YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 7:25-53

यूहन्‍ना 7:25-53 NCV

तब यरूशलेमका बासिन्दाहरूमध्ये कतिले भन्‍न लागे, “के तिनीहरूले मार्न खोजेका व्यक्ति यिनी नै होइनन् र? अनि यिनी त त्यहीँ छन्, र खुल्‍लमखुल्‍ला बोल्दैछन्। तर तिनीहरूले यिनलाई एक शब्द पनि भन्दैनन्। के अधिकार प्राप्‍त मानिसहरूले पनि यिनी नै ख्रीष्‍ट हुन् भनी साँच्‍चै ठहर गरे कि कसो? तर यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ; तर ख्रीष्‍ट आउनुहुँदा उहाँ कहाँबाट हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।” तब अझै पनि मन्दिरको चोकमा शिक्षा दिँदै रहनुहुँदा येशूले उच्‍च सोरले भन्‍नुभयो, “तिमीहरू मलाई पक्‍कै चिन्दछौ, र म कहाँको हुँ भनी तिमीहरू जान्दछौ; म यहाँ आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दैनौ। तर म उहाँलाई चिन्दछु। किनकि म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।” यो सुनेर तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन। किनकि उहाँको समय अझै आइपुगेको थिएन। तर पनि भीडका धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे। तिनीहरूले भने, “जब ख्रीष्‍ट आउनुहुन्छ, के उहाँले यी मानिसले भन्दा पनि बढी अलौकिक चिन्हहरू गर्नुहोला र?” भीडले उहाँको विषयमा यस्तो चर्चा गरेको कुरा फरिसीहरूले सुने। त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले उहाँलाई पक्रनका लागि मन्दिरका पहरेदारहरूलाई पठाए। येशूले भन्‍नुभयो, “म अब केही समयको निम्ति मात्र तिमीहरूसँग रहन्छु, र त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु। तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ। म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।” यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जान लाग्दैछन्, र हामी यिनलाई भेट्टाउनेछैनौँ? के यिनी ग्रीकहरूका बीचमा छरिएर बसेका हाम्रा मानिसहरूकहाँ जान, र ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्? यिनले यसो भन्‍नुको अर्थ के हो? ‘तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ’ र ‘म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ?’ ” चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्‍च सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाउँछ भने ऊ मकहाँ आओस् र पिओस्। जसले ममाथि विश्‍वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।” यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्‍नुभएको थियो, जसलाई उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन। किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन। उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्‍चय नै यी मानिस अगमवक्ता हुन्।” अरूहरूले भने, “उहाँ ख्रीष्‍ट हुनुहुन्छ।” तर अझै अरूहरूले प्रश्न गरे, “ख्रीष्‍ट कसरी गालीलबाट आउन सक्छन् र? के धर्मशास्त्रमा ख्रीष्‍ट दावीदको वंशबाट र दावीदकै सहर बेथलेहेमबाट आउनेछन् भनी लेखिएको छैन र?” यसरी येशूका कारण मानिसहरूका बीचमा फाटो आयो। कति मानिसहरूले उहाँलाई पक्रन चाहन्थे, तर उहाँमाथि कसैले पनि हात हालेन। अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?” पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै पनि मानिसले कहिल्यै बोलेन।” फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त? के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्‍वास गरेको छ र? तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।” निकोदेमस, जो पहिले येशूकहाँ गएका थिए, जो तिनीहरूमध्येकै एक थिए; तिनले भने, “के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्‍नको लागि नजाँची र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?” तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर, र तिमीले थाहा पाउनेछौ। किनभने गालीलबाट कुनै अगमवक्ता निस्कँदैन।” त्यसपछि सबै जना आ-आफ्ना घरतिर गए।

यूहन्‍ना 7 पढ्नुहोस्