यूहन्ना 15:1-27
यूहन्ना 15:1-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्छ। ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन् बढ़ी फल फलोस् भनी उहाँले छिँवल्नुहुन्छ। मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। ममा रहो, र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने, त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ, र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन्, र आगोमा फालिदिन्छन्, र ती जलिहाल्छन्। तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ। तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ। “पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो। यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु। मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्द तिमीहरूमा होस्, र तिमीहरूको आनन्द भरिपूर्ण होस्। “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर। आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई जे आज्ञा गर्दछु, ती तिमीहरूले गर्यौ भने, तिमीहरू मेरा मित्र हौ। अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु। मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ। म तिमीहरूलाई यो आज्ञा दिँदछु, कि तिमीहरूले एक-अर्कालाई प्रेम गर। “यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने, तिमीहरू जान, कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो। यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर घरको मालिकभन्दा ठूलो हुँदैन।’ तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनेछन्। तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन्। तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनुहुनेलाई चिन्दैनन्। म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुनेथिएनन्, तर अब त आफ्ना पापको निम्ति तिनीहरूसँग केही बहाना छैन। जसले मलाई घृणा गर्दछ, त्यसले मेरा पितालाई पनि घृणा गर्दछ। यदि अरू कसैले नगरेको काम मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुनेथिएनन्। तर अब तिनीहरूले मलाई र मेरा पिता दुवैलाई देखेका छन् र घृणा गरेका छन्। तर, व्यवस्थामा लेखिएको यो वचन पूरा हुनलाई यो भएको थियो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’ “जब सल्लाहकार आउनुहुन्छ, जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाइदिनेछु, अर्थात् सत्यका आत्मा, जो पिताबाट आउनुहुन्छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ। तिमीहरू सुरुदेखि नै मेरो साथ रहेका हुनाले, तिमीहरू पनि मेरा साक्षी हौ।”
यूहन्ना 15:1-27 नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्नुभयो, “साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ। ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ। मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ। ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगाले आफै फल फलाउन सक्दैन, त्यो हाँगा दाखको बोटमा नै रहनुपर्छ। त्यसै गरी ममा नरहेसम्म तिमीहरूले पनि फल फलाउन सक्दैनौ। “दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। यदि कोही ममा रहिरहँदैन भने त्यो मिल्काइने, र सुक्ने हाँगाजस्तै हो, त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालि जलाइन्छन्। तर यदि तिमीहरू ममा रहिरह्यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ। तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने, त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ। “पिताले मलाई प्रेम गर्नुभएझैं, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब मेरो प्रेममा रहिरहो। मेरा आज्ञा तिमीहरूले मान्यौ भने, तिमीहरू मेरो प्रेममा रहेका हुन्छौ, जसरी मैले पनि मेरा पिताको आज्ञा मानेर उहाँको प्रेममा रहेको छु। मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्दपूर्ण होस्। मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु। आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने, तिमीहरू मेरा मित्रहरू हौ। अबदेखि म तिमीहरूलाई सेवक भन्दिनँ, किनकि सेवकलाई आफ्ना मालिकको कामकुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु। तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें; र तिमीहरूलाई सधैं रहिरहने फल फलाउनलाई नियुक्त गरें। मेरो नाउँमा तिमीहरूले जे मागौला, पिताले सो तिमीहरूलाई दिनुहुनेछ। मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर। “यदि संसारले तिमीहरूलाई घृणा गर्यो भने, त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ। तिमीहरू संसारका हुँदा हौ ता यसले तिमीहरूलाई आफ्नैलाई झैं प्रेम गर्नेथियो; तर तिमीहरू यस संसारका होइनौ, किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनें। