उत्पत्ति 37:1-17
उत्पत्ति 37:1-17 पवित्र बाइबल (NERV)
याकूब रोकियो अनि कनान देशमा बस्न थाल्यो। यो त्यही देश हो जहाँ उसको बाबु बसेको थियो। याकूबको परिवारको कथा यही हो। यूसुफ सत्र बर्षको युवक थियो। उसको काम भेंडा-बाख्रा हेरचाह गर्नु थियो। उनले यो काम आफ्नो दाज्यू-भाइ र जिल्पा र बिल्हाका छोराहरूसित गर्यो। (जिल्पा र बिल्हा उसको बुबाकी उप-पत्नीहरू थिए।) यूसुफ आफ्नो बुबालाई उसका दाज्यूहरूले गरेका सबै दुष्टकर्मको विषयमा जानकारी दिने गर्दथ्यो। इस्राएल बूढो भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इस्राएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्तै राम्रो कोट दियो। यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाएँ कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अप्ठ्यारो गर्द थिए। एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले। यूसुफले भने, “मैले एउटा सपना देखें। हामीहरू सबै खेतमा काम गर्दैथियौ। हामीहरू सबैले मिलेर गहुँको बिटा बाँध्दै थिर्यो। मैले बाँधेको बिटा अनि तिमीहरूले बाँधेको बिटाहरूले मेरो बिटालाई चारै तिरबाट घेर्यो। त्यसपछि तिमीहरूको बिटाले मेरो बिटालाई निहुरिएर ढोग्यो।” यूसुफका दाज्यू-भाइहरूले भने, “के यसको अर्थ, तँ राजा हुन्छस् अनि हामीहरू सबैलाई शासन गर्छस्?” उसको दाज्यू-भाइहरूले ऊ माथि अझै धेरै घृणा गर्न थाले, कारण तिनीहरूको विषयमा उसले सपना देखेको थियो। तब फेरि यूसुफले अर्को सपना देख्यो। यूसुफले यस सपना बारेमा पनि आफ्नो दाज्यू-भाइहरूलाई बतायो। उनले भने, “मैले अर्को सपना देखें। मैले घाम, जुन र एघार नक्षत्रहरूले मलाई ढोग गर्दै गरेको देखें।” उनले आफ्नो बाबुलाई पनि त्यस सपना बारे भन्यो। तर उसको बाबुले त्यो सपनाको विषयमा आलोचना गरे। उसका बाबुले भने, “यो कस्तो प्रकारको सपना हो? के तँलाईं विश्वास हुन्छ तेरी आमा, तेरो दाज्यू-भाइहरू अनि म तँलाई ढोग्छौं।” यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ? एक दिन यूसुफका आफ्ना दाज्यू-भाइहरू आफ्ना बाबुका भेंडाहरूको हेरचाह गर्न शकेम गए। याकूबले यूसुफलाई भने, “शकेम जा! तेरा दाज्यू-भाइहरूले मेरो भेंडाहरू हेरचाह गर्दैछन्।” यूसुफले भने, “म जानेछु।” यूसुफका बाबुले भने, “तेरा दाज्यू-भाइहरू सुरक्षित छन् या छैनन् यसो हेर। फर्की आएर मलाई भन मेरा भेंडाहरू राम्रै छन् या छैनन्।” यसर्थ यूसुफका बाबुले उसलाई हेब्रोन बेंसीबाट शकेम पठाए। शकेममा यूसुफ हरायो। एक जना मानिसले उसलाई खेतमा हिंडिरहेको भेट्टायो। त्यस मानिसले भने, “के खोजिरहेको छस्?” यूसुफले उत्तर दियो, “म मेरा दाज्यू-भाइहरू खोज्दैछु। के तिमीले भन्न सक्छौ तिनीहरू भेंडाहरूसित कहाँ छन्?” त्यस मानिसले भने, “तिनीहरू गईसके। तिनीहरू दोतान जाँदै गरेको कुरा मैले सुने।” यसर्थ यूसुफ उनीहरू गए तिरै गए अनि तिनीहरूलाई दोतानमा भेट्टायो।
उत्पत्ति 37:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
याकूब आफ्ना बाबुले बसोबास गरेको कनान देशमा बस्थे। याकूबको वृत्तान्त यही हो। योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको कुरा आफ्ना बुबाकहाँ ल्याए। आफ्नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए। तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्मनी राखे र तिनीसँग राम्ररी बोल्दैनथे। एक पल्ट योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन् बढ़ी दुश्मनी राख्न लागे। तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्। हामीहरू खेतमा अन्नका बिटा बाँधिरहेका