YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 18:21-40

यूहन्‍ना 18:21-40 सरल नेपाली

किन तपाईंले मलाई नै सोध्‍नुहुन्‍छ? मेरा शिक्षा सुन्‍नेहरूलाई नै सोध्‍नुहोस्। मैले के भनें, के सिकाएँ, तिनीहरूलाई सबै थाहा छ।” येशूले जवाफ दिनुहुँदा एउटा पालेले येशूलाई थप्‍पड लगाउँदै भन्‍यो, “तँ प्रधान पूजाहारीको अगाडि पनि यसरी मुख-मुखै लाग्‍छस्?” येशूले भन्‍नुभयो, “मैले केही बिराएको भएदेखि गल्‍ती देखाऊ तर ठीक बोलेको छु भने बेकसुरमा किन हिर्काउँछौ?” त्‍यसपछि हन्‍नासले येशूलाई बाँधेकै अवस्‍थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाइदिए। त्‍यति बेलासम्‍म पनि पत्रुस उभिएर आगो तापिरहेका थिए। अरू आगो ताप्‍नेहरूले उनलाई सोधे, “तिमी पनि त्‍यही मानिसका चेला होइनौ?” पत्रुसले भने, “अहँ, म होइनँ!” आगो ताप्‍नेहरूमध्‍ये पत्रुसले कान काटिदिएका मानिसको एक जना नातेदार पनि त्‍यहाँ थियो। ऊ पनि प्रधान पूजाहारीको नोकर थियो। उसले भन्‍यो, “मैले तिमीलाई त्‍यस मानिससँग बगैँचामा देखेको, होइन र?” पत्रुसले फेरि पनि होइन भन्‍ने जवाफ दिए। त्‍यति नै खेर भाले बासिहाल्‍यो। बिहान सबेरै तिनीहरूले येशूलाई कैयाफाको घरबाट रोमी बडा-हाकिमको दरबारमा पुर्‍याए। यहूदी अगुवाहरू दरबारभित्र पसेनन् किनभने निस्तार चाडको भोज खानको लागि तिनीहरूले आफूलाई चोखो राख्‍न चाहन्‍थे। त्‍यसकारण रोमी बडा-हाकिम पिलातस तिनीहरूलाई भेट्‍न बाहिर निस्‍के। उनले तिनीहरूलाई सोधे, “तिमीहरूले यस मानिसलाई केको दोष लगाउँछौ?” तिनीहरूले एउटै सोरमा भने, “यो मानिस दोषी नभए तपाईंकहाँ किन ल्‍याउँथ्‍यौं र?” पिलातसले भने, “यो मानिसलाई तिमीहरू आफैं लैजाओ र आफ्‍नै व्यवस्थाअनुसार यसको न्‍याय गर।” यहूदी अगुवाहरूले जवाफ दिए, “हामीलाई त मृत्‍युदण्‍ड दिने अधिकार छैन।” आफू कसरी मर्नुपर्छ भनेर येशू आफैंले भन्‍नुभएको कुरा पूरा हुनलाई यसो भयो। पिलातस भित्र गए र येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले भन्‍नुभयो, “के यो तपाईं आफैंले सोध्‍नुभएको हो कि अरू कसैले मेरो बारेमा तपाईंलाई बताएको हो?” पिलातसले भने, “के तिमी मलाई यहूदी सम्‍झन्‍छौ? तिम्रा आफ्‍नै जाति र मुख्‍य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्‍पिदिएका हुन्। तिमीले के अपराध गरेका छौ?” येशूले भन्‍नुभयो, “मेरो राज्‍य त यस संसारको राज्‍यजस्‍तो होइन। यदि मेरो राज्‍य यस संसारका राज्‍यहरूजस्‍ता हुँदो हो त मलाई पछ्याउनेहरूले मलाई यहूदीहरूका हातबाट बचाउन लड्‍नेथिए। तर मेरो राज्‍य त्‍यस्‍तो होइन।” पिलातसले येशूलाई सोधे, “त्‍यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनेर तपाईं आफैं भन्‍दै हुनुहुन्‍छ। म सत्‍य प्रकट गर्न जन्‍मिएको हुँ र यसैको लागि नै यस संसारमा आएको हुँ। सत्‍य मन पराउनेहरू सबैले मेरा कुरालाई सुन्‍छन्।” “सत्‍य के हो त?” पिलातसले सोधे। यति कुराहरू सोधिसकेपछि पिलातसले बाहिर निस्‍केर यहूदी अगुवाहरूलाई भने, “मैले दण्‍ड दिनलाई यी मानिसमा त कुनै दोष नै भेट्टाइनँ। तिमीहरूको चलनअनुसार बर्सेनी निस्तार चाडमा एउटा कैदी छोडिन्‍छ। यसकारण के म यसपल्‍ट त्‍यो यहूदीहरूका राजा भन्‍नेलाई छोडिदिऊँ?” “त्‍यसलाई होइन! तर बारब्‍बालाई छोड्‍नुहोस्!” भन्‍दै तिनीहरू जोडले कराए। (बारब्‍बाचाहिँ डाकु थियो।)

यूहन्‍ना 18 पढ्नुहोस्