तालको किनारमा एउटा मात्र नाउ थियो र चेलाहरूसँग येशू त्यस नाउमा चढ्नुभएको थिएन तर चेलाहरू मात्र चढेका थिए भन्ने कुरा तालको पारिपट्टि रहेका मानिसहरूलाई भोलिपल्ट याद आयो। येशूले धन्यवाद चढाएर मानिसहरूलाई रोटी खुवाउनुभएको ठाउँनेर तिबेरियास सहरबाट अरू नाउहरू पनि आइपुगे। येशू र उहाँका चेलाहरूलाई कहीँ पनि नदेख्दा ती मानिसहरू नाउमा चढेर कफर्नहुम सहरतिर खोज्न गए। येशूलाई तालको पारिपट्टि भेटेर मानिसहरूले भने, “गुरुज्यू, तपाईं कतिखेर यहाँ आउनुभयो?” येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मैले देखाएका चिन्हहरूको अर्थ बुझेर होइन, तर अघाउञ्जेल रोटी खान पाएकोले तिमीहरूले मलाई खोजेका हौ। नाश हुने रोटीको लागि काम गर्ने होइन तर अनन्त जीवनसम्म रहने रोटीको लागि काम गर। यो अनन्त जीवनसम्म रहने रोटी मानिसको पुत्रले तिमीहरूलाई दिनेछ किनभने यसैको लागि परमेश्वर पिताले उसलाई खटाएर पठाउनुभएको हो।” मानिसहरूले सोधे, “त्यसो भए परमेश्वरले चाहनुभएको काम गर्न हामीले के गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “परमेश्वरले पठाउनुभएकोलाई विश्वास गर्नुपर्छ, यही नै परमेश्वरले चाहनुभएको काम हो।” तिनीहरूले भने, “तपाईंले कस्तो खालको चिन्ह देखाउनुहुन्छ र हामीले तपाईंलाई विश्वास गरौं? खै, कस्तो खालको काम गर्नुहुन्छ? हाम्रा पुर्खाहरूले त उजाड-स्थानमा मन्न खाए। ठीक त्यस्तै धर्मशास्त्रले पनि भन्छ, ‘उहाँले तिनीहरूलाई स्वर्गीय रोटी खान दिनुभयो’।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मोशाले तिमीहरूलाई स्वर्गको रोटी दिएका होइनन्। तर मेरो पिताले पो तिमीहरूलाई स्वर्गको साँचो रोटी दिनुहुन्छ। परमेश्वरले दिने रोटीचाहिँ ऊ नै हो, जसले स्वर्गबाट आएर संसारलाई जीवन दिन्छ।” तिनीहरूले भने, “प्रभु, परमेश्वरको त्यो रोटी हामीलाई सधैँ दिनुहोस्!” येशूले तिनीहरूलाई भन्नुभयो, “अनन्त जीवन दिने रोटीचाहिँ म नै हुँ। मकहाँ आउने भोकाउनेछैन र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई भनिसकेको छु, तिमीहरूले मलाई देखेर पनि विश्वास गरेनौ। तर मेरा पिताले मलाई दिनुहुने जति सबै मकहाँ आउनेछन् र मकहाँ आउने जतिलाई चाहिँ म फर्काउँदिनँ। मेरो आफ्नै इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न म स्वर्गबाट आएको हुँ। मलाई पठाउनुहुनेको इच्छा यो हो कि परमेश्वरले मलाई दिनुभएका जति कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई संसारको आखिरी दिनमा जिउँदो पारूँ। हो, मेरा पिताको इच्छा यही नै हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने जति सबैले अनन्त जीवन पाऊन् अनि संसारको आखिरी दिनमा म तिनीहरूलाई मरेकोबाट बिउँताउनेछु।”
यूहन्ना 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 6:22-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू