YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 18:1-20

यूहन्‍ना 18:1-20 NCV

प्रार्थना गरिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। पारिपट्टि एउटा बगैँचा थियो, र उहाँ आफ्ना चेलाहरूसँग त्यहाँ जानुभयो। उहाँलाई धोका दिने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो; किनकि येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रायजसो भेटघाट गर्नुहुन्थ्यो। मुख्य पुजारीहरू र फरिसीहरूका दलबाट केही रोमी सिपाहीहरू र केही हाकिमहरू लिएर यहूदा त्यहाँ आयो। तिनीहरूले आफूसँग राँको, लालटिन र हातहतियार ल्याएका थिए। तब आफूमाथि आइपर्न लागेका सबै घटनाहरू थाहा पाएर येशू बाहिर जानुभयो र सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई,” तिनीहरूले उत्तर दिए। “म उही नै हुँ,” येशूले जवाफ दिनुभयो। (उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।) उहाँले “म उही नै हुँ,” भन्‍नसाथ तिनीहरू सबै पछि हटे, र भुइँमा लोटे। फेरि एक पल्ट उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई” तिनीहरूले फेरि उत्तर दिए। येशूले भन्‍नुभयो, “मैले भनिहालेँ, म उही नै हुँ। यसकारण मलाई नै खोजेका हौ भने यिनीहरूलाई चाहिँ जान देओ।” उहाँले भन्‍नुभएको यो वचन पूरा होस् भनेर यी कुराहरू भए: “तपाईंले मलाई दिनुभएको एउटैलाई पनि मैले गुमाएको छैनँ।” तब सिमोन पत्रुसले तरवार थुतेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्‍यो र उसको दाहिने कान च्वाट्टै काटिदियो। (त्यस सेवकको नाम माल्खस थियो।) येशूले पत्रुसलाई भन्‍नुभयो, “तिम्रो तरवार म्यानभित्र हाल! के पिताले दिनुभएको कचौराबाट मैले नपिउनूँ र?” त्यसपछि सिपाहीहरू, सेनापतिहरू र यहूदी हाकिमहरूले येशूलाई पक्रे, र उहाँलाई पाता कसे। अनि तिनीहरूले उहाँलाई पहिले त्यस वर्षको प्रधान पुजारी, कैयाफाका ससुरा हन्‍नासकहाँ लगे। सबैका निम्ति एक जना मर्नु नै असल हुन्छ भनी यहूदीहरूलाई सल्‍लाह दिने व्यक्ति कैयाफा नै थिए। सिमोन पत्रुस र अर्को चेला येशूको पछि-पछि लागे। प्रधान पुजारीसँग चिनजान भएको हुनाले यी अर्का चेला येशूसँगै प्रधान पुजारीको आँगनभित्र पसे। तर पत्रुसचाहिँ ढोकाबाहिर नै उभिएका थिए। प्रधान पुजारीसँग चिनजान भएका ती अर्का चेला फर्केर आए। अनि ढोकामा पाले बसेकी केटीलाई भनसुन गरे, र पत्रुसलाई भित्र ल्याए। ढोकामा पाले बस्‍ने त्यस केटीले पत्रुसलाई सोधी, “तिमी पनि येशूका चेलाहरूमध्ये एक होइनौ र?” “अहँ, म त होइनँ।” तिनले भने। जाडोले गर्दा ती घरका सेवकहरू र हाकिमहरू न्यानो पार्न आफूले बालेका आगो वरिपरि बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँग मिसिएर आगो ताप्न लागे। यसै बीचमा प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँले दिनुभएको शिक्षाको विषयमा सोध्न थाले। येशूले जवाफ दिनुभयो, “संसारसँग म खुल्‍लमखुल्‍ला बोलेको छु। मैले सधैँ सभाघरहरू र मन्दिरमा शिक्षा दिन्थेँ, जहाँ सबै यहूदीहरू भेला हुन्छन्। गुप्‍तमा मैले केही भनेको छैनँ।

यूहन्‍ना 18 पढ्नुहोस्