निस्तार भन्ने चाडभन्दा छ दिनअघि येशू फेरि बेथानिया गाउँमा आउनुभयो। त्यही गाउँमा येशूले मरेकोबाट बिउँताउनुभएको लाजरस बस्थे। येशू आउनुभएको खुसीयाली मा तिनीहरूले खाना तयार गरे। मार्थाले खाना टक्र्याउँदै थिइन्। लाजरसचाहिँ येशू र अरू पाहुनाहरूको साथमा टेबिलमा ढल्कँदै खान लागेका थिए। त्यस बेला मरियमले जटामसीको बोटबाट बनाएको आधा लिटर दामी सुगन्धित अत्तर ल्याइन् र त्यसलाई येशूको पाउमा घसेर आफ्नै कपालले पुछिन्। त्यो अत्तरको बास्नाले घरै भरियो। प्रभुलाई विश्वासघात गर्ने चेला यहूदा इस्करियोतले भन्यो, “यो अत्तर त तीन सय चाँदीका सिक्कामा बेचेर गरीबलाई दिए भइहाल्थ्यो नि, किन नदिएको?” उसले गरीबको माया गरेर होइन, तर चोर भएकोले यसो भनेको थियो। पैसाको थैलो उसलाई नै राख्न दिइएको थियो र उसले यसबाट पैसा झिक्ने गर्थ्यो। येशूले भन्नुभयो, “भइहाल्यो, उसलाई केही नभन! मलाई गाड्ने दिनको लागि उनले मलाई यो अत्तर लगाइदिएकी हुन्। गरीबहरू त सधैँ तिमीहरूसँगै हुन्छन्, तर म त सधैँ हुन्नँ।” येशू बेथानियामा हुनुहुन्छ भन्ने थाहा पाएर धेरै मानिसहरू त्यहाँ आए। तिनीहरू येशूलाई हेर्न मात्र होइन, तर उहाँले मरेकोबाट बिउँताउनुभएको लाजरसलाई पनि हेर्न आएका थिए। यसो हुँदा मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने निधो गरे किनभने लाजरस बिउँतिएकोले गर्दा धेरै यहूदीहरूले तिनीहरूलाई छोडेर येशूमा विश्वास गर्न लागेका थिए। भोलिपल्ट निस्तार भन्ने चाडमा आएका ठूलो भीडले येशू यरूशलेममा आउँदै हुनुहुन्छ भनेको सुने। तिनीहरू खजुरका हाँगा लिएर यसो भन्दै उहाँलाई स्वागत गर्न आए, “जय होस्! जय-जयकार होस्!! प्रभु परमेश्वरको नाउँमा आउनुहुने इस्राएलका महाराजा कति धन्य हुनुहुन्छ।” येशू एउटा गधाको बछेडो भेटाएर त्यसैमा चढेर आउनुभयो। यस बारेमा धर्मशास्त्रमा पनि यसरी लेखिएको छ– हे यरूशलेमका बासिन्दाहरू हो, नडराओ! हेर, तिमीहरूका महाराजा गधाको बछेडोमा चढेर आउँदै हुनुहुन्छ! (जकरिया ९:९) तर त्यति बेला त येशूका चेलाहरूले ती कुराहरू बुझेनन्। तर येशू मरेकोबाट बिउँतेर स्वर्गको महिमामा फर्किनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए र ती मानिसहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे। येशूले मरेको लाजरसलाई चिहानबाट बोलाएर जिउँदो गराउनुभएको देख्ने मानिसहरूले यो कुरा भएको हो भनी फैल्याइरहेका थिए। त्यसैले मानिसहरूले त्यो शक्तिशाली कामको बारेमा सुनेका हुनाले येशूलाई स्वागत गर्न त्यत्रो ठूलो भीड आएको थियो। फरिसीहरूले आपसमा भने, “खै, हामीले केही गर्न सकेनौँ। हेर त, सबै दुनियाँ नै उसको पछि लागिसकेछ।”
यूहन्ना 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 12:1-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू