यूहन्ना 3:22-36
यूहन्ना 3:22-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्तिस्मा दिनुभयो। यूहन्नाले पनि सालीमको छेउ एनोनमा बप्तिस्मा दिन्थे, किनकि त्यहाँ प्रशस्त पानी थियो। त्यहाँ मानिसहरू आउँथे र बप्तिस्मा लिन्थे। त्यस बेलासम्म यूहन्ना झ्यालखानमा परेका थिएनन्। त्यसै बेला यूहन्नाका चेलाहरूको एक जना यहूदीसँग शुद्धीकरणको विषयमा वाद-विवाद भयो। यूहन्नाकहाँ आएर तिनीहरूले उनलाई भने, “गुरुज्यू, यर्दन पारि जो तपाईंसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईंले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्तिस्मा दिइरहनुभएको छ, र सबै उहाँकहाँ जाँदैछन्।” यूहन्नाले जवाफ दिए, “मानिसलाई स्वर्गबाट नदिइएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। ‘म ख्रीष्ट होइनँ, तर म उहाँभन्दा अगाडि पठाइएको हुँ’ भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ। जससँग दुलही छ, दुलहा त्यही हो। दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्छ, उसको सोर सुनेर अत्यन्त आनन्दित हुन्छ। यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ। उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ। “माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीबाट हुने पृथ्वीकै हो, र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ, त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ। किनभने जसलाई परमेश्वरले पठाउनुभयो, त्यसले परमेश्वरका वाणी बोल्दछ, किनकि परमेश्वरले विनानाप पवित्र आत्मा दिनुहुन्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा दिनुभएको छ। जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ।”
यूहन्ना 3:22-36 नेपाली समकालीन संस्करण (NCV)
यसपछि येशू र उहाँका चेलाहरू यहूदियाका गाउँहरूतिर जानुभयो; अनि उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो; र बप्तिस्मा दिनुभयो। यसै समयमा यूहन्नाले पनि सालीमको नजिकै एनोनमा बप्तिस्मा दिइरहेका थिए; किनकि त्यहाँ प्रशस्त पानी थियो, अनि बप्तिस्मा लिनलाई मानिसहरू निरन्तर आइरहेका थिए। (यो यूहन्ना झ्यालखानामा पर्नुभन्दा अघिको कुरा थियो।) यूहन्नाका केही चेलाहरू र एउटा यहूदीका बीचमा शुद्धीकरणको विषयमा वाद-विवाद चल्यो। तिनीहरू यूहन्नाकहाँ आएर तिनलाई भने, “गुरुज्यू, यर्दन नदीपारि तपाईंसँग हुनुभएको व्यक्ति, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, उहाँले पनि बप्तिस्मा दिँदैहुनुहुन्छ, अनि सबै मानिसहरू उहाँकहाँ जाँदैछन्।” यसै कुरालाई यूहन्नाले यसरी जवाफ दिए, “कुनै पनि मानिसलाई स्वर्गबाट उसलाई जे दिइन्छ, त्यो मात्र पाउन सक्छ। ‘म ता ख्रीष्ट होइनँ; तर उहाँको अगाडि पठाइएको हुँ’ भन्ने बारेमा तिमीहरू आफैले गवाही दिन सक्छौ। दुलही दुलहाको निम्ति हुन्छे। दुलहासँग रहने मित्रले उसको प्रतीक्षा गर्छ र उसका कुरा सुन्छ, अनि उसको स्वर सुनेर ऊ आनन्दले पूर्ण हुन्छ। त्यही नै मेरो आनन्द हो; र त्यो अब पूर्ण भएको छ। उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ। “जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्च हुनुहुन्छ; पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैं बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ; तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्। जुन मानिसले उहाँको गवाही ग्रहण गरेको छ, उसले परमेश्वर सत्य हुनुहुन्छ भनी गवाही दिन्छ। किनकि परमेश्वरले जसलाई पठाउनुभएको छ, त्यसले परमेश्वरकै वचन बोल्दछ; किनकि परमेश्वरले पवित्र आत्मा विनानाप दिनुहुन्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा राखिदिनुभएको छ। जसले पुत्रमाथि विश्वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन, किनकि परमेश्वरको क्रोध त्यसमा रहन्छ।”
यूहन्ना 3:22-36 पवित्र बाइबल (NERV)
