यूहन्ना 13:1-20
यूहन्ना 13:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
निस्तार-चाड़को अघि यस संसारबाट बिदा भएर पिताकहाँ जाने उहाँको समय आइपुग्यो भन्ने येशूले थाहा पाउनुभयो, अनि संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो। अनि बेलुकीको भोजनको बेला दियाबलसले सिमोनको छोरो यहूदा इस्करियोतको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो। पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ, र उहाँ परमेश्वरको तर्फबाट आउनुभएको हो, र परमेश्वरकहाँ नै जाँदैहुनुहुन्छ भन्ने कुरा येशूले जान्नुहुँदथियो। अनि उहाँ भोजनबाट उठ्नुभयो, र बाहिरी वस्त्र एकातिर राखी एउटा तौलिया आफ्नो कम्मरमा बेह्रनुभयो। तब उहाँले बाटामा पानी खन्याउनुभयो, र चेलाहरूका गोडा धुन लाग्नुभयो, र आफूले बेह्रेको तौलियाले तिनीहरूका गोडा पुछ्न लाग्नुभयो। जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरा गोडा धुने?” येशूले तिनलाई जवाफ दिनुभयो, “म के गर्दैछु तिमी अहिले जान्दैनौ, तर पछि बुझ्नेछौ।” पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै धुनुहुनेछैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्सा हुनेछैन।” सिमोन पत्रुसले उहाँलाई भने, “हे प्रभु, मेरा गोडा मात्र होइन, तर मेरा हात र शिरसमेत धोइदिनुहोस्।” येशूले तिनलाई भन्नुभयो, “नुहाइसकेको मानिसलाई गोडाबाहेक अरू केही धुनुपर्दैन, त्यो सम्पूर्ण शुद्ध छ। अनि तिमीहरू शुद्ध छौ, तर सबै त होइन।” किनभने उहाँलाई विश्वासघात गर्नेलाई उहाँले चिन्नुभएको थियो। यसैकारण उहाँले भन्नुभएको थियो, “तिमीहरू सबै शुद्ध छैनौ।” तिनीहरूका गोडा धोइसक्नुभएपछि आफ्नो बाहिरी वस्त्र लाएर उहाँ फेरि बस्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू जान्दछौ, मैले तिमीहरूका निम्ति के गरें? तिमीहरू मलाई ‘गुरु र प्रभु’ भन्दछौ, त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म उही हुँ। यदि तिमीहरूका प्रभु र गुरु भईकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर। साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठूलो हुँदैन, अनि खबर लाने खबर पठाउनेभन्दा ठूलो हुँदैन। यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने, तिमीहरू धन्य हुनेछौ। “मैले तिमीहरू सबैका विषयमा भनिरहेको होइनँ, मैले कसलाई छानेको हुँ तिनलाई म चिन्छु। तर धर्मशास्त्र पूरा होस् भनेर यो भयो, कि ‘मेरै रोटी खानेले ममाथि आफ्नो लात उठायो।’ “यो हुन अघि अहिले नै म तिमीहरूलाई भन्दछु, ताकि जब त्यो हुन आउँछ, म उही नै हुँ भनेर तिमीहरूलाई विश्वास होस्। साँच्चै म तिमीहरूलाई भन्दछु, ‘जसलाई म पठाउँदछु, उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ’।”
यूहन्ना 13:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो निस्तार चाडको अगिल्लो दिन थियो। यस संसारलाई छोडेर पिताकहाँ जाने आफ्नो समय आइपुगेको छ भनी येशूलाई थाहा थियो। संसारमा भएका आफ्नाहरूलाई उहाँले अन्त्यसम्म नै प्रेम गर्नुभयो। बेलुकीको भोजनको समय भएको थियो र शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिदिइसकेको थियो। पिताले सबै कुरा उहाँको अधिकारमुनि राखिदिनुभएको छ, र उहाँ परमेश्वरबाट आउनुभएको हो र परमेश्वरकहाँ नै फर्कंदैहुनुहुन्छ भन्ने येशूलाई थाहा थियो। त्यसकारण उहाँ भोजनबाट उठ्नुभयो, र आफ्ना बाहिरी लुगा फुकाल्नुभयो, र कम्मरमा एउटा तौलिया बाँध्नुभयो। त्यसपछि उहाँले बाटामा पानी खन्याएर चेलाहरूका खुट्टा धुन थाल्नुभयो। अनि कम्मरमा बाँध्नुभएको तौलियाले खुट्टा पुछ्न थाल्नुभयो। जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तब तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुनुहुन्छ?” येशूले भन्नुभयो, “मैले जे गरिरहेछु यसको अर्थ तिमीहरूले अहिले बुझ्दैनौ, तर पछि बुझ्नेछौ।” पत्रुसले इन्कार गर्दै भने, “हुँदैन, तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले जवाफ दिनुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो केही भाग रहनेछैन।” सिमोन पत्रुसले भने, “प्रभु, त्यसो भए मेरो खुट्टा मात्र होइन, तर मेरो हात र शिर पनि धोइदिनुहोस्।” येशूले जवाफ दिनुभयो, “सम्पूर्ण शरीर नुहाइसकेका मानिसहरूका निम्ति खुट्टा मात्रै धुन आवश्यक हुन्छ; किनकि तिनीहरूको पूरै शरीर शुद्ध भएको छ। अब तिमीहरू शुद्ध भइसकेका छौ, तर यहाँ भएका सबै त होइनन्।” किनकि येशूले उहाँलाई कसले धोका दिन लागेको छ भनेर चिन्नुहुन्थ्यो। त्यसैकारण उहाँले सबै त शुद्ध छैनन् भनी भन्नुभयो। चेलाहरूको खुट्टा धोइसक्नुभएपछि उहाँले आफ्नो लुगा फेरि पहिरिनुभयो र आफ्नो ठाउँमा बसेर सोध्नुभयो, “मैले तिमीहरूको निम्ति के गर्दैथिएँ, त्यसको अर्थ तिमीहरूले बुझ्दछौ? तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ, र त्यो ठिकै हो; किनकि म त्यही नै हुँ। प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। तिमीहरूसँग मैले जसो गरेको छु, सो तिमीहरूले पनि त्यसै गर्ने गर। म तिमीहरूलाई साँच्चै भन्दछु, कुनै सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन। अनि खबर लैजाने पनि खबर पठाउनेभन्दा ठूलो हुँदैन। अब तिमीहरूलाई यी कुराहरू थाहा छ र यसलाई पालन गर्यौ भने तिमीहरू धन्यका हुनेछौ। “तिमीहरू सबैका निम्ति मैले यी कुराहरू भनेको होइनँ। मैले चुनेका प्रत्येकलाई म राम्ररी चिन्दछु। तर धर्मशास्त्रको यो कुरा पूरा होस् भनेर यसो भएको हो: ‘मसँग भोज खानेले नै मेरो विरुद्धमा लात उठाएको छ।’ “यस कुरालाई त्यो हुनुभन्दा पहिले नै तिमीहरूलाई भनिदिएको छु, ताकि यो पूरा भएपछि तिमीहरूले म उही नै हुँ भनी विश्वास गर्नेछौ। म तिमीहरूलाई साँच्चै भन्दछु, मैले पठाएकाहरूलाई जसले ग्रहण गर्दछ, त्यसले मलाई नै ग्रहण गर्दछ। अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।”
यूहन्ना 13:1-20 पवित्र बाइबल (NERV)
यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैँ तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसँग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो। येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो। पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै फर्किरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो। जब तिनीहरूले खाई रहेका थिए, येशू उठ्नु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो। तब येशूले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुन थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तौलियाले उनीहरूका खुट्टा पुछिदिनु भयो। येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।” येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझ्ने छौं।” पत्रुसले भने, “अँहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।” शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु होस्।” येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।” येशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।” येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें? तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ। तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ। मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें। र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें। म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन। यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्यौ भने सुखी हुनेछौ। “मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः ‘जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।’ अब यसो हुन अगाडि नै म भनिरहेछु। जब यस्तो घट्नेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ। यसर्थ म साँच्चो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”
यूहन्ना 13:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
निस्तार भन्ने चाड सुरु हुनै लागेको थियो। आफूले संसार छोडेर पिताकहाँ जाने समय आउनै लागेको छ भन्ने कुरा येशूलाई थाहा थियो। उहाँले संसारमा भएका आफ्ना चेलाहरूलाई सधैँ प्रेम गर्नुहुन्थ्यो अनि उहाँले तिनीहरूलाई आखिरी समयसम्मै प्रेम गरिरहनुभयो। येशूले आफ्ना चेलाहरूसँग बेलुकीको खाना खाँदै हुनुहुन्थ्यो। त्यति बेला शैतानले सिमोनका छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई पक्राइदिने विचार हालिदिइसकेको थियो। परमेश्वरले आफूलाई सबै अधिकार दिनुभएको छ भन्ने कुरा येशूलाई थाहा थियो अनि परमेश्वरबाटै आएर फेरि परमेश्वरकहाँ नै फर्किंदै छु भन्ने कुरा पनि उहाँलाई थाहा थियो। त्यही सम्झेर येशू उठ्नुभयो र बाहिरपट्टिको खास्टो खोलेर कम्मरमा तौलिया बेर्नुभयो। त्यसपछि उहाँले भाँडामा पानी हालेर चेलाहरूको खुट्टा धुँदै कम्मरमा बेरेको तौलियाले पुछ्न लाग्नुभयो। सिमोन पत्रुसको खुट्टा धुन आँट्दा पत्रुसले भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुन लाग्नुभएको?” येशूले पत्रुसलाई भन्नुभयो, “अहिले म के गर्दै छु, तिमीले बुझ्दैनौ। तर पछिचाहिँ तिमीले बुझ्नेछौ।” पत्रुसले भने, “तपाईंले मेरो खुट्टा कहिल्यै पनि धुनुहुँदैन!” येशूले भन्नुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने तिमी मेरो चेला नै हुँदैनौ।” तब सिमोन पत्रुसले भने, “त्यसो हो भने प्रभु, मेरो खुट्टा मात्रै होइन, तर हात र टाउकोसमेत धोइदिनुहोस्।” येशूले भन्नुभयो, “नुहाइसकेको मानिसले खुट्टाबाहेक अरू केही धुनुपर्दैन किनभने ऊ शुद्ध भएको छ। तिमीहरू त शुद्ध भइसकेका छौ, तर सबैचाहिँ होइन।” आफूलाई कसले पक्राइदिन आँटेको छ, त्यो येशूलाई थाहा थियो। त्यसकारण उहाँले तिमीहरू सबै शुद्ध भइसकेका छैनौ भनेर भन्नुभएको थियो। चेलाहरूको खुट्टा धोइसक्नुभएपछि येशूले खास्टो ओड्नुभयो र फेरि खान बस्नुभएपछि भन्नुभयो, “मैले किन तिमीहरूका खुट्टा धोएको, तिमीहरूले बुझ्यौ? तिमीहरूले मलाई गुरु र प्रभु भन्छौ। यो कुरा ठीक नै हो, म तिमीहरूका प्रभु र गुरु नै हुँ। मैले प्रभु र गुरु भएर पनि तिमीहरूका खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले गरेजस्तै तिमीहरूले पनि गर भनेर नै मैले नमुना देखाएको हुँ। साँच्चै म तिमीहरूलाई भन्छु, मालिकभन्दा नोकर ठूलो हुँदैन अनि खबर पठाउनेभन्दा खबर ल्याउने पनि ठूलो हुँदैन। तिमीहरूले यो कुरा बुझेर यसैअनुसार काम गर्यौ भने तिमीहरू सुखी हुनेछौ। “मैले तिमीहरू सबैको विषयमा भनेको होइनँ? मैले छानेकाहरूलाई म चिन्छु। तर ‘मसँगै रोटी खाने मानिस मेरो विरोधी भयो’ भनेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुनु नै पर्छ। यो भएपछि तिमीहरूले मलाई ‘जो हुँ, उही हुँ’ भनी विश्वास गर्न सक भनेर यो हुनुपहिले नै तिमीहरूलाई भन्दै छु। साँच्चै म तिमीहरूलाई भन्छु, मैले पठाएकाहरूलाई स्वागत गर्नेले मलाई नै वास्ता गर्छ र मलाई वास्ता गर्नेले मलाई पठाउनुहुने परमेश्वरलाई नै वास्ता गर्छ।”