YouVersion लोगो
खोज आइकन

गलाती 5

5
ख्रीष्‍टमा स्वतन्त्रता
1स्वतन्त्रताको निम्ति ख्रीष्‍टले हामीलाई स्वतन्त्र तुल्याउनुभयो। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार।
2मेरो कुरामा ध्यान देओ। म पावल, तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले खतना गर्‍यौ भने ख्रीष्‍ट तिमीहरू सबैको निम्ति मूल्यहीन ठहरिनुहुनेछ। 3म फेरि पनि खतना गर्ने सबै मानिसलाई भन्दछु, जसले आफूलाई खतना गराउँछ, ऊ सबै व्यवस्था पालन गर्न बाध्य हुनेछ। 4तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट पतित भएका छौ। 5तर परमेश्‍वरका आत्माबाट हामी उत्कट इच्छासहित विश्‍वासद्वारा धार्मिकताको आशाको प्रतीक्षा गर्दछौं। 6किनकि ख्रीष्‍ट येशूमा विश्‍वास गर्नेहरूलाई खतना होस् वा बेखतनाको होस्, कुनै मूल्य छैन, तर प्रेमद्वारा व्यक्‍त गरिने त्यो एउटा विश्‍वासको मात्र मूल्य छ।
7तिमीहरूले राम्रो दौड दौडिरहेका थियौ; तर कसले तिमीहरूलाई सत्य पालना गर्नदेखि अलग गराई बाधा पुर्‍यायो? 8परमेश्‍वरबाट यो उक्साउने काम भएको होइन, जसले तिमीहरूलाई बोलाउनुहुन्छ। 9“थोरै खमीरले जम्मै पीठोको ढिकालाई खमीरी बनाइदिन्छ।” 10म प्रभुमा विश्‍वस्त छु, कि तिमीहरूले योबाहेक अर्को विचार अपनाउने छैनौ। तिमीहरूलाई अन्योलमा पार्ने जोसुकै होस्, त्यसले मूल्य चुकाउनुपर्नेछ। 11दाजुभाइ-दिदीबहिनीहरूहो, यदि मैले अझै पनि खतनाकै बारेमा प्रचार गरिरहेको छु भने किन म अझै सताइएको छु त? यसो हो भने क्रूसको बाधा हटाइएको छ। 12तिमीहरूलाई विचलित पार्नेहरू, बरु तिनीहरूका त्यो अङ्ग नै काटिए पनि हुनेथियो।
आत्माबाटको जीवन
13मेरा दाजुभाइ-दिदीबहिनीहरू, तिमीहरू स्वतन्त्र हुनालाई बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर। 14किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: “तिमीले आफ्नो छिमेकीहरूलाई आफूलाई झैं प्रेम गर।”#5:14 लेवी 19:18 15तर यदि तिमीहरू एउटाले अर्कालाई टोक्ने र निल्ने गर्छौ भने ता होसियार होओ, नत्र ता तिमीहरू एक-अर्काबाटै नष्‍ट हुनेछौं।
16यसकारण म भन्दछु, आत्माको नियन्त्रणमा बाँच, र तिमीहरू शरीरको पाप-स्वभावको लालसामा नपर, 17किनकि पापमय स्वभावले परमेश्‍वरको आत्माको विरुद्ध चाहना गर्दछ; र परमेश्‍वरको आत्माले पापमय स्वभावको विरुद्धमा। तिनीहरू एक-अर्काको विरुद्धमा हुन्छन्, यसैकारण तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले नगर। 18तर यदि तिमी परमेश्‍वरको आत्माद्वारा डोर्‍याइएका हौ भने ता तिमीहरू व्यवस्थाको अधीनतामा हुँदैनौ।
19पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्: यौन अनैतिकता, अपवित्रता र भ्रष्‍ट आचरण 20मूर्तिपूजा र जादूटुना, घृणा, कलह, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, मतभिन्‍नता, गुटबन्दी, 21अनि डाह; मतवालापन, मोजमज्जा र यस्तै अरू कुराहरू। मैले पहिला गरेजस्तै, अहिले पनि चेतावनी दिँदछु, कि जो व्यक्‍ति यस प्रकारले जिउँदछ, ऊ परमेश्‍वरको राज्यको उत्तराधिकारी हुँदैन।
22तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वासयोग्यता, 23नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन। 24जो ख्रीष्‍ट येशूका हुन्, उनीहरूले शरीरको पाप-स्वभावलाई यसका अभिलाषा र लालचसहित क्रूसमा टाँगिदिएका छन्। 25किनकि हामी आत्माअनुसार जिउँछौं भने आत्माको नियन्त्रणअनुसार नै चलौं। 26हामी अहङ्कारी नहोऔं, एउटाले अर्कालाई रिस नउठाऔं, र एउटाले अर्कोको ईर्ष्या नगरौं।

अहिले सेलेक्ट गरिएको:

गलाती 5: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्