YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 15:1-27

यूहन्‍ना 15:1-27 NCV

येशूले भन्‍नुभयो, “साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ। ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ। मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ। ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगाले आफै फल फलाउन सक्दैन, त्यो हाँगा दाखको बोटमा नै रहनुपर्छ। त्यसै गरी ममा नरहेसम्म तिमीहरूले पनि फल फलाउन सक्दैनौ। “दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। यदि कोही ममा रहिरहँदैन भने त्यो मिल्काइने, र सुक्ने हाँगाजस्तै हो, त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालि जलाइन्छन्। तर यदि तिमीहरू ममा रहिरह्‍यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ। तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने, त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ। “पिताले मलाई प्रेम गर्नुभएझैं, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब मेरो प्रेममा रहिरहो। मेरा आज्ञा तिमीहरूले मान्यौ भने, तिमीहरू मेरो प्रेममा रहेका हुन्छौ, जसरी मैले पनि मेरा पिताको आज्ञा मानेर उहाँको प्रेममा रहेको छु। मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्दपूर्ण होस्। मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु। आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने, तिमीहरू मेरा मित्रहरू हौ। अबदेखि म तिमीहरूलाई सेवक भन्दिनँ, किनकि सेवकलाई आफ्ना मालिकको कामकुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु। तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें; र तिमीहरूलाई सधैं रहिरहने फल फलाउनलाई नियुक्‍त गरें। मेरो नाउँमा तिमीहरूले जे मागौला, पिताले सो तिमीहरूलाई दिनुहुनेछ। मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर। “यदि संसारले तिमीहरूलाई घृणा गर्‍यो भने, त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ। तिमीहरू संसारका हुँदा हौ ता यसले तिमीहरूलाई आफ्नैलाई झैं प्रेम गर्नेथियो; तर तिमीहरू यस संसारका होइनौ, किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनें। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। मैले तिमीहरूलाई भनेका कुरा सम्झ: ‘कुनै पनि सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिमीहरूलाई पनि तिनीहरूले सताउनेछन्। तिनीहरूले मेरा शिक्षा सुनेका भए, तिमीहरूका शिक्षा पनि सुन्‍नेथिए। मेरो नाउँको कारणले गर्दा तिनीहरूले तिमीहरूलाई यस्तो व्यवहार गर्नेछन्; किनकि मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन्। म आएर तिनीहरूलाई नभनेको भएदेखि, तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब तिनीहरूलाई आफ्नो पापको निम्ति कुनै बहाना छैन। मलाई घृणा गर्नेले मेरा पितालाई पनि घृणा गरेको हुन्छ। पहिला अरू कसैले नगरेका कामहरू मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब ता तिनीहरूले यी आश्‍चर्य कर्महरू देखेका छन्, तापनि म र पिता हामी दुवैलाई तिनीहरूले घृणा गरेका छन्। तर तिनीहरूका व्यवस्थामा लेखिएको यो कुरा पूरा हुनालाई यसो भएको हो: ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’ “जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्‍लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ। अनि तिमीहरूले पनि साक्षी दिनैपर्छ; किनकि तिमीहरू सुरुदेखि नै मसँग रहेका छौ।”

यूहन्‍ना 15 पढ्नुहोस्