तपाईंहरू मलाई यो प्रश्न किन सोध्नुहुन्छ? तिनीहरूलाई सोध्नुहोस्, जसले मेरा शिक्षा सुनेका छन्। निश्चय नै मैले भनेका कुरा तिनीहरूलाई थाहा छ।”
येशूको कुरा सुनेर त्यहाँ उभिरहेको एक जना हाकिमले उहाँलाई थप्पड लायो। “के प्रधान पुजारीलाई उत्तर दिने तरिका यही हो?” भनेर त्यसले सोध्यो।
“मैले गलत बोलेको भए त्यसको प्रमाण देऊ,” येशूले जवाफ दिँदै भन्नुभयो, “मैले सत्य बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?” तब हन्नासले येशूलाई बाँधिएकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाइदिए।
सिमोन पत्रुस उभिएर आगो तापिरहेका थिए। तब तिनलाई कसैले फेरि सोध्यो, “के तिमी पनि उसैको चेलाहरूमध्येका एक होइनौ र?”
तिनले इन्कार गर्दै भने, “म त होइनँ।”
प्रधान पुजारीका सेवकहरूमध्ये एक जनाले अर्थात् जसको कान पत्रुसले काटिदिएका थिए, त्यसैको आफन्तले सोध्यो, “के तिमीलाई मैले येशूसँग बगैँचामा देखेको होइन र?” पत्रुसले फेरि पनि अस्वीकार गरे; तब त्यसै बेला भाले बास्यो।
त्यति बेला बिहान भइसकेको थियो। यहूदीहरूले येशूलाई कैयाफाकहाँबाट रोमी राज्यपालको महलमा लगे। तिनीहरू निस्तार चाडको भोज खान चाहन्थे, यसैले यहूदीहरू आफ्नो संस्कारअनुसार अशुद्ध नहोऔँ भनी महलभित्र पसेनन्। यसो हुँदा राज्यपाल पिलातस तिनीहरूकहाँ बाहिर आएर सोधे, “यस मान्छेको विरुद्धमा तिमीहरूले के आरोप लगाएका छौ?”
“यो मानिस अपराधी नभएको भए हामी यसलाई पक्रेर तपाईंकहाँ ल्याउने नै थिएनौँ,” तिनीहरूले जवाफ दिए।
पिलातसले तिनीहरूलाई भने, “तब तिमीहरूले यिनलाई लगेर तिमीहरूको व्यवस्थाअनुसार यिनको न्याय गर।”
यहूदी अगुवाहरूले भने, “तर कसैलाई मृत्युदण्ड दिने अधिकार हामीसँग छैन।” उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्ने बारेमा येशू आफूले भन्नुभएको वचन पूरा हुन यी सबै कुरा भइरहेका थिए।
तब पिलातस दरबारभित्र पसे, र येशूलाई आफूकहाँ हाजिर गराउने आज्ञा दिए, र उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
येशूले सोध्नुभयो, “मेरो बारेमा यो तपाईंको आफ्नै भनाइ हो, कि अरू कसैले मेरो बारेमा तपाईंलाई यो कुरा भने?”
पिलातसले जवाफ दिए, “म यहूदी हुँ र? तिम्रा आफ्नै जातिहरू र मुख्य पुजारीहरूले तिमीलाई मकहाँ सुम्पेका हुन्। तिमीले के गर्यौ?”
येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त, यहूदीहरूले मलाई पक्रँदा त्यो रोक्न मेरा सेवकहरूले मेरा निम्ति युद्ध गर्नेथिए; तर मेरो राज्य यस संसारको होइन।”
पिलातसले भने, “त्यसो भए के तिमी राजा नै हौ?”
येशूले भन्नुभयो, “म राजा हुँ भनी तपाईंले ठिकै भन्नुभयो। वास्तवमा म जन्मिएँ, र संसारमा सत्यको साक्षी दिनका लागि आएको हुँ। सत्यताको पक्षमा रहने सबैले मेरा वचन सुन्छन्।”
पिलातसले सोधे, “सत्यता के हो त?” त्यसपछि तिनी फेरि मानिसहरूका अगि गएर भने, “उनको विरुद्धमा मैले केही दोष भेट्टाइनँ। तर हरेक वर्ष निस्तार चाडको समय मैले तिमीहरूका निम्ति एक जना कैदीलाई छोडिदिने तिमीहरूको चलन छ। यसकारण तिमीहरू के चाहन्छौ ‘के म यहूदीहरूको राजालाई’ छोडिदिऊँ?”
तर तिनीहरूले चिच्याएर भने, “यस मान्छेलाई होइन! तर बारब्बालाई छोडिदिनुहोस्!” बारब्बाचाहिँ एक विद्रोही थियो।