येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ। तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।” त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।” उहाँले त्यसलाई भन्नुभयो, “जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ।” त्यसले जवाफ दिई, “मेरो पति छैन।” येशूले त्यसलाई भन्नुभयो, “तिम्रो पति छैन भनेर तिमीले ठिकै भन्यौ। वास्तवमा तिम्रा पाँच जना पतिहरू भइसकेका छन्। अनि अहिले तिमीसँग भएको मानिस पनि तिम्रो पति होइन। तिमीले अहिले जे भन्यौ, त्यो साँचो हो।” त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्ता हुनुपर्छ। हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।” येशूले भन्नुभयो, “ए नारी, मलाई विश्वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ। तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ। तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।” त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्ट गरिदिनुहुनेछ।” तब येशूले भन्नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।”
यूहन्ना 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 4:13-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू