यूहन्ना 12:1-19
यूहन्ना 12:1-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
निस्तार-चाड़को छ दिनअघि येशू बेथानियामा आउनुभयो। त्यहाँ लाजरस बस्थे, जसलाई येशूले मृतकबाट जीवित पार्नुभएको थियो। तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा-टहल गर्थिन्, अनि लाजरसचाहिँ उहाँसँगै खान बस्नेहरूमध्ये एक जना थिए। तब मरियमले आधा लिटर जति कीमती जटामसीको सुगन्धित अत्तर ल्याएर येशूका पाउमा मलिन्, अनि उहाँका पाउ आफ्ना केशले पुछिन्, र अत्तरको बास्नाले घर भरियो। तर उहाँका चेलाहरूमध्ये एक जना, अर्थात् उहाँलाई पक्राउन खोज्ने यहूदा इस्करियोतले भन्यो, “यो अत्तर तीन सय चाँदीका सिक्कामा बेचेर त्यो रकम गरीबहरूलाई दिए हुँदैनथ्यो?” तर त्यसले गरीबहरूको ख्याल राखेर यो भनेको थिएन, किनकि त्यो चोर थियो, र पैसाको थैलो त्यसैले राख्थ्यो, अनि त्यहाँबाट चोर्ने गर्थ्यो। येशूले भन्नुभयो, “यिनलाई केही नभन, मेरो दफन-दिनको लागि यिनलाई त्यो राखिछोड्न देऊ। किनभने गरीबहरू सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुन्नँ।” यहूदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो, र येशूको खातिरमा मात्र होइन, तर उहाँले मृतकबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए। यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे। किनभने तिनैले गर्दा यहूदीहरूमध्ये धेरै जना छुटिएर गई येशूमाथि विश्वास गर्न लागेका थिए। भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो, र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!” अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ, “सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।” यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे। उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे। उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्न गएको थियो। तब फरिसीहरूले एक-अर्कालाई भन्न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्तछौ, संसारै त्यसको पछि लागिसक्यो!”
यूहन्ना 12:1-19 नेपाली समकालीन संस्करण (NCV)
निस्तार चाड सुरु हुनुभन्दा छ दिन अघि येशू लाजरस बस्ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो। येशूको सम्मानमा त्यहाँ भोज तयार गरिएको थियो। मार्थाले भोजनको तयार गरिन्, लाजरस पनि येशूसँग खान बस्नेहरूमध्ये एक थिए। अनि मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति महङ्गो अत्तर ल्याइन् र येशूको पाउमा खन्याएर आफ्नै कपालले येशूको पाउ पुछी; अनि अत्तरको सुवास्नाले घर भरियो। उहाँका चेलाहरूमध्ये उहाँलाई पछि गएर विश्वासघात गर्ने यहूदा इस्करियोतले विरोध गर्दै भन्यो, “यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला बराबर थियो। तर त्यसले गरिबहरूको चिन्ता गरेर नै यसो भनेको होइन, तर त्योचाहिँ चोर थियो, र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो। येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्नदेऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो। गरिबहरू त तिमीहरूसँग जहिले पनि हुन्छन्, तर म ता तिमीहरूसँग सधैं रहनेछैनँ।” यसै बीचमा यहूदीहरूको एउटा ठूलो भीडले येशू बेथानीमा हुनुहुन्छ भन्ने थाहा पाए, र उहाँलाई मात्र होइन, तर उहाँले मरेकाबाट जीवित पार्नुभएको लाजरसलाई समेत हेर्न त्यो भीड त्यहाँ आए। त्यसकारण मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजना गरे। किनकि लाजरसकै कारण धेरै यहूदीहरू येशूलाई पछ्याउन र उहाँमाथि विश्वास गर्न थालेका थिए। भोलिपल्ट निस्तार चाडमा आउने ठूलो भीडले येशू यरूशलेमतिर जाँदैहुनुहुन्छ भन्ने खबर सुने। तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए। “होसन्ना!” “उहाँ जो प्रभुको नाउँमा आउनुहुन्छ धन्य हुनुहुन्छ!” “इस्राएलका राजा धन्यका हुन्!” अनि येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि बस्नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो: “ए यरूशलेमका मानिसहरूहो, नडराओ, हेर, तिम्रा राजा, गधाको बछेडामाथि चढेर आउँदै हुनुहुन्छ।” त्यस समय उहाँका चेलाहरूले यस घटनाका कुराहरू बुझेनन्, तर येशू आफ्नो महिमामा प्रवेश हुनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए; र त्यसकारण तिनीहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे। अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुभएको र तिनलाई मृत्युबाट जीवित पार्नुभएको बेला उहाँसँग रहने भीडले यो खबर फैल्याइरहे। त्यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए, किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए। त्यसकारण फरिसीहरूले आपसमा भने, “हेर! हामीले केही गर्न सकेनौं, हामी असफल भयौं! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!”
यूहन्ना 12:1-19 पवित्र बाइबल (NERV)
निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्। बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँड्ने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए। मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो। यहूदा इस्करयोती त्यहाँ थिए। यहूदा येशूका चेलाहरूमा एक थिए। (ऊ मात्र एक थियो जो पछि येशूका विरोधी भए)। यहूदाले मरियमले त्यसो गरेको मन पराएन। उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वद्लामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।” यहूदा आफैं गरीबहरूसँग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला-बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो। तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ। गरीब मानिसहरू सधैँ तिमीसँग हुनेछन्। तर म तिमीहरूसँग सधैँ बस्ने छैन।” येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट बचाउनु भएको थियो। यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे। लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए। अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहूदीहरूको निस्तार चाडमा आउनेहरू थिए। मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए, “‘उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून्, जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’ परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!” येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढ़नु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयो, “हे सियोन शहर नडराऊ! हेर! तिम्रो राजा आइरहेछ। उनी गधाको बछेड़ामाथि चडेर आइरहेका छन्।” येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए। जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसँग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले। धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो। यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”
यूहन्ना 12:1-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
निस्तार भन्ने चाडभन्दा छ दिनअघि येशू फेरि बेथानिया गाउँमा आउनुभयो। त्यही गाउँमा येशूले मरेकोबाट बिउँताउनुभएको लाजरस बस्थे। येशू आउनुभएको खुसीयाली मा तिनीहरूले खाना तयार गरे। मार्थाले खाना टक्र्याउँदै थिइन्। लाजरसचाहिँ येशू र अरू पाहुनाहरूको साथमा टेबिलमा ढल्कँदै खान लागेका थिए। त्यस बेला मरियमले जटामसीको बोटबाट बनाएको आधा लिटर दामी सुगन्धित अत्तर ल्याइन् र त्यसलाई येशूको पाउमा घसेर आफ्नै कपालले पुछिन्। त्यो अत्तरको बास्नाले घरै भरियो। प्रभुलाई विश्वासघात गर्ने चेला यहूदा इस्करियोतले भन्यो, “यो अत्तर त तीन सय चाँदीका सिक्कामा बेचेर गरीबलाई दिए भइहाल्थ्यो नि, किन नदिएको?” उसले गरीबको माया गरेर होइन, तर चोर भएकोले यसो भनेको थियो। पैसाको थैलो उसलाई नै राख्न दिइएको थियो र उसले यसबाट पैसा झिक्ने गर्थ्यो। येशूले भन्नुभयो, “भइहाल्यो, उसलाई केही नभन! मलाई गाड्ने दिनको लागि उनले मलाई यो अत्तर लगाइदिएकी हुन्। गरीबहरू त सधैँ तिमीहरूसँगै हुन्छन्, तर म त सधैँ हुन्नँ।” येशू बेथानियामा हुनुहुन्छ भन्ने थाहा पाएर धेरै मानिसहरू त्यहाँ आए। तिनीहरू येशूलाई हेर्न मात्र होइन, तर उहाँले मरेकोबाट बिउँताउनुभएको लाजरसलाई पनि हेर्न आएका थिए। यसो हुँदा मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने निधो गरे किनभने लाजरस बिउँतिएकोले गर्दा धेरै यहूदीहरूले तिनीहरूलाई छोडेर येशूमा विश्वास गर्न लागेका थिए। भोलिपल्ट निस्तार भन्ने चाडमा आएका ठूलो भीडले येशू यरूशलेममा आउँदै हुनुहुन्छ भनेको सुने। तिनीहरू खजुरका हाँगा लिएर यसो भन्दै उहाँलाई स्वागत गर्न आए, “जय होस्! जय-जयकार होस्!! प्रभु परमेश्वरको नाउँमा आउनुहुने इस्राएलका महाराजा कति धन्य हुनुहुन्छ।” येशू एउटा गधाको बछेडो भेटाएर त्यसैमा चढेर आउनुभयो। यस बारेमा धर्मशास्त्रमा पनि यसरी लेखिएको छ– हे यरूशलेमका बासिन्दाहरू हो, नडराओ! हेर, तिमीहरूका महाराजा गधाको बछेडोमा चढेर आउँदै हुनुहुन्छ! (जकरिया ९:९) तर त्यति बेला त येशूका चेलाहरूले ती कुराहरू बुझेनन्। तर येशू मरेकोबाट बिउँतेर स्वर्गको महिमामा फर्किनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए र ती मानिसहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे। येशूले मरेको लाजरसलाई चिहानबाट बोलाएर जिउँदो गराउनुभएको देख्ने मानिसहरूले यो कुरा भएको हो भनी फैल्याइरहेका थिए। त्यसैले मानिसहरूले त्यो शक्तिशाली कामको बारेमा सुनेका हुनाले येशूलाई स्वागत गर्न त्यत्रो ठूलो भीड आएको थियो। फरिसीहरूले आपसमा भने, “खै, हामीले केही गर्न सकेनौँ। हेर त, सबै दुनियाँ नै उसको पछि लागिसकेछ।”