YouVersion लोगो
खोज आइकन

उत्पत्ति 17:1-14

उत्पत्ति 17:1-14 NCV

अब्राम उनान्सय वर्ष पुग्दा याहवेह तिनीकहाँ प्रकट हुनुभयो र भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ; विश्‍वासयोग्य र निर्दोष भएर मेरो अगि हिँड्। अनि म मेरो करार तेरो र मेरो बीचमा बाँध्नेछु, र तेरा सन्तानहरूलाई अत्यन्तै बढाउनेछु।” त्यसपछि अब्राम घोप्टो परे; तब परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “हेर्, मेरो करार तँसित यही हुनेछ, तँ धेरै जातिहरूका पिता हुनेछस्। अब उसो तँलाई अब्राम भनिनेछैन; तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु। म तँलाई धेरै फलवन्त बनाउनेछु; अनि तँबाट नै जाति-जातिहरू बनाउनेछु, र तँबाट राजाहरू निस्कनेछन्। म मेरो करारलाई तेरो र मेरो, र तँपछिका तेरा सन्तानहरूको बीचमा आउने पुस्ताका निम्ति अनन्तको करार स्थापित गर्नेछु। अनि म तँ र तँपछि आउने तेरो सन्तानका परमेश्‍वर हुनेछु। तँ र तेरा पछिका सन्तानहरूलाई अहिले तँ प्रवासी भएर बसेको सम्पूर्ण कनान देश, अनन्तको सम्पत्तिको रूपमा दिनेछु; र म तिनीहरूका परमेश्‍वर हुनेछु।” तब परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरो विषयमा चाहिँ, तँ र तँपछिका तेरा सन्तानहरूले आउने पुस्तौँ-पुस्तासम्म मेरो करार पालन गर्नुपर्छ। मेरो र तेरो, साथै तँपछिका तेरा सन्तानहरूसित मेरो करार यही हो, अर्थात् तिमीहरूले पालन गर्नुपर्ने करार: तिमीहरूका प्रत्येक पुरुषको खतना हुनुपर्छ। तिमीहरूका खलडीको खतना हुनुपर्छ, र योचाहिँ तँसित बाँधिएको मेरो करारको चिन्ह हुनेछ। अनि आउने पुस्तौँ-पुस्तासम्म तिमीहरूको बीचमा आठ दिन भएको प्रत्येक पुरुषको खतना हुनैपर्छ। तेरा घरानामा जन्मेका अथवा विदेशीहरूबाट रुपियाँपैसा दिएर किनिएका—जो तेरा आफ्नै सन्तान होइनन्, चाहे तेरा घरानामा जन्मेका होऊन्, अथवा तेरा पैसाले किनेका होऊन्, तिनीहरू सबैको खतना हुनैपर्छ। तेरो शरीरमा गरिएको मेरो करार अनन्तको करार हुनेछ। खतना नगरिएको कुनै पनि पुरुष, जसको शरीरमा खलडीको खतना भएको छैन, त्यो व्यक्ति आफ्ना जातिहरूबाट बहिष्कृत गरिनेछ; किनकि त्यसले मेरो करार भङ्ग गरेको छ।”

उत्पत्ति 17 पढ्नुहोस्