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। मैले तिमीहरूलाई भनेका कुरा सम्झ: ‘कुनै पनि सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिमीहरूलाई पनि तिनीहरूले सताउनेछन्। तिनीहरूले मेरा शिक्षा सुनेका भए, तिमीहरूका शिक्षा पनि सुन्नेथिए। मेरो नाउँको कारणले गर्दा तिनीहरूले तिमीहरूलाई यस्तो व्यवहार गर्नेछन्; किनकि मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन्। म आएर तिनीहरूलाई नभनेको भएदेखि, तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब तिनीहरूलाई आफ्नो पापको निम्ति कुनै बहाना छैन। मलाई घृणा गर्नेले मेरा पितालाई पनि घृणा गरेको हुन्छ। पहिला अरू कसैले नगरेका कामहरू मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब ता तिनीहरूले यी आश्चर्य कर्महरू देखेका छन्, तापनि म र पिता हामी दुवैलाई तिनीहरूले घृणा गरेका छन्। तर तिनीहरूका व्यवस्थामा लेखिएको यो कुरा पूरा हुनालाई यसो भएको हो: ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’ “जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ। अनि तिमीहरूले पनि साक्षी दिनैपर्छ; किनकि तिमीहरू सुरुदेखि नै मसँग रहेका छौ।”
यूहन्ना 15:1-27 पवित्र बाइबल (NERV)
येशूले भन्नुभयो, “म साँच्चो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ। म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ। मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ। मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अतर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ। “म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ। यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्। यदि तिमीहरू ममा रह्यौ र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिइनेछ। तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हौ। यसले मेरो पितालाई महिमा दिदँछ। “म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ। मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गर्यो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ। मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसँग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु। यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें। महान प्रेम त्यस मानिसले देखाउन सक्छ जसले आफ्नो मित्रको लागि आफ्नो जीवन बलिदान दिनसक्छ। तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने। म तिमीहरूलाई नोकरहरू भनेर डाक्ने छैन। एक नोकरले उसको मालिकले के गर्छ भनेर केही पनि जान्दैन अब म तिमीहरूलाई मित्र भनेर बोलाउँछु किनभने मेरा पिताले मलाई जे-जे भन्नुभयो ती सबै तिमीहरूलाई भनिसकेकोछु। “तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ। यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर। “यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर। यदि तिमीहरू संसारकै थियौ भने तिमीहरूलाई उसकै आफ्नै मानिसहरू सरह प्रेम गर्ने नै छ। तर मैले तिमीहरूलाई संसारबाट छानें। यसैले तिमीहरू संसारसँग सम्बन्धित छैनौ। यसैकारणले संसारले तिमीहरूलाई घृणा गर्दछ। “मैले तिमीहरूलाई भनेका कुराहरू सम्झः एक नोकर उसको मालिक भन्दा श्रेष्ट हुँदैन। यदि मानिसहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनछन् यही मानिसहरूले मेरो शिक्षा पालन गरे भने तिनीहरूले तिमीहरूको आज्ञा पालन गर्नेछन्। मानिसहरूले यी सबै कुराहरू मेरो कारणले गर्दा तिमीहरूलाई गर्नेछन्। उहाँलाई तिनीहरूले चिन्दैनन् जसले मलाई पठाउनु भयो। यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन। “जसले मलाई घृणा गर्दछ, उसले मेरो पितालाई पनि घृणा गर्दछ। मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्। तर यस्तो भयो किनकि उनीहरूको व्यवस्थामा लेखिएको कुरा सत्य हुने भयोः यस्तो लेखिएको छ ‘कुनै कारण बिना नै तिनीहरूले मलाई घृणा गरे।’ “म तिमीहरूलाई पिताबाट सहायक पठाइदिनेछु। सहायक सत्यको आत्मा हो जो पिताबाट आउँदछ। जब उनी आउँछन्, उसले मेरो विषयमा बताउनेछन्। अनि तिमीहरूले मेरो विषयमा मानिसहरूलाई भन किनभने तिमीहरू शुरुदेखिनै मसँग छौ।
