीहरूले उहाँलाई भने, “हाम्रा पिता त अब्राहाम हुन्।”
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, अब्राहामले जे काम गरे त्यही गर्नेथियौ। मैले परमेश्वरबाट सुनेको सत्य तिमीहरूलाई भनेको छु, तर अहिले तिमीहरू मलाई मार्न खोज्दछौ। अब्राहामले यस्तो काम गरेनन्। तिमीहरूका पिताले जे गरे तिमीहरू त्यही काम गर्दछौ।”
तिनीहरूले उहाँलाई भने, “हामी व्यभिचारमा जन्मिएका होइनौं! हाम्रा पिता एउटै हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ।”
येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्नेथियौ, किनभने म परमेश्वरबाट निस्किआएँ। म आफ्नै इच्छाले आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो। मैले भनेको तिमीहरू किन बुझ्दैनौ? किनभने तिमीहरूले मेरो वचन सुन्न सक्दैनौ। तिमीहरू आफ्नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको सङ्कल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन। किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूट बोल्दछ, त्यो आफ्नै स्वभावअनुसार बोल्दछ, किनभने त्यो झूटो हो र झूटको पिता हो। म सत्य बोल्दछु, तर तिमीहरू मलाई विश्वास गर्दैनौ। तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ? यदि म सत्य बोल्दछु भने, किन तिमीहरू ममाथि विश्वास गर्दैनौ? जो परमेश्वरको हो, त्यसले परमेश्वरका वाणी सुन्दछ। तिमीहरू परमेश्वरका होइनौ, यसैकारण तिमीहरू सुन्दैनौ।”