उत्पत्ति 39:13-23
उत्पत्ति 39:13-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब योसेफले आफ्नो लुगा तिनकै हातमा छाडेर घरदेखि बाहिर भागेको तिनले देखिन्, तब तिनले आफ्ना घरका सेवकहरूलाई बोलाएर तिनीहरूलाई भनिन्, “हेर, यस हिब्रूलाई त हाम्रो बेइज्जत गर्न भनेर पो हामीकहाँ ल्याइएको रहेछ! त्यो मसँग सुत्नलाई यहाँ भित्र आयो, र म चिच्याएँ। जब म चिच्याएको त्यसले सुन्यो, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।” तिनले त्यो लुगा आफ्ना पति नआउन्जेल आफ्नै साथमा राखिन्। तब तिनले उनलाई यो घटना भनिन्: “तपाईंले ल्याउनुभएको त्यो हिब्रू सेवक मेरो इज्जत लुट्न भनी मकहाँ आयो। तर म जब सहायताको लागि चिच्याएँ, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।” जब उनका मालिकले आफ्नी पत्नीले, “तपाईंको दासले मसँग यस्तो व्यवहार गर्यो,” भनेको घटना सुने, तब तिनी रिसले चुर भए। योसेफका मालिकले तिनलाई राजाका कैदीहरू थुन्ने झ्यालखानामा लगेर हालिदिए। तर योसेफ त्यस झ्यालखानामा हुँदा, याहवेह तिनको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि दया देखाउनुभयो, र झ्यालखानाका हाकिमको दृष्टिमा तिनलाई निगाह प्राप्त गराइदिनुभयो। यसकारण झ्यालखानाका हाकिमले योसेफलाई झ्यालखानामा राखिएका सबैमाथि रेखदेख गर्ने जिम्मा दिए; अनि तिनलाई त्यहाँ गरिने सबै कुराहरूका जिम्मेवारी सुम्पिदिए। ती हाकिमले योसेफको जिम्मामा रहेका कुनै कुरामाथि पनि चिन्ता गर्दैनथिए; किनकि याहवेह योसेफसित हुनुहुन्थ्यो, र तिनले गरेका सबै कुरामा उहाँले तिनलाई सफलता दिनुभयो।
उत्पत्ति 39:13-23 पवित्र बाइबल (NERV)
त्यस मानिसकि पत्नीले देखी उसको लुगा उसैको हातैमा थियो अनि यूसुफ घरदेखि बाहिर भागेर गए। यसर्थ उनले निश्चय गरी जे भएको थियो त्यस विषयमा झूटो प्रचार गर्नुपर्छ। ऊ बाहिरका मानिसहरूलाई बोलाउन गई। उनले भनी, “हेर, यो हिब्रू कमारा हाम्रो बेइज्जत गर्न यहाँ आएको थियो। ऊ भित्र आयो अनि मसित सुत्ने कोशिश गर्यो, तर म साह्रै चिच्याएँ। म चिच्चाएकोले गर्दा त्यो डरायो अनि यहाँबाट भाग्यो। तर उनले आफ्नो कोट मसितै छोडेर गयो।” यसकारण उनले आफ्नो लोग्ने घर फर्कुन्जेलसम्म त्यो लुगा आफूसँगै राखी। अनि उनले आफ्नो लोग्नेलाई त्यही कथा सुनाई। उनले भनिन, “तिमीले ल्याएको हिब्रू दासले मसित ब्यभिचार गरेर लज्जित पार्यो। जब ऊ मकहाँ आयो म चिच्चाएँ अनि त्यो भाग्यो तर त्यसले आफ्नो लुगा छोडेर गयो।” जति बेला यूसुफको मालिकले कथा सुने, तिनी साह्रै नै रिसाए। त्यहाँ एउटा झ्यालखाना थियो अनि त्यसमा राजाका शत्रुहरूलाई राखिन्थ्यो। पोतीफरले यूसुफलाई त्यही झ्यालखानामा राख्यो अनि यूसुफ त्यही बसिरह्यो। तर परमप्रभु यूसुफसित हुनुहुन्थ्यो। उहाँ सधैँ ऊसँग दयालु हुनुहुन्थ्यो। उहाँले अरू कैदीहरूको प्रमुख यूसुफलाई बनाए अनि एक रक्षकबाट गरिनु पर्ने प्रत्येक कुरो तिनलाई गर्न लगाए। रक्षकहरूका अधिकारीले झ्यालखानको सबै कुराहरूमा यूसुफमाथि विश्वास गर्थे। यस्तो यसकारण हुने भयो कारण परमप्रभुले यूसुफलाई सहायता गर्नुहुन्थ्यो। यूसुफले जे गर्थ्यो परमप्रभुले उसलाई सफल गराउनु हुन्थ्यो।
उत्पत्ति 39:13-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसरी आफ्ना लुगा छोडी योसेफ घरबाट भागेको देखी तिनले घरको चाकरहरूलाई बोलाएर भनिन्, “ल, यो हेर, मेरो स्वामीले ल्याएको यस हिब्रूले मेरो बेइज्जत गर्यो। त्यो मेरो कोठामा आएर जब्बरजस्ती मसित सुत्न खोज्यो। म जोडले चिच्च्याएँ।” म चिच्च्याएको सुनेर त्यो आफ्नो लुगा मेरो छेउमा छोडी भाग्यो। मालिक घर नआउञ्जेल तिनले योसेफको लुगा आफूसित राखिन्। त्यसपछि तिनले लोग्नेलाई त्यही कुरा सुनाइन्, “तपाईंले ल्याएको हिब्रू कमारोले मेरो कोठामा आएर मेरो बेइज्जती गर्यो। तर म चिच्च्याउँदा आफ्नो लुगा छेउमा छोडी त्यो बाहिर गयो।” योसेफका मालिक रिसले राँकिए। योसेफलाई पक्रेर तिनले राजाका कैदीहरू थुन्ने झ्यालखानमा हालिदिए। योसेफ झ्यालखानमा थुनुवा भएर बसे। तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो। उहाँले तिनलाई आशिष् दिनुभयो र झ्यालखानको अधिकृत उनीसित प्रसन्न भए। तिनले योसेफलाई अरू जम्मै कैदीहरूमाथि नायक खटाए र झ्यालखानमा हुने सबै काम उनको जिम्मा लाइदिए। योसेफको खटनमा हुने कामको लागि अधिकृतले केही फिक्री गर्नुपर्दैनथ्यो किनभने परमप्रभु योसेफसित हुनुहुन्थ्यो र उनले हात हालेको सबै काममा उनलाई सफल तुल्याउनुहुन्थ्यो।
उत्पत्ति 39:13-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योसेफले आफ्नो लुगा तिनकै हातमा छोड़ेर घरबाट निस्केका देखेर तिनले आफ्ना घरका नोकरहरूलाई बोलाएर भनिन्, “हेर, मेरा स्वामीले त यहाँ एक हिब्रू हाम्रो बेइज्जत गर्न ल्याउनुभएको रहेछ। त्यो मसित सुत्नलाई यहाँभित्र आयो, र म चिच्च्याएर कराएँ। म चिच्च्याएर कराएकी सुनी त्यसले आफ्नो लुगा मसँग छोड़ेर भाग्यो, र घरबाट बाहिर निस्क्यो।” तिनका पति घर नआउञ्जेल तिनले त्यो लुगा आफ्नै साथमा राखिन्, र उनी आएपछि तिनले यसो भनेर उही कुरा उनलाई पनि सुनाइन्, “हामीकहाँ तपाईंले ल्याउनुभएको त्यो हिब्रू नोकर मेरो बेइज्जत गर्नलाई यहाँ भित्र आयो। तर म चिच्च्याएर कराउने बित्तिकै त्यसले आफ्नो यो लुगा मकहाँ छोड़ी भागेर घरबाट निस्क्यो।” “तपाईंको नोकरले मसँग यस्तो व्यवहार गर्यो” भन्ने कुरा जब योसेफका मालिकले आफ्नी पत्नीको मुखबाट सुने तब उनी रीसले राँकिए। उनले योसेफलाई राजाका कैदीहरू थुनिने झ्यालखानमा लगेर हालिदिए। योसेफ त्यसरी झ्यालखानमा परे। तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि टिठ्याउनुभयो, अनि तिनलाई झ्यालखानका हाकिमको निगाहपात्र बनाउनुभयो। यसकारण झ्यालखानका हाकिमले त्यस झ्यालखानमा भएका सबै कैदीहरू योसेफको जिम्मामा राखिदिए। त्यहाँ जे-जे काम हुन्थ्यो ती सबै योसेफकै खटनमा हुन्थ्यो। योसेफको जिम्मामा राखिएको कुनै कुरामा पनि झ्यालखानका हाकिमले केही फिक्री गर्दैनथिए, किनभने परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो। योसेफले जे गरे तापनि परमप्रभुले तिनलाई त्यसमा सफल गराउनुहुन्थ्यो।