YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 11:1-16

हिब्रूहरू 11:1-16 NCV

अब विश्‍वासचाहिँ हामीले गरेको आशाको निश्‍चयता र हामीले नदेखेका कुराको दृढ भरोसा हो। यही विश्‍वासद्वारा प्राचीन कालका मानिसहरूको प्रशंसा भएको थियो। विश्‍वासैद्वारा हामी बुझ्दछौँ, कि परमेश्‍वरको वचनले विश्‍व बनियो, र देखिने कुराहरू नदेखिने थोकहरूबाट बनिए। विश्‍वासैद्वारा हाबिलले परमेश्‍वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए। परमेश्‍वरले तिनको भेटीको विषयमा असल कुरा भन्‍नुहुँदा विश्‍वासैबाट तिनले धर्मी मानिस हुन् भन्‍ने प्रशंसा पाए। तिनी मरेर गए, तापनि तिनी विश्‍वासैद्वारा अझ बोलिरहेका छन्। विश्‍वासद्वारा नै हनोकले मृत्युको अनुभव नगरी उठाइए: “अनि तिनी फेला परेनन्; किनकि परमेश्‍वरले नै तिनलाई उठाइलैजानुभयो;” किनकि तिनी उठाइनुअगि नै तिनले परमेश्‍वरलाई खुशी पार्ने व्यक्तिको रूपमा प्रशंसा पाएका थिए। विश्‍वासविना परमेश्‍वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्‍वरकहाँ आउँछन्, तिनले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्‍वास गर्नुपर्छ। विश्‍वासैद्वारा नोआले नदेखेका कुराहरूको विषयमा चेतावनी पाउँदा आफ्नो परिवारलाई बचाउनको लागि आदरको भयमा एउटा जहाज बनाए। आफ्नो विश्‍वासद्वारा तिनले संसारलाई दोषी ठहराए, र विश्‍वासैद्वारा धार्मिकताका उत्तराधिकारी भए। विश्‍वासैद्वारा अब्राहामले उनलाई जानू भनेको ठाउँमा आज्ञाकारी भएर गए, जुन ठाउँ पछिबाट मात्रै उत्तराधिकारको रूपमा प्राप्‍त हुनेवाला थियो। यद्यपि तिनी कहाँ जानुपर्ने हो, सो थाहा थिएन। विश्‍वासैद्वारा परदेशीझैँ भएर तिनी प्रतिज्ञाको देशमा रहे, तिनी इसहाक र याकोबसँग पालमा बसे; जो तिनीजस्तै त्यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए। किनकि तिनले स्थायी जग भएको सहरलाई हेरिरहेका थिए, जसको रचनाकार र निर्माता परमेश्‍वर नै हुनुहुन्छ। साराको गर्भधारण गर्ने उमेर गइसकेको भए तापनि विश्‍वासैद्वारा तिनले गर्भधारण गर्ने क्षमता प्राप्‍त गरिन्; किनकि प्रतिज्ञा दिनुहुने विश्‍वासयोग्य हुनुहुन्छ भनी तिनले विश्‍वास गरिन्। यसरी नै यी एक जना मानिस, जो मरेतुल्य भए तापनि यिनैबाट आकाशका अनगन्ती ताराहरू र समुद्रका किनारका बालुवाझैँ असंख्य सन्तान भए। यी सबै मानिसहरू मृत्युसम्म विश्‍वासमै बाँचेका थिए। तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू पाएनन्, तर (विश्‍वासद्वारा) तिनीहरूले टाढैबाट देखेर स्वागत गरे; किनकि तिनीहरू यस संसारमा बिराना र परदेशी हुन् भनी तिनीहरूले मानिलिए। यस्ता कुराहरू गर्ने मानिसहरूले यो देखाउँछन्, कि तिनीहरूले त्यो देशको खोजी गरिरहेका छन्, जो तिनीहरूको आफ्नै थियो। यदि तिनीहरूले आफूले छोडेर आएको देश नै सम्झिरहेको भए, तिनीहरूलाई फर्किजाने मौका मिल्नेथियो। यसको सट्टामा तिनीहरूले त अझ उत्तम देश अर्थात् स्वर्गीय देशको प्रतीक्षा गरिरहेका थिए। यसकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुँ भन्‍न शर्माउनुभएन; किनकि उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार गरिदिनुभएको छ।

हिब्रूहरू 11 पढ्नुहोस्