यशैया 42
42
याहवेहको सेवक
1“हेर मेरो सेवक, जसलाई म सम्हाल्दछु,
मैले चुनेको जन, जसमा म प्रसन्न छु;
म तिनमा मेरो आत्मा हाल्नेछु,
र तिनले जाति-जातिहरूबीच न्याय ल्याउनेछन्।
2तिनी चिच्याउने वा जोरले कराउने छैनन्,
न त आफ्नो सोर सडकतिर सुनाउनेछन्।
3फुटेको निगालोलाई तिनले भाँच्नेछैनन्,
र निभ्न लागेको सलेदोलाई तिनले फुकिदिनेछैनन्।
तिनले विश्वासयोग्यतामा न्याय गर्नेछन्;
4जबसम्म तिनले पृथ्वीमा न्याय स्थापित गर्नेछैनन्;
तिनी कमजोर हुने निरुत्साहित हुनेछैनन्।
तिनको व्यवस्थामा टापुहरूले समेत आफ्नो आशा राख्नेछन्।”
5याहवेह परमेश्वर यसो भन्नुहुन्छ:
जसले आकाशहरू सृष्टि गरेर तिनलाई फैलाउनुभयो,
जसले पृथ्वी र त्यसबाट आउने सबैलाई फिँजाउनुभयो,
जसले यसका मानिसहरूलाई सास
र त्यसमा हिँड्नेहरूलाई जीवन दिनुहुन्छ:
6“म याहवेहले नै तँलाई धार्मिकतामा बोलाएको छु,
म तेरो हात पक्रनेछु।
म तेरो रक्षा गर्नेछु;
अनि तँलाई जाति-जातिहरूका निम्ति करार
र गैरयहूदीहरूका निम्ति ज्योति बनाउनेछु;
7तब तैँले अन्धाहरूका आँखा खोल्न,
कैदीहरूलाई कैदबाट छुटकारा दिन
र अन्धकारको खाडलमा बस्नेहरूलाई निकाल्न सक्नेछस्।
8“म नै याहवेह हुँ; मेरो नाम त्यही हो!
म मेरो महिमा अर्कोलाई दिनेछैनँ,
न त मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछु।
9हेर, पहिलेका कुराहरू बितिसके,
अब नयाँ कुराहरू म घोषणा गर्छु;
तिनीहरू आउनुभन्दा पहिल्यै
म ती तिमीहरूलाई बताउँछु।”
याहवेहलाई प्रशंसाको गीत
10याहवेहको लागि एउटा नयाँ गीत गाओ,
र पृथ्वीको छेउबाट उहाँको प्रशंसा गर;
हे समुद्र यात्रा गर्नेहरू, र त्यसमा भएका सबै थोक,
टापुहरू र तिनका सबै बासिन्दा हो।
11मरुभूमि र त्यसका नगरहरूले आफ्ना सोर उचालून्;
केदारमा बसेका बस्तीहरू आनन्दित होऊन्।
सेलाका मानिसहरू आनन्दले गाऊन्;
तिनीहरू पर्वतका टाकुराहरूबाट चिच्याऊन्।
12तिनीहरूले याहवेहलाई महिमा देऊन्,
र टापुहरूमा उहाँको प्रशंसा घोषणा गरून्।
13याहवेह पराक्रमी मानिसझैँ अगि बढ्नुहुनेछ;
योद्धाझैँ उहाँले आफ्नो जोश देखाउनुहुनेछ;
चर्को सोरले उहाँले युद्ध-ध्वनि निकाल्नुहुनेछ;
अनि उहाँले आफ्ना शत्रुहरूमाथि विजय पाउनुहुनेछ।
14“धेरै समयसम्म म चुप रहेँ,
म शान्त भएर आफूलाई रोकिराखेँ।
तर अब, प्रसव वेदना लागेकी स्त्रीझैँ म चिच्याउँछु;
म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु।
15म पर्वतहरू र डाँडाहरूलाई उजाड पारिदिनेछु,
र तिनका सबै वनस्पतिहरूलाई सुकाइदिनेछु;
म नदीहरूलाई टापुहरूमा परिणत गरिदिनेछु;
अनि पोखरीहरू सुकाइदिनेछु।
16म अन्धाहरूलाई तिनीहरूले नजानेका बाटोहरूमा डोर्याउनेछु;
नचिनेका बाटोहरूमा म तिनीहरूलाई डोर्याउनेछु;
म तिनीहरूको सामु अन्धकारलाई उज्यालोमा परिणत गरिदिनेछु;
अनि खाल्टाखुल्टी ठाउँहरूलाई समतल बनाउनेछु।
म यी कुराहरू गर्नेछु;
म तिनीहरूलाई त्याग्नेछैनँ।
17तर मूर्तिहरूमाथि भरोसा राख्नेहरू,
जसले मूर्तिहरूलाई ‘तपाईंहरू हाम्रा ईश्वर हुनुहुन्छ’ भनेर भन्छन्,
तिनीहरू अन्त्यमा शर्ममा पारिनेछन्।
अन्धा र बहिरा इस्राएल
18“हे बहिराहरू हो, सुन;
हे अन्धाहरू हो, हेर र देख!
19मेरो सेवकबाहेक अरू को अन्धो छ?
मैले पठाएको दूतझैँ अरू को बहिरो छ?
मसँग करारमा बाँधिएको व्यक्तिझैँ अन्धो को छ?
याहवेहको सेवकझैँ अन्धो को छ?
20तिमीहरूले धेरै कुरा देखेका छौ, तर त्यसमा ध्यान दिएका छैनौ;
तिमीहरूका कान खुल्ला छन्, तर तिमीहरू केही सुन्दैनौ।”
21आफ्ना धार्मिकताको खातिर
उहाँको व्यवस्था महान् र महिमित बनाउन
याहवेहलाई प्रसन्न लाग्यो।
22तर यो जाति खोसिएको र लुटिएको छ;
ती सबै खाडलमा परेका छन्,
अथवा झ्यालखानामा लुकाइएका छन्।
कसैले छुटाउन नसक्ने गरी
तिनीहरू लुटिएका छन्;
तिनीहरू लुट बनाइएका छन्,
कसैले पनि ती फर्काओ भन्दैनन्।
23तिमीहरूबीच कसले यो सुन्नेछौ,
अथवा आउने समयमा ध्यान दिनेछौ?
24कसले याकोबलाई लुटिन दियो,
र इस्राएललाई कसले खोसिन दियो?
के याहवेहले नै होइन?
जसका विरुद्ध हामीले पाप गरेका छौँ?
किनकि तिनीहरू उहाँका मार्गमा हिँडेनन्;
तिनीहरूले उहाँको व्यवस्था पालन गरेनन्।
25यसकारण उहाँले तिनीहरूमाथि आफ्नो बल्दो रिस खन्याइदिनुभयो,
र युद्धको प्रचण्डता पोखाउनुभयो।
त्यसले तिनीहरूलाई ज्वालामा लपेट्यो,
तर पनि तिनीहरूले बुझेनन्;
त्यसले तिनीहरूलाई भस्म पारिदियो,
तर पनि तिनीहरूले त्यो कुरा मतलब राखेनन्।
अहिले सेलेक्ट गरिएको:
यशैया 42: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.