यूहन्ना 15:1-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“साँचो अङ्गुरको बोट म नै हुँ अनि मेरा पिताचाहिँ बोटको हेरचाहा गर्ने किसान हुनुहुन्छ। ममा भएका नफलाउने हाँगाहरूलाई उहाँले छाँट्नुहुन्छ, तर फलाउनेहरूलाई अझै धेरै फलाऊन् भनेर छिमल्नुहुन्छ। हेरचाहा गर्ने किसानले हाँगालाई छिमलेर सफा गरेजस्तै मैले भनेका यी वचनहरूले तिमीहरूलाई शुद्ध गरिसकेको छ। तिमीहरू ममा रहो र म तिमीहरूमा रहनेछु। जसरी हाँगाले बोटमा नरहीकन फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरूले पनि ममा नरही फल फलाउन सक्दैनौ। “अङ्गुरको बोट म नै हुँ र तिमीहरूचाहिँ मेरा हाँगाहरू हौ। जो ममा रहन्छ, म पनि उसमा रहन्छु र यसरी उसले धेरै फल फलाउँछ। मबिना तिमीहरूले केही पनि गर्न सक्दैनौ। ममा नरहने जतिलाई चाहिँ काटिएको हाँगाजस्तै गरी फालिनेछ र त्यो सुक्नेछ अनि त्यसलाई बटुलेर आगोमा हालिनेछ। यदि तिमीहरू ममा रह्यौ र मैले भनेका वचनहरू पनि तिमीहरूमा रहे भने तिमीहरूले चाहेका कुरा माग्दा पाउनेछौ। धेरै फल फलाएर तिमीहरूले मेरा पितालाई महिमा दिनेछौ र तिमीहरू मेरा चेलाहरू हुनेछौ। “जसरी मेरा पिताले मलाई प्रेम गर्नुहुन्छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। मचाहिँ मेरा पिताको आज्ञापालन गरेर पिताको प्रेममा रहिरहन्छु। त्यसै गरी तिमीहरूले मेरो आज्ञापालन गर्यौ भने तिमीहरू पनि मेरो प्रेममा रहिरहनेछौ। मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूरा होस् भनेर नै मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ। “मेरो आज्ञा यही हो– जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरू पनि एकले अर्कालाई प्रेम गर। साथीको निम्ति आफ्नो प्राण दिनु नै सबैभन्दा ठूलो प्रेम हो, योभन्दा ठूलो प्रेम त अरू केही छैन। यदि तिमीहरूले मेरो आज्ञापालन गरिरह्यौ भने तिमीहरू मेरा साथी हौ। अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ किनभने नोकरले मालिकले के गर्दै छ, त्यो जान्दैन। म तिमीहरूलाई साथी भन्छु किनभने मेरा पिताबाट सुनेका सबै कुराहरू मैले तिमीहरूलाई बताइसकेको छु। तिमीहरूले मलाई छानेका होइनौ, तर मैले तिमीहरूलाई छानें र तिमीहरू गएर सधैँ रहिरहने फल फलाओ भनेर मैले तिमीहरूलाई खटाएर पठाउँदै छु। तब मेरो नाउँमा पितासँग जे मागे पनि उहाँले तिमीहरूलाई दिनुहुनेछ। अब म तिमीहरूलाई यो धार्मिक आज्ञा दिन्छु, एकले अर्कालाई प्रेम गर। “मानिसहरूले तिमीहरूलाई हेला गरे भने तिमीहरूलाई भन्दा पहिले मलाई नै हेला गरेका थिए भनी याद गर। यदि तिमीहरू संसारका मानिस भएका भए तिनीहरूले तिमीहरूलाई आफ्ना सम्झेर प्रेम गर्नेथिए। तर मैले त तिमीहरूलाई यस संसारबाट छानेको हुँ। त्यसकारण तिमीहरू यस संसारका होइनौ र संसारले तिमीहरूलाई हेला गर्छ। ‘नोकर मालिकभन्दा ठूलो हुँदैन’ भनेर मैले भनेको यो कुरा सम्झ। तिनीहरूले मेरो खेदो गरे भने तिमीहरूको पनि गर्नेछन्। त्यसरी नै तिनीहरूले मेरो आज्ञापालन गरे भने तिमीहरूले भनेको पनि मान्नेछन्। मेरो नाउँको कारणले तिमीहरूलाई सताउनेछन् किनभने तिनीहरू मलाई पठाउनुहुने पितालाई चिन्दैनन्। “यदि म आएर नभनिदिएको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर अब तिनीहरूलाई बहाना गर्ने कुनै ठाउँ नै छैन। मलाई हेला गर्नेले मेरो पितालाई पनि हेला गर्छ। अरू कसैले कहिल्यै नगरेको शक्तिशाली कामहरू मैले तिनीहरूको बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर मैले गरेका अचम्मका कामहरू देखेर पनि तिनीहरूले मलाई र मेरा पितालाई समेत हेला गर्छन्। तर तिनीहरूकै व्यवस्थामा लेखिएको यो कुरा पूरा होस् भनेर नै यी सबै हुन आएका हुन्, जसरी लेखिएको छ– ‘कारणैबिना तिनीहरूले मलाई हेला गरे।’ “म पिताबाट सत्यको आत्मा तिमीहरूलाई सहायता गर्न पठाउनेछु। उहाँ आएर उहाँले मेरो बारेमा साक्षी दिनुहुनेछ अनि तिमीहरूचाहिँ सुरुदेखि नै मसँग रहेका हुनाले तिमीहरू पनि मेरो साक्षी हुनेछौ।”