YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:29-46

यूहन्‍ना 1:29-46 NCV

भोलिपल्ट यूहन्‍नाले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा! उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ, ‘मभन्दा पछि एक जना, जो आउँदैहुनुहुन्छ, उहाँ मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्थ्यो।’ म आफैँले उहाँलाई चिनेको थिइनँ, तर इस्राएलमा उहाँ प्रकट हुनुभएको होस् भनेर मैले पानीले बप्‍तिस्मा दिँदै आएँ।” त्यसपछि यूहन्‍नाले यो गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरझैँ स्वर्गबाट ओर्लिआएर उहाँमाथि बस्‍नुभएको देखेँ। मैले उहाँलाई चिनेको थिइनँ। तर जसले मलाई पानीले बप्‍तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘जुन मानिसमाथि पवित्र आत्मा ओर्लंदै गर्नुभएको तिमीले देख्नेछौ, पवित्र आत्माले बप्‍तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’ अनि मैले देखेँ, र गवाही पनि दिन्छु, उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्छ।” भोलिपल्ट फेरि यूहन्‍ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए। जब येशूलाई छेउबाट गइरहनुभएको देखे, तब उनले भने, “हेर! परमेश्‍वरका थुमा!” जब तिनीहरूले उनले भनेको यो कुरा सुने, तब ती दुई चेलाहरू येशूको पछि-पछि लागे। जब येशूले पछिल्तिर फर्केर हेर्नुभयो, तब तिनीहरू पछि-पछि आइरहेका देखेर सोध्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले भने, “हे रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्‍नुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्‍नुभएको ठाउँ देखे। त्यस दिन तिनीहरू उहाँसँगै बसे। त्यस बेला करिब चार बजेको थियो। यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटेर तिनलाई भने, “हामीले मसीह अर्थात् ख्रीष्‍टलाई भेट्टाएका छौँ।” अनि तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले तिनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ। तिमी केफास (जसको अर्थ हो, पत्रुस अथवा चट्टान) भनिनेछौ।” भोलिपल्ट येशूले गालील जाने निश्‍चय गर्नुभयो। उहाँले फिलिपलाई भेट्नुभयो र भन्‍नुभयो, “मलाई पछ्याऊ।” फिलिप पनि अन्द्रियास र पत्रुसजस्तै बेथसेदा सहरका नै बासिन्दा थिए। फिलिपले नथानेललाई भेट्टाएर भने, “जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौँ, योसेफका पुत्र नासरतका येशूलाई।” “नासरत!” नथानेलले छक्‍क पर्दै सोधे, “के त्यहाँबाट पनि कुनै असल कुरा आउनसक्छ र?” “आएर हेर!” फिलिपले भने।

यूहन्‍ना 1 पढ्नुहोस्