भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा! उनी उहाँ नै हुनुहुन्छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्छ, जो मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो।’ म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन् भनेर नै पानीले बप्तिस्मा दिँदै म आएँ।”
यूहन्नाले यसो भन्दै गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरको रूपमा स्वर्गबाट ओर्लेर आई उहाँमाथि बस्नुभएको देखें। मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्नुभयो, ‘जसमाथि तिमी पवित्र आत्मालाई ओर्लंदै र बस्दैगर्नुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’ मैले देखेको छु, र गवाही दिएको छु, कि परमेश्वरका पुत्र उहाँ नै हुनुहुन्छ।”
फेरि अर्को दिन यूहन्ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए। उनले येशूलाई गइरहनुभएको देखेर भने, “हेर, परमेश्वरका थुमा!” उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे।
येशूले फर्केर हेर्नुभयो, र तिनीहरूलाई पछिपछि आइरहेका देखेर तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के खोज्दैछौ?”
तिनीहरूले उहाँलाई भने, “रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्नुहुन्छ?”
उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्नुभएको स्थान देखे। तिनीहरू त्यो दिन उहाँसँग वास बसे, किनभने प्राय: चार बजिसकेको थियो।
यूहन्नाले भनेका कुरा सुन्ने र येशूलाई पछ्याउने ती दुई जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्ट) भेट्टाएका छौं।” तिनले सिमोनलाई येशूकहाँ ल्याए।
येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी योआनेसको छोरा सिमोन हौ, तिमी केफास (जसको अर्थ हो, चट्टान) भनिनेछौ।”
भोलिपल्ट उहाँले गालीलमा जाने निश्चय गर्नुभयो। र फिलिपलाई भेट्टाएर उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।”
अन्द्रियास र पत्रुसजस्तै फिलिप पनि बेथसेदा सहरका नै थिए। फिलिपले नथानेललाई भेट्टाएर भने, “जसको विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेट्टाएका छौं।”
नथानेलले तिनलाई भने, “के नासरतबाट केही असल कुरा आउन सक्छ र?”
फिलिपले तिनलाई जवाफ दिए, “आएर हेर।”