YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 12:1-19

यूहन्‍ना 12:1-19 NCV

निस्तार चाड सुरु हुनुभन्दा छ दिन अघि येशू लाजरस बस्‍ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो। येशूको सम्मानमा त्यहाँ भोज तयार गरिएको थियो। मार्थाले भोजनको तयार गरिन्, लाजरस पनि येशूसँग खान बस्‍नेहरूमध्ये एक थिए। अनि मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति महङ्गो अत्तर ल्याइन् र येशूको पाउमा खन्याएर आफ्नै कपालले येशूको पाउ पुछी; अनि अत्तरको सुवास्‍नाले घर भरियो। उहाँका चेलाहरूमध्ये उहाँलाई पछि गएर विश्‍वासघात गर्ने यहूदा इस्करियोतले विरोध गर्दै भन्यो, “यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला बराबर थियो। तर त्यसले गरिबहरूको चिन्ता गरेर नै यसो भनेको होइन, तर त्योचाहिँ चोर थियो, र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्‍कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो। येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्नदेऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो। गरिबहरू त तिमीहरूसँग जहिले पनि हुन्छन्, तर म ता तिमीहरूसँग सधैं रहनेछैनँ।” यसै बीचमा यहूदीहरूको एउटा ठूलो भीडले येशू बेथानीमा हुनुहुन्छ भन्‍ने थाहा पाए, र उहाँलाई मात्र होइन, तर उहाँले मरेकाबाट जीवित पार्नुभएको लाजरसलाई समेत हेर्न त्यो भीड त्यहाँ आए। त्यसकारण मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजना गरे। किनकि लाजरसकै कारण धेरै यहूदीहरू येशूलाई पछ्याउन र उहाँमाथि विश्‍वास गर्न थालेका थिए। भोलिपल्ट निस्तार चाडमा आउने ठूलो भीडले येशू यरूशलेमतिर जाँदैहुनुहुन्छ भन्‍ने खबर सुने। तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए। “होसन्‍ना!” “उहाँ जो प्रभुको नाउँमा आउनुहुन्छ धन्य हुनुहुन्छ!” “इस्राएलका राजा धन्यका हुन्!” अनि येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि बस्‍नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो: “ए यरूशलेमका मानिसहरूहो, नडराओ, हेर, तिम्रा राजा, गधाको बछेडामाथि चढेर आउँदै हुनुहुन्छ।” त्यस समय उहाँका चेलाहरूले यस घटनाका कुराहरू बुझेनन्, तर येशू आफ्नो महिमामा प्रवेश हुनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए; र त्यसकारण तिनीहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे। अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुभएको र तिनलाई मृत्युबाट जीवित पार्नुभएको बेला उहाँसँग रहने भीडले यो खबर फैल्याइरहे। त्यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए, किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए। त्यसकारण फरिसीहरूले आपसमा भने, “हेर! हामीले केही गर्न सकेनौं, हामी असफल भयौं! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!”

यूहन्‍ना 12 पढ्नुहोस्