YouVersion लोगो
खोज आइकन

उत्पत्ति 39:13-23

उत्पत्ति 39:13-23 NCV

जब योसेफले आफ्नो लुगा तिनकै हातमा छाडेर घरदेखि बाहिर भागेको तिनले देखिन्, तब तिनले आफ्ना घरका सेवकहरूलाई बोलाएर तिनीहरूलाई भनिन्, “हेर, यस हिब्रूलाई त हाम्रो बेइज्जत गर्न भनेर पो हामीकहाँ ल्याइएको रहेछ! त्यो मसँग सुत्नलाई यहाँ भित्र आयो, र म चिच्याएँ। जब म चिच्याएको त्यसले सुन्यो, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।” तिनले त्यो लुगा आफ्ना पति नआउन्जेल आफ्नै साथमा राखिन्। तब तिनले उनलाई यो घटना भनिन्: “तपाईंले ल्याउनुभएको त्यो हिब्रू सेवक मेरो इज्जत लुट्न भनी मकहाँ आयो। तर म जब सहायताको लागि चिच्याएँ, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।” जब उनका मालिकले आफ्नी पत्नीले, “तपाईंको दासले मसँग यस्तो व्यवहार गर्‍यो,” भनेको घटना सुने, तब तिनी रिसले चुर भए। योसेफका मालिकले तिनलाई राजाका कैदीहरू थुन्‍ने झ्यालखानामा लगेर हालिदिए। तर योसेफ त्यस झ्यालखानामा हुँदा, याहवेह तिनको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि दया देखाउनुभयो, र झ्यालखानाका हाकिमको दृष्‍टिमा तिनलाई निगाह प्राप्‍त गराइदिनुभयो। यसकारण झ्यालखानाका हाकिमले योसेफलाई झ्यालखानामा राखिएका सबैमाथि रेखदेख गर्ने जिम्मा दिए; अनि तिनलाई त्यहाँ गरिने सबै कुराहरूका जिम्मेवारी सुम्पिदिए। ती हाकिमले योसेफको जिम्मामा रहेका कुनै कुरामाथि पनि चिन्ता गर्दैनथिए; किनकि याहवेह योसेफसित हुनुहुन्थ्यो, र तिनले गरेका सबै कुरामा उहाँले तिनलाई सफलता दिनुभयो।

उत्पत्ति 39 पढ्नुहोस्