थियौं। मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्यसका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।” तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि राज्य गर्ने भइस्? के तेरो प्रभुत्व हामीमाथि हुने भयो?” अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन् दुश्मनी राखे। तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, “सुन्नुहोस्, मैले अर्को सपना देखें। सूर्य, चन्द्र र एघार वटा ताराले मलाई दण्डवत् गरिरहेका थिए।” जब तिनले आफ्ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्काएर भने, “तैंले देखेको यो सपना के हो? के साँच्ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भूइँसम्मै झुकेर तँलाई ढोग्नुपर्ने?” तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे। एक पल्ट तिनका दाजुहरू आफ्ना बुबाका बगालहरू शकेममा चराउन गएका थिए। र इस्राएलले योसेफलाई भने, “तेरा दाजुहरू शकेममा भेड़ाहरू चराइरहेका छन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” योसेफले भने, “म तयार छु।” इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र भेड़ाबाख्राहरू राम्रै छन् कि छैनन्। अनि मकहाँ समाचार ले।” तब इस्राएलले तिनलाई हेब्रोनको बेँसीबाट शकेममा पठाए। योसेफ त्यहाँ आइपुगेपछि एक जना मानिसले तिनलाई खेतमा डुलिरहेका भेट्टायो। त्यस मानिसले तिनलाई सोध्यो, “तिमी कसलाई खोज्दैछौ?” तिनले भने, “म मेरा दाजुहरूलाई खोज्दैछु। दया गरी मलाई भन्नुहोस्, उनीहरू बगाल कहाँ चराउँदैछन्?” त्यस मानिसले भन्यो, “उनीहरू त यहाँबाट गए, किनभने उनीहरूले ‘हामी दोतानतिर जाऔं’ भनिरहेका मैले सुनेको थिएँ।” यसैले आफ्ना दाजुहरूलाई खोज्दैगएर योसेफले उनीहरूलाई दोतानमा भेट्टाए।
उत्पत्ति 37:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याकोब आफ्ना पिता परदेशी बनेर बसेको देश कनानमा बसे। याकोबका वंशको विवरण यही हो। योसेफ सत्र वर्षको जवान हुँदा तिनका दाजुहरूसँग भेडाबाख्राका बगालहरू चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको खबर आफ्ना बुबाकहाँ ल्याए। इस्राएलले योसेफलाई आफ्ना अरू छोराहरूभन्दा धेरै माया गर्थे; किनकि तिनी उनको बुढेसकालमा जन्मेका थिए; अनि तिनले उनका लागि एउटा राम्रो बुट्टेदार लबेदा बनाए। तिनका दाजुहरूले आफ्ना पिताले तिनलाई उनीहरूलाई भन्दा धेरै माया गरेको देखेर उनीहरूले तिनलाई घृणा गर्थे, र तिनीसँग नरम भएर बोल्दैनथे। योसेफले एउटा सपना देखे; अनि जब त्यो सपना तिनले आफ्ना दाजुहरूलाई सुनाए, तब उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले। तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्: हामी खेतमा अन्नका बिटाहरू बाँधिरहेका थियौँ; तब अकस्मात् मेरो बिटा उठेर सीधा खडा भयो; अनि तपाईंहरूका बिटाहरू मेरो बिटाका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।” यो सुनेर तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि शासन गर्न खोज्दैछस्? के तैँले साँच्चै नै हामीमाथि शासन गर्नेछस्?” अनि त्यो सपना र तिनले भनेका कुराको कारण उनीहरूले तिनलाई झन् धेरै घृणा गरे। त्यसपछि तिनले अर्को सपना देखे, र तिनले त्यो आफ्ना दाजुहरूलाई सुनाए। तिनले भने, “सुन्नुहोस्, मैले अर्को सपना देखेको छु; अनि यस पटक सूर्य, चन्द्र र एघार ताराहरूले मलाई दण्डवत् गरिरहेका थिए।” जब तिनले आफ्ना दाजुहरूलाई बताएझैँ त्यो सपना आफ्ना पितालाई पनि बताए; तब तिनका पिताले तिनलाई हप्काउँदै भने, “तैँले देखेको यो सपना कस्तो हो? के तेरी आमा र मैले अनि तेरा दाजुहरूले साँच्चै आएर तेरो सामु भुइँसम्मै निहुरेर तँलाई दण्डवत् गर्नुपर्ने हो?” तिनका दाजुहरू तिनीप्रति डाही भए; तर तिनका पिताले चाहिँ यस कुरालाई मनमै राखे। अब तिनका दाजुहरू आफ्ना पिताका बगाल चराउन शेकेमको नजिक गएका थिए। अनि इस्राएलले योसेफलाई भने, “तँलाई थाहै छ कि तेरा दाजुहरू शेकेमको नजिक बगालहरू चराउँदैछन्। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।” तिनले भने, “हवस्, म जान्छु।” यसकारण इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र बगालहरू ठिक छन् कि छैनन्, अनि मकहाँ खबर लिएर आइज।” तब उनले तिनलाई हेब्रोनको बेँसीबाट पठाइदिए। जब योसेफ शेकेममा आइपुगे, एक जना मानिसले तिनलाई खेततिर यताउति घुमिरहेका देखे, र सोधे, “तिमी के खोज्दैछौ?” तिनले जवाफ दिए, “म मेरा दाजुहरूलाई खोज्दैछु। उनीहरूले बगाल कहाँ चराउँदैछन्, के तपाईं मलाई भन्न सक्नुहुन्छ?” ती मानिसले जवाफ दिए, “उनीहरू यहाँबाट गइसके। उनीहरूले हामी ‘दोतानमा जाऊँ’ भन्दै गरेका मैले सुनेको थिएँ।” यसकारण योसेफ आफ्ना दाजुहरूलाई खोज्दै गए, र उनीहरूलाई दोतानको नजिक भेट्टाए।
उत्पत्ति 37:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्ना बुबाको देश कनानमा याकूब बसिरहे। तिनको परिवारको कथा यस्तो छ: योसेफ सत्र वर्षको हुँदाआफ्ना दाजुहरूसँग भेडा-बाख्राको हेरचाहा गर्थे। ती दाजुहरू आफ्ना बुबाका रखेल बिल्हा र जिल्पाका छोराहरू थिए। दाजुहरूले बिगार गरेका कुराको खबर उनले बुबाकहाँ पुर्याउँथे। याकूबले योसेफलाई अरू सबै छोराहरूभन्दा धेरै माया गर्थे किनभने उनी तिनका बुढेसकालका छोरा थिए। उनले योसेफको लागि एउटा पूरा बाहुला भएको लामो लबेदा बनाइदिए। बुबाले तिनीहरूलाई भन्दा योसेफलाई बढी माया गर्छन् भनी थाहा पाएपछि तिनका दाजुहरूले तिनलाई घृणा गर्न थाले। तिनीहरू उनीसित राम्ररी बोल्दैनथे। एक रात योसेफले सपना देखे र त्यो सपना दाजुहरूलाई बताएपछि तिनीहरूले उनलाई अझै बढी घृणा गर्न लागे। उनले भने, “मेरो सपना सुन। हामी सबै खेतमा गहुँका बिटाहरू बाँध्दै थियौं। तब मेरो बिटा उभिएर सोझो भई खडा भए। तिमीहरूका बिटाहरूचाहिँ त्यसका चारैपट्टि उभिएर त्यसलाई ढोग्दै थिए।” “तँ राजा भएर हामीहरूमाथि राज गर्छु भनी सोच्दछस्?” तिनका दाजुहरूले सोधे। यसरी उनको सपना र उनले तिनीहरूबारे भनेका कुराहरूले गर्दा तिनीहरूले उनलाई अझ बढी घृणा गर्न लागे। योसेफले अर्को एउटा सपना देखे र दाजुहरूलाई भने, “मैले अर्को एउटा सपना देखें। सपनामा घाम, जून र एघार वटा ताराहरूले मलाई ढोगेको देखें।” उनले त्यो सपना बुबालाई पनि सुनाए। बुबाले उनलाई हकारे, “त्यो कस्तो खालको सपना हो? के तँ यो सोच्दछस् कि तेरा दाजुहरू, तेरी आमा र म आएर तँलाई ढोग्नेछौं?” योसेफका दाजुहरूले उनलाई डाहा गर्न थाले तर बुबाचाहिँले यी सबै कुरा मनमै राखे। एक दिन दाजुहरू बुबाका भेडा-बाख्राका बथान चराउन शकेममा गएका बेलामा याकूबले योसेफलाई भने, “म चाहन्छु कि तँ शकेममा तेरा दाजुहरूले भेडा चराएको ठाउँमा जा।” योसेफले उत्तर दिए, “म तयार छु।” बुबाले भने, “गएर तेरा दाजुहरू कुशल छन् कि छैनन्, भेडा-बाख्राहरू ठीक छन् कि छैनन्, हेरेर आइज र मलाई भन्।” यसरी बुबाले उनलाई हेब्रोनको बेसीबाट पठाए। योसेफ शकेममा पुगे र बनमा डुल्दै गर्दा एउटा मानिसले भेटेर उनलाई सोध्यो, “तिमी के खोज्दै छौ?” “मेरा आफ्ना दाजुहरूलाई खोज्दै छु, तिनीहरूले भेडा चराउँछन्,” उनले उत्तर दिए, “तिनीहरू कहाँ छन्, के तपाईंले मलाई भन्न सक्नुहुन्छ?” त्यस मानिसले भन्यो, “तिनीहरू यहाँबाट अघि नै गइसके। तिनीहरूले हामी दोतानतिर जाऔं भनेको कुरा मैले सुनें।” योसेफ दाजुहरूलाई खोज्दै गए र तिनीहरूलाई दोतानमा भेटे।