YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 3:22-36

यूहन्‍ना 3:22-36 NCV

यसपछि येशू र उहाँका चेलाहरू यहूदियाका गाउँहरूतिर जानुभयो; अनि उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो; र बप्‍तिस्मा दिनुभयो। यसै समयमा यूहन्‍नाले पनि सालीमको नजिकै एनोनमा बप्‍तिस्मा दिइरहेका थिए; किनकि त्यहाँ प्रशस्त पानी थियो, अनि बप्‍तिस्मा लिनलाई मानिसहरू निरन्तर आइरहेका थिए। (यो यूहन्‍ना झ्यालखानामा पर्नुभन्दा अघिको कुरा थियो।) यूहन्‍नाका केही चेलाहरू र एउटा यहूदीका बीचमा शुद्धीकरणको विषयमा वाद-विवाद चल्यो। तिनीहरू यूहन्‍नाकहाँ आएर तिनलाई भने, “गुरुज्यू, यर्दन नदीपारि तपाईंसँग हुनुभएको व्यक्‍ति, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, उहाँले पनि बप्‍तिस्मा दिँदैहुनुहुन्छ, अनि सबै मानिसहरू उहाँकहाँ जाँदैछन्।” यसै कुरालाई यूहन्‍नाले यसरी जवाफ दिए, “कुनै पनि मानिसलाई स्वर्गबाट उसलाई जे दिइन्छ, त्यो मात्र पाउन सक्छ। ‘म ता ख्रीष्‍ट होइनँ; तर उहाँको अगाडि पठाइएको हुँ’ भन्‍ने बारेमा तिमीहरू आफैले गवाही दिन सक्छौ। दुलही दुलहाको निम्ति हुन्छे। दुलहासँग रहने मित्रले उसको प्रतीक्षा गर्छ र उसका कुरा सुन्छ, अनि उसको स्वर सुनेर ऊ आनन्दले पूर्ण हुन्छ। त्यही नै मेरो आनन्द हो; र त्यो अब पूर्ण भएको छ। उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ। “जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्‍च हुनुहुन्छ; पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैं बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्‍च हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्‍नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ; तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्। जुन मानिसले उहाँको गवाही ग्रहण गरेको छ, उसले परमेश्‍वर सत्य हुनुहुन्छ भनी गवाही दिन्छ। किनकि परमेश्‍वरले जसलाई पठाउनुभएको छ, त्यसले परमेश्‍वरकै वचन बोल्दछ; किनकि परमेश्‍वरले पवित्र आत्मा विनानाप दिनुहुन्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा राखिदिनुभएको छ। जसले पुत्रमाथि विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन, किनकि परमेश्‍वरको क्रोध त्यसमा रहन्छ।”

यूहन्‍ना 3 पढ्नुहोस्