यसपछि, येशू र उहाँका चेलाहरू यहूदियाको इलाकातिर गए। त्यहाँ येशू आफ्ना चेलाहरूलसँग बस्नु भयो र मानिसहरूलाई बप्तिस्मा दिनु भयो। यूहन्नाले पनि एनोनमा मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। एनोन भन्ने ठाउँ सालीमको छेउमा पर्दछ। यूहन्नाले त्यहीं बप्तिस्मा दिए किनभने त्यहाँ प्रशस्त पानी थियो। मानिसहरू बप्तिस्मा लिन त्यहाँ गइरहेका थिए। यो घट्ना यूहन्ना जेलमा थुनुवा पर्नु अगाडी भयो। यूहन्नाका चेलाहरू र केही यहूदीहरू माझ धार्मिक शुद्धीकरण विषय वाद-विवाद भइरहेको थियो। त्यसैले चेलाहरू यूहन्ना कहाँ आए। तिनीहरूले भने, “गुरूज्यू, के तपाईं त्यो मान्छेलाई सम्झनु हुन्छ जो तपाईंसँग यर्दन नदी पारी थियो? उनी त्यही एक मानिस हुन जसको विषयमा तपाईंले मानिसहरूलाई भनिरहनु भएको थियो। अहिले उनले मानिसहरूलाई बप्तिस्मा दिइरहेछन् अनि धेरैजना उनी कहाँ गइरहेछन्।” यूहन्नाले उत्तर दिए, “मान्छेले त्यही मात्र पाउन सक्छ जो परमेश्वरले दिनुहुन्छ। तिमीहरू आफैंले सुनेकाछौ कि ‘म ख्रीष्ट होइन भनेर। म एकमात्र त्यो मानिस हुँ जसलाई उहाँको निम्ति बाटो तयार पार्न परमेश्वरले पठाउनु भएको हो।’ बेहुली बेहुलाकै मात्र हो। बेहुलाको साथी जो उसको छेउमा उभिन्छ उसको आवाज सुन्दा आनन्दित हुँदछ, म सँग त्यही आनन्द छ अनि अहिले यो आनन्द पूर्ण भएको छ। उहाँ अधिक महत्वपूर्ण हुनु पर्छ अनि म अल्प महत्वपूर्ण हुनु पर्छ। “तर एक जो स्वर्गबाट आउनु हुन्छ, उहाँ सबै भन्दा महान हुनुहुन्छ। जुन मानिस पृथ्वीबाट आउँदछ ऊ पृथ्वीकै हो र उसले जे पनि पृथ्वीबाटै गर्दछ। जो एकमात्र स्वर्गबाट आउनुहुन्छ उहाँ सबै भन्दा महान हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्नु भएकोछ, त्यसको साक्षी उहाँ दिनुहुन्छ, तर मानिसहरूले उहाँको साक्षी स्वीकार गर्दैनन्। उनीहरू जसले उहाँको साक्षी स्वीकार गर्छ, तिनीहरूले परमेश्वरले सत्य बोलेको साक्षी दिन्छन्। उहाँले जो परमेश्वरद्वारा पठाइएकोछ परमेश्वरको संदेश भन्नु हुन्छ। परमेश्वरले उहाँलाई सीमाहीन आत्मा प्रदान गर्नुभयो। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि हरेक बस्तुमा शक्ति प्रदान गर्नु भएकोछ। जुन मानिसले पुत्रमाथि विश्वास गर्छ, उसले अनन्त जीवन प्राप्त गर्दछ। तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन उसले त्यो जीवन देख्नेछैन। परमेश्वरको क्रोध उमाथि रहनेछ।”
यूहन्ना 3:22-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि येशू आफ्ना चेलाहरूसँग यहूदिया क्षेत्रमा जानुभयो अनि केही समयको लागि तिनीहरूसँग त्यहीँ नै बस्नुभयो र बप्तिस्मा दिनुभयो। यूहन्नाले पनि सालीमको छेउ एनोन भन्ने ठाउँमा बप्तिस्मा दिँदै थिए किनभने त्यहाँ धेरै पानी थियो र त्यहाँ पनि मानिसहरू बप्तिस्मा लिन आइरहन्थे। (त्यति बेलासम्म यूहन्ना थुनामा परेका थिएनन्।) नुहाएर शुद्ध हुने बारे यूहन्नाका चेलाहरूले एक जना यहूदीसँग तर्कवितर्क गर्न लागे। तिनीहरूले यूहन्नाकहाँ आएर भने, “गुरु, यर्दनपारि हुँदा तपाईंसँग एक जना मानिस हुनुहुन्थ्यो। तपाईंले हामीलाई उहाँको बारेमा बताउनुभएको थियो। अहिले उहाँले नै बप्तिस्मा दिदैंहुनुहुन्छ र सबै जना उहाँकहाँ पो जाँदै छन्।” यूहन्नाले जवाफ दिए, “परमेश्वरले नदिएसम्म मानिसले केही पनि पाउन सक्दैन। ‘म मुक्ति दिने ख्रीष्ट होइनँ, म त उहाँको अघिअघि पठाइएको मानिस मात्रै हुँ’ भनेर मैले भनेको कुरा तिमीहरू आफैंले सुनेका छौ। दुलही दुलहाको हो। दुलहासित उभिने मित्र दुलहाको सोर सुनेर रमाउँछ। त्यही नै मेरो आनन्द हो र त्यो अब पूर्ण भएको छ। उहाँ बढ्दै जानुपर्छ, तर मचाहिँ घट्दै जानुपर्छ।” माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा महान् हुनुहुन्छ। संसारमा जन्मेका मानिसहरूचाहिँ संसारकै हुन्छन् र सांसारिक कुरा गर्छन्। तर स्वर्गबाट आउनुहुनेचाहिँ सबैभन्दा महान् हुनुहुन्छ। उहाँले आफूले देखेका र सुनेका कुरा नै भन्नुहुन्छ। तापनि उहाँले भन्नुभएका कुरा कसैले पत्याउँदैनन्। तर उहाँले भन्नुभएका कुरा पत्याउनेले चाहिँ परमेश्वर सत्य हुनुहुन्छ भनेर ठोकुवा गर्छ। परमेश्वरबाट पठाइएको व्यक्तिले परमेश्वरकै कुरा बोल्नुहुन्छ किनभने परमेश्वरले उहाँलाई आफ्नो आत्माको भरपूरी दिनुभएको छ। परमेश्वरले आफ्नो पुत्रलाई माया गर्नुहुन्छ र सबै कुरा उहाँकै हातमा राखिदिनुभएको छ। परमेश्वरको पुत्रमाथि विश्वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको आज्ञा नमान्नेले चाहिँ कहिल्यै पनि अनन्त जीवन पाउनेछैन। तर परमेश्वरको क्रोध उसमाथि परिरहन्छ।