यो निस्तार चाडको अगिल्लो दिन थियो। यस संसारलाई छोडेर पिताकहाँ जाने आफ्नो समय आइपुगेको छ भनी येशूलाई थाहा थियो। संसारमा भएका आफ्नाहरूलाई उहाँले अन्त्यसम्म नै प्रेम गर्नुभयो। बेलुकीको भोजनको समय भएको थियो र शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिदिइसकेको थियो। पिताले सबै कुरा उहाँको अधिकारमुनि राखिदिनुभएको छ, र उहाँ परमेश्वरबाट आउनुभएको हो र परमेश्वरकहाँ नै फर्कंदैहुनुहुन्छ भन्ने येशूलाई थाहा थियो। त्यसकारण उहाँ भोजनबाट उठ्नुभयो, र आफ्ना बाहिरी लुगा फुकाल्नुभयो, र कम्मरमा एउटा तौलिया बाँध्नुभयो। त्यसपछि उहाँले बाटामा पानी खन्याएर चेलाहरूका खुट्टा धुन थाल्नुभयो। अनि कम्मरमा बाँध्नुभएको तौलियाले खुट्टा पुछ्न थाल्नुभयो। जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तब तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुनुहुन्छ?” येशूले भन्नुभयो, “मैले जे गरिरहेछु यसको अर्थ तिमीहरूले अहिले बुझ्दैनौ, तर पछि बुझ्नेछौ।” पत्रुसले इन्कार गर्दै भने, “हुँदैन, तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले जवाफ दिनुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो केही भाग रहनेछैन।” सिमोन पत्रुसले भने, “प्रभु, त्यसो भए मेरो खुट्टा मात्र होइन, तर मेरो हात र शिर पनि धोइदिनुहोस्।” येशूले जवाफ दिनुभयो, “सम्पूर्ण शरीर नुहाइसकेका मानिसहरूका निम्ति खुट्टा मात्रै धुन आवश्यक हुन्छ; किनकि तिनीहरूको पूरै शरीर शुद्ध भएको छ। अब तिमीहरू शुद्ध भइसकेका छौ, तर यहाँ भएका सबै त होइनन्।” किनकि येशूले उहाँलाई कसले धोका दिन लागेको छ भनेर चिन्नुहुन्थ्यो। त्यसैकारण उहाँले सबै त शुद्ध छैनन् भनी भन्नुभयो। चेलाहरूको खुट्टा धोइसक्नुभएपछि उहाँले आफ्नो लुगा फेरि पहिरिनुभयो र आफ्नो ठाउँमा बसेर सोध्नुभयो, “मैले तिमीहरूको निम्ति के गर्दैथिएँ, त्यसको अर्थ तिमीहरूले बुझ्दछौ? तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ, र त्यो ठिकै हो; किनकि म त्यही नै हुँ। प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। तिमीहरूसँग मैले जसो गरेको छु, सो तिमीहरूले पनि त्यसै गर्ने गर। म तिमीहरूलाई साँच्चै भन्दछु, कुनै सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन। अनि खबर लैजाने पनि खबर पठाउनेभन्दा ठूलो हुँदैन। अब तिमीहरूलाई यी कुराहरू थाहा छ र यसलाई पालन गर्यौ भने तिमीहरू धन्यका हुनेछौ। “तिमीहरू सबैका निम्ति मैले यी कुराहरू भनेको होइनँ। मैले चुनेका प्रत्येकलाई म राम्ररी चिन्दछु। तर धर्मशास्त्रको यो कुरा पूरा होस् भनेर यसो भएको हो: ‘मसँग भोज खानेले नै मेरो विरुद्धमा लात उठाएको छ।’ “यस कुरालाई त्यो हुनुभन्दा पहिले नै तिमीहरूलाई भनिदिएको छु, ताकि यो पूरा भएपछि तिमीहरूले म उही नै हुँ भनी विश्वास गर्नेछौ। म तिमीहरूलाई साँच्चै भन्दछु, मैले पठाएकाहरूलाई जसले ग्रहण गर्दछ, त्यसले मलाई नै ग्रहण गर्दछ। अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।”
यूहन्ना 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 13:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू