YouVersion लोगो
खोज आइकन

न्यायकर्ता 6:6-16

न्यायकर्ता 6:6-16 NCV

मिद्यानीहरूले इस्राएलीहरूलाई यतिसम्म दरिद्र तुल्याइदिए कि सहायताका निम्ति तिनीहरूले याहवेहलाई पुकारे। जब इस्राएलीहरूले मिद्यानीहरूको कारण याहवेहको पुकार गरे, तब उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाइदिनुभयो, जसले यसो भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तिमीहरूलाई इजिप्टको दासत्वदेखि निकालेर ल्याएँ। मैले तिमीहरूलाई इजिप्टको शक्तिबाट र तिमीहरूमाथि थिचोमिचो गर्नेहरू सबैका हातबाट तिमीहरूलाई खोसेर ल्याएँ। मैले तिनीहरूलाई तिमीहरूका सामुबाट धपाएँ, र तिनीहरूको देश तिमीहरूलाई दिएँ। मैले तिमीहरूलाई भनेँ, ‘म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; तिमीहरूले आफू बसेका देशमा एमोरीहरूका देवी-देवताहरूलाई नपुज्नू।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।” तब याहवेहका दूत आएर अबीएजरी योआशको ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जहाँ तिनका छोरा गिदोनले मिद्यानीहरूबाट जोगाउनलाई दाखको कोलमा गहुँ झाँट्दैथिए। याहवेहका दूत गिदोनकहाँ देखा परेर भने, “हे वीर योद्धा, याहवेह तँसित हुनुहुन्छ।” गिदोनले जवाफ दिए, “माफ गर्नुहोला मालिक, यदि याहवेह हामीसित हुनुहुन्छ भने हामीमाथि यी सबै किन हुन आए? उहाँका ती सबै अद्‌भुत कार्यहरू के भए, जो हामीले आफ्ना पितापुर्खाहरूबाट सुनेका छौँ, जसले भन्थे, ‘के याहवेहले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभएको होइन र?’ तर अब याहवेहले हामीलाई त्याग्नुभएको छ; मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।” तब याहवेह तिनीतिर फर्कनुभयो र भन्‍नुभयो: “तँसित भएको शक्ति प्रयोग गर्, र इस्राएललाई मिद्यानीहरूका हातबाट बचा। तँलाई पठाउने के म नै होइनँ र?” तर गिदोनले सोधे, “तर प्रभु म इस्राएललाई कसरी बचाउन सकूँला? मेरो वंश त मनश्शेमा सबैभन्दा कमजोर छ। अनि मेरो परिवारमा म सबैभन्दा सानो छु।” याहवेहले जवाफ दिनुभयो, “म तँसित हुनेछु, र तैँले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई झैँ मार्नेछस्।”

न्यायकर्ता 6 पढ्नुहोस्