YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:22-40

यूहन्‍ना 6:22-40 NCV

भोलिपल्ट तालको अर्को किनारमा रहेका भीडले त्यहाँ एउटा मात्र डुङ्गा रहेको र येशू चेलाहरूसँग त्यो डुङ्गामा नचढ्नुभएको, तर चेलाहरूमात्रै त्यहाँबाट गएका थिए भनी थाहा गरे। त्यसपछि तिबेरियास सहरबाट केही डुङ्गाहरू त्यस ठाउँ नजिक आइपुगे, जहाँ अगिल्‍लो दिन प्रभुले धन्यवाद दिनुभएपछि मानिसहरूले रोटी खाएका थिए। त्यहाँ न येशू हुनुहुन्छ, न त उहाँका चेलाहरू नै छन् भन्‍ने थाहा पाएपछि तिनीहरू डुङ्गामा चढे, र येशूको खोजी गर्दै कफर्नहुममा गए। तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ। नष्‍ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्‍वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।” तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्‍वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “परमेश्‍वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्‍वास गर।” यसकारण तिनीहरूले उहाँलाई सोधे, “तपाईंले के अलौकिक चिन्ह दिनुहुन्छ, ताकि हामीले त्यो देखेर तपाईंमाथि विश्‍वास गरौँ? तपाईं के गर्नुहुन्छ? हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्‍न खाए। धर्मशास्त्रमा लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका लागि स्वर्गबाट रोटी दिनुभयो।’” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।” तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।” तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्‍वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्‍वास गर्दैनौ। पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ। किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ; तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ। किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्‍वास गर्छ, त्यसले अनन्त जीवन प्राप्‍त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।”

यूहन्‍ना 6 पढ्नुहोस्