YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 4:13-26

यूहन्‍ना 4:13-26 सरल नेपाली

येशूले जवाफ दिनुभयो, “यो पानी पिउने फेरि तिर्खाउँछ। तर मैले दिएको पानी पिउनेचाहिँ फेरि कहिल्‍यै पनि तिर्खाउनेछैन किनभने मैले दिने पानीचाहिँ ऊभित्र उम्रिरहने पानीको मूल हुनेछ र यसले उसलाई अजम्‍मरी जीवन दिनेछ।” सामरी स्‍त्रीले भनिन्, “हजुर, त्‍यसो भए मलाई त्‍यही पानी दिनुहोस् अनि म फेरि कहिल्‍यै तिर्खाउनेछैनँ र यहाँ पानी लिन पनि आइरहनुपर्नेछैनँ।” येशूले भन्‍नुभयो, “जाऊ र तिम्रो लोग्‍नेलाई बोलाएर यहाँ ल्‍याऊ।” सामरी स्‍त्रीले भनिन्, “मेरो त लोग्‍ने नै छैन।” येशूले भन्‍नुभयो, “मेरो लोग्‍ने छैन भनेर तिमीले ठीकै भन्‍यौ। तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन्। तर अहिले जोसँग तिमी बसेकी छौ, ऊ पनि तिम्रो खास लोग्‍ने होइन। तिमीले भनेको कुरा साँचो हो।” सामरी स्‍त्रीले भनिन्, “हजुर, तपाईं त अगमवक्ता पो हुनुहुँदो रहेछ। हाम्रा सामरी पुर्खाहरूले त यस डाँडामा परमेश्‍वरको पूजा गर्थे। तर तपाईं यहूदीहरूचाहिँ परमेश्‍वरको पूजा गर्ने ठाउँ यरूशलेम नै हो भनेर भन्‍नुहुन्‍छ।” येशूले तिनलाई भन्‍नुभयो, “मलाई विश्‍वास गर, त्‍यो बेला आउँदै छ, जब मानिसहरू परमेश्‍वर पिताको पूजा गर्न नता यस डाँडामा नता यरूशलेममा जानेछन्। तिमी सामरीहरू परमेश्‍वरलाई चिन्‍दैनौ र पनि पुज्‍दछौ। हामीले परमेश्‍वरलाई चिनेर पुज्‍दछौं कारण मानिसको मुक्तिचाहिँ यहूदीहरूबाट नै आउँछ। तर समय आउँदै छ र अहिले नै आइसकेको छ, साँचो पूजा गर्नेहरूले पितालाई सत्‍य र आत्‍माले पुज्‍नेछन्। यसरी पुज्‍ने मानिसहरूलाई परमेश्‍वर पिताले चाहनुहुन्‍छ। परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई पुज्‍नेहरूले आत्‍मा र सत्‍यतामा पुज्‍नुपर्छ।” यो सुनेर सामरी स्‍त्रीले भनिन्, “मलाई थाहा छ, मुक्ति दिनुहुने मसीह (जसलाई ‘ख्रीष्‍ट’ पनि भनिन्‍छ) आउनुहुनेछ र आउनुभएपछि उहाँले नै हामीलाई सबै कुरा बुझाउनुहुनेछ।” येशूले भन्‍नुभयो, “तिमीसँग बोलिरहने म त्‍यही ख्रीष्‍ट हुँ।”

यूहन्‍ना 4 पढ्नुहोस्