तब राजा सिदकियाहले यर्मिया अगमवक्तालाई बोलाउन पठाए, र तिनलाई याहवेहको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीलाई केही कुरा सोध्न लागेको छु। मबाट केही कुरा पनि नलुकाऊ!” यर्मियाले सिदकियाहलाई भने, “यदि मैले तपाईंलाई जवाफ दिएँ भने के तपाईंले मलाई मार्नुहुन्न र? यदि मैले तपाईंलाई सल्लाह दिएँ भने तापनि तपाईंले मेरो कुरा सुन्नुहुनेछैन।” तर राजा सिदकियाहले यर्मियासँग गुप्तमा यो शपथ खाए: “हामीलाई सास दिनुहुने जीवित याहवेहको नाममा शपथ खाएर भन्छु, म तिमीलाई मार्नेछैनँ, न त तिमीलाई मार्न चाहनेहरूका हातमा नै तिमीलाई सुम्पिदिनेछु।” तब यर्मियाले सिदकियाहलाई भने, “याहवेह सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यदि तैँले बेबिलोनको राजाका अधिकारीहरूको हातमा आफूलाई समर्पण गरिस् भने तँ जीवित रहनेछस्, र तिनीहरूले यो सहरलाई जलाएर भस्म पार्नेछैनन्; तेरो परिवारसहित तँ जीवित रहनेछस्। तर यदि तैँले बेबिलोनका राजाका अधिकारीहरूको हातमा समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा सुम्पिनेछ, र तिनीहरूले यस सहरलाई जलाएर भस्म पार्नेछन्; तँ आफैँ पनि तिनीहरूका हातबाट उम्कनेछैनस्।’ ” राजा सिदकियाहले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ शरण लिन गएका यहूदीहरूसँग मलाई डर लागिरहेको छ; किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदेलान्, र तिनीहरूले मसँग दुर्व्यवहार गर्लान्।” यर्मियाले जवाफ दिए, “तिनीहरूले तपाईंलाई सुम्पिनेछैनन्। मैले तपाईंलाई भनेका कुरा गरेर याहवेहको आज्ञापालन गर्नुहोस्। तब तपाईंको भलो हुनेछ, र तपाईं जीवित रहनुहुनेछ।
यर्मिया 38 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 38:14-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू