याकोब आफ्ना पिता परदेशी बनेर बसेको देश कनानमा बसे। याकोबका वंशको विवरण यही हो। योसेफ सत्र वर्षको जवान हुँदा तिनका दाजुहरूसँग भेडाबाख्राका बगालहरू चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको खबर आफ्ना बुबाकहाँ ल्याए। इस्राएलले योसेफलाई आफ्ना अरू छोराहरूभन्दा धेरै माया गर्थे; किनकि तिनी उनको बुढेसकालमा जन्मेका थिए; अनि तिनले उनका लागि एउटा राम्रो बुट्टेदार लबेदा बनाए। तिनका दाजुहरूले आफ्ना पिताले तिनलाई उनीहरूलाई भन्दा धेरै माया गरेको देखेर उनीहरूले तिनलाई घृणा गर्थे, र तिनीसँग नरम भएर बोल्दैनथे। योसेफले एउटा सपना देखे; अनि जब त्यो सपना तिनले आफ्ना दाजुहरूलाई सुनाए, तब उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले। तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्: हामी खेतमा अन्नका बिटाहरू बाँधिरहेका थियौँ; तब अकस्मात् मेरो बिटा उठेर सीधा खडा भयो; अनि तपाईंहरूका बिटाहरू मेरो बिटाका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।” यो सुनेर तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि शासन गर्न खोज्दैछस्? के तैँले साँच्चै नै हामीमाथि शासन गर्नेछस्?” अनि त्यो सपना र तिनले भनेका कुराको कारण उनीहरूले तिनलाई झन् धेरै घृणा गरे। त्यसपछि तिनले अर्को सपना देखे, र तिनले त्यो आफ्ना दाजुहरूलाई सुनाए। तिनले भने, “सुन्नुहोस्, मैले अर्को सपना देखेको छु; अनि यस पटक सूर्य, चन्द्र र एघार ताराहरूले मलाई दण्डवत् गरिरहेका थिए।” जब तिनले आफ्ना दाजुहरूलाई बताएझैँ त्यो सपना आफ्ना पितालाई पनि बताए; तब तिनका पिताले तिनलाई हप्काउँदै भने, “तैँले देखेको यो सपना कस्तो हो? के तेरी आमा र मैले अनि तेरा दाजुहरूले साँच्चै आएर तेरो सामु भुइँसम्मै निहुरेर तँलाई दण्डवत् गर्नुपर्ने हो?” तिनका दाजुहरू तिनीप्रति डाही भए; तर तिनका पिताले चाहिँ यस कुरालाई मनमै राखे। अब तिनका दाजुहरू आफ्ना पिताका बगाल चराउन शेकेमको नजिक गएका थिए। अनि इस्राएलले योसेफलाई भने, “तँलाई थाहै छ कि तेरा दाजुहरू शेकेमको नजिक बगालहरू चराउँदैछन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” तिनले भने, “हवस्, म जान्छु।” यसकारण इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र बगालहरू ठिक छन् कि छैनन्, अनि मकहाँ खबर लिएर आइज।” तब उनले तिनलाई हेब्रोनको बेँसीबाट पठाइदिए। जब योसेफ शेकेममा आइपुगे, एक जना मानिसले तिनलाई खेततिर यताउति घुमिरहेका देखे, र सोधे, “तिमी के खोज्दैछौ?” तिनले जवाफ दिए, “म मेरा दाजुहरूलाई खोज्दैछु। उनीहरूले बगाल कहाँ चराउँदैछन्, के तपाईं मलाई भन्न सक्नुहुन्छ?” ती मानिसले जवाफ दिए, “उनीहरू यहाँबाट गइसके। उनीहरूले हामी ‘दोतानमा जाऊँ’ भन्दै गरेका मैले सुनेको थिएँ।” यसकारण योसेफ आफ्ना दाजुहरूलाई खोज्दै गए, र उनीहरूलाई दोतानको नजिक भेट्टाए।
उत्पत्ति 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 37:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू