यो प्रार्थना गरिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसँग किद्रोन भन्ने खोल्सापारिको बगैँचामा जानुभयो। त्यो ठाउँ येशूलाई पक्राइदिने यहूदालाई पनि थाहा थियो किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ जाने गर्नुहुन्थ्यो। त्यति बेला केही सिपाहीहरू, फरिसीहरू र मुख्य पूजाहारीहरूले पठाएका मन्दिरका पहरेदारहरूलाई लिएर यहूदा त्यस बगैँचाभित्र पस्यो। तिनीहरूले हातहतियार, बत्ती र राँकाहरू बोकेका थिए। आफूमाथि आइपर्न आँटेका सबै कुरा येशूलाई थाहा नै थियो। त्यसैकारण अगाडि गएर उहाँले ती मानिसहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दै छौ?” “नासरतका येशूलाई!” तिनीहरूले जवाफ दिए। येशूले भन्नुभयो, “म उही हुँ।” येशूलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो। ‘म उही हुँ’ भनेको सुन्नेबित्तिकै तिनीहरू सबै पछि हटेर पछारिए। येशूले फेरि सोध्नुभयो, “होइन, तिमीहरू कसलाई खोज्दै छौ?” “नासरतका येशूलाई!” तिनीहरूले फेरि भने। येशूले भन्नुभयो, “मैले अघि नै मै हुँ भनिहालें नि! साँच्चै मलाई नै खोजेका हौ भने यिनीहरूलाई चाहिँ छोडिदेओ।” (यसरी “हे पिता, तपाईंले मलाई दिनुभएको जतिमध्ये मैले एउटै पनि गुमाएको छैनँ,” भनेर येशूले पहिले नै भन्नुभएको कुरा पूरा हुन आयो।) त्यतिकैमा सिमोन पत्रुसले चाहिँ आफ्नो तरवार थुतेर माल्खस नाउँ भएको प्रधान पूजाहारीको नोकरको दाहिने कान च्वाट्टै काटिदिए। तर येशूले पत्रुसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! पिताले मेरो लागि तयार पार्नुभएको त्यस कष्टको कचौरालाई मैले नपिउनु र?” तब कप्तान, उनका सिपाहीहरू अनि यहूदी अगुवाहरूले पठाएका मन्दिरका पहरेदारहरूले येशूलाई समातेर बाँधे। त्यसपछि तिनीहरूले येशूलाई पहिले हन्नासकहाँ लगे। हन्नासचाहिँ त्यस वर्षका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए। यिनै कैयाफाले ‘पूरा जाति नाश हुनुभन्दा त जनताको लागि एक जना मात्र मर्नु नै बेस हुन्छ’ भनेर यहूदी अगुवाहरूलाई सल्लाह दिएका थिए। सिमोन पत्रुस र अर्का एक जना चेला येशूको पछि-पछि लागे। त्यो अर्को चेलाको प्रधान पूजाहारीसँग राम्रो चिनाजानी थियो। त्यसैले उनी येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे। पत्रुसचाहिँ ढोकाबाहिरै उभिएका थिए। त्यो चेलाले बाहिर निस्केर पाले बसेकी केटीलाई भनसुन गरी पत्रुसलाई भित्र ल्याए। पत्रुस भित्र जाँदैगर्दा त्यस केटीले उनलाई सोधी, “के तिमी पनि त्यस मानिसका चेला होइनौ?” पत्रुसले तर्केर जवाफ दिए, “अहँ, म होइनँ!” जाडो भएको हुनाले नोकर-चाकरहरू र पालेहरू वरिपरि उभिएर आगो तापिरहेका थिए। पत्रुस पनि त्यहीँ गएर उनीहरूसँगै आगो ताप्न लागे। प्रधान पूजाहारीले येशूलाई उहाँका शिक्षा र चेलाहरूका बारेमा सोधे। येशूले जवाफ दिनुभयो, “मैले सबैका सामु सबैले सुन्ने गरी खुला रूपले बोल्ने गर्थें। मैले आफ्नो शिक्षा सबै यहूदीहरू भेला हुने सभाघर र मन्दिरमा दिने गर्थें। मैले गुप्तमा शिक्षा दिएको छैनँ।
यूहन्ना 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 18:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू