YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 37:1-17

उत्‍पत्ति 37:1-17 NNRV

याकूब आफ्‍ना बाबुले बसोबास गरेको कनान देशमा बस्‍थे। याकूबको वृत्तान्‍त यही हो। योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्‍ना पिताका पत्‍नीहरू बिल्‍हा र जिल्‍पाका छोराहरूको खराब व्‍यवहारको कुरा आफ्‍ना बुबाकहाँ ल्‍याए। आफ्‍नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्‍दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्‍ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए। तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्‍दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्‍मनी राखे र तिनीसँग राम्ररी बोल्‍दैनथे। एक पल्‍ट योसेफले एउटा सपना देखे। तिनले त्‍यो सपना आफ्‍ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन्‌ बढ़ी दुश्‍मनी राख्‍न लागे। तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्‍नुहोस्‌। हामीहरू खेतमा अन्‍नका बिटा बाँधिरहेका थियौं। मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्‍यसका चारैतिर जम्‍मा भएर मेरो बिटालाई दण्‍डवत्‌ गरे।” तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि राज्‍य गर्ने भइस्‌? के तेरो प्रभुत्‍व हामीमाथि हुने भयो?” अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन्‌ दुश्‍मनी राखे। तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, “सुन्‍नुहोस्, मैले अर्को सपना देखें। सूर्य, चन्‍द्र र एघार वटा ताराले मलाई दण्‍डवत्‌ गरिरहेका थिए।” जब तिनले आफ्‍ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्‍काएर भने, “तैंले देखेको यो सपना के हो? के साँच्‍ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भूइँसम्‍मै झुकेर तँलाई ढोग्नुपर्ने?” तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे। एक पल्‍ट तिनका दाजुहरू आफ्‍ना बुबाका बगालहरू शकेममा चराउन गएका थिए। र इस्राएलले योसेफलाई भने, “तेरा दाजुहरू शकेममा भेड़ाहरू चराइरहेका छन्‌। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” योसेफले भने, “म तयार छु।” इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र भेड़ाबाख्राहरू राम्रै छन्‌ कि छैनन्‌। अनि मकहाँ समाचार ले।” तब इस्राएलले तिनलाई हेब्रोनको बेँसीबाट शकेममा पठाए। योसेफ त्‍यहाँ आइपुगेपछि एक जना मानिसले तिनलाई खेतमा डुलिरहेका भेट्टायो। त्‍यस मानिसले तिनलाई सोध्‍यो, “तिमी कसलाई खोज्‍दैछौ?” तिनले भने, “म मेरा दाजुहरूलाई खोज्‍दैछु। दया गरी मलाई भन्‍नुहोस्, उनीहरू बगाल कहाँ चराउँदैछन्‌?” त्‍यस मानिसले भन्‍यो, “उनीहरू त यहाँबाट गए, किनभने उनीहरूले ‘हामी दोतानतिर जाऔं’ भनिरहेका मैले सुनेको थिएँ।” यसैले आफ्‍ना दाजुहरूलाई खोज्‍दैगएर योसेफले उनीहरूलाई दोतानमा भेट्टाए।