गलाती 4
4
1म तिमीहरूलाई के भनिरहेको छु भने, जबसम्म उत्तराधिकारी नाबालक रहन्छ, ऊ सबै थोकको मालिक भए तापनि ऊ कुनै सेवकभन्दा फरक हुँदैन। 2तर उसको बुबाले तोकेको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनतामा रहन्छ। 3त्यसै गरी हामीहरू पनि जब नाबालकै थियौं, हामी संसारका आधारभूत सिद्धान्तहरूको दासत्वमा थियौं। 4तर जब तोकिएको पूर्ण समय आयो, परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनतामा जन्मनुभयो। 5व्यवस्थाका अधीनतामा हुनेहरूलाई मोल तिरेर छुटाउन, अनि हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो। 6किनकि तिमीहरू उहाँका पुत्रहरू हौ, परमेश्वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाउनुभयो। त्यही आत्माले उहाँलाई, “अब्बा,#4:6 आरामाईक भाषामा बुबा पिता” भनी बोलाउनुहुन्छ। 7यसकारण अब उप्रान्त तिमी सेवक होइनौ, तर परमेश्वरका पुत्र हौ; अनि तिमी उहाँको पुत्र हौ भने ता परमेश्वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुभएको हो।
गलातीहरूको निम्ति पावलको चिन्ता
8जब अघि तिमीहरूले परमेश्वरलाई चिन्दैनथ्यौ, तिमीहरू ती कुराहरूका सेवक थियौ, जो वास्तवमा देवताहरू नै होइनन्। 9तर अहिले तिमीहरूले परमेश्वरलाई चिन्दछौ, अथवा परमेश्वरले तिमीहरूलाई चिन्नुहुन्छ, तब किन तिमीहरू फेरि फर्केर ती व्यर्थ र आधारभूत सिद्धान्तहरूतर्फ लाग्दछौ? के तिमीहरू फेरि पनि ती सबै कुराहरूको सेवक हुन चाहन्छौ? 10तिमीहरूले विशेष दिनहरू, महिनाहरू, ऋतुहरू र वर्षहरू मान्दछौ! 11मैले तिमीहरूको निम्ति गरेको परिश्रम व्यर्थ भयो कि भनी डर लागिरहेको छ।
12दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूसँग विन्ती गर्दछु, कि तिमीहरू मजस्तै होओ, जसरी म तिमीहरूजस्तै भएँ। तिमीहरूले मलाई केही हानि गरेका छैनौ। 13तिमीहरू जान्दछौ कि, पहिला बिरामी अवस्थामा मैले तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ। 14यद्यपि मेरो बिरामी अवस्था तिमीहरूको निम्ति एउटा परीक्षा थियो, तापनि तिमीहरूले मलाई न बेवास्ता, न ता तिरस्कार नै गर्यौ; तर तिमीहरूले मलाई परमेश्वरको दूतलाई झैं अथवा ख्रीष्ट येशूलाई झैं स्वागत गर्यौं। 15मसँगको तिमीहरूको त्यो आनन्द अहिले कता गयो? म गवाही दिन सक्छु, कि यदि सम्भव भएको भए, तिमीहरूका आँखासमेत झिकेर मलाई दिनेथियौ। 16मैले तिमीहरूसँग सत्य बोलेर के म अब तिमीहरूको शत्रु भएँ?
17ती यहूदी अगुवाहरू डाहको कारण तिमीहरूको मन जित्न खोजिरहेका छन्, तर असल विचारले त होइन। तिनीहरूले तिमीहरूलाई हामीबाट अलग पार्न मात्र चाहन्छन्, ताकि तिमीहरू उनीहरूको निम्ति जोशिलो हुन सक। 18असल उद्देश्यसहित र सधैं जोशिलो हुनु राम्रो हो; तर म तिमीहरूसँग हुँदा मात्र होइन, तर सधैंभरि त्यस्तै होस्। 19हे मेरा प्रिय बालबालिकाहरूहो, जबसम्म तिमीहरू ख्रीष्ट जस्तै बनिदैनौ, म फेरि प्रसव वेदनामा परेकी स्त्रीझैं हुन्छु। 20अहिले म तिमीहरूसँग कसरी रहूँ, र मेरो बोल्ने तरिका कसरी बदलौं, किनकि म तिमीहरूका विषयमा व्याकुल छु।
हागार र सारा
21मलाई भन, तिमीहरूको व्यवस्थाको अधीनतामा रहन चाहन्छौ, के तिमीहरूलाई थाहा छैन व्यवस्थाले के भन्छ? 22धर्मशास्त्रमा यसरी लेखिएको छ कि, अब्राहामका दुई छोराहरू थिए, एउटा सेविका स्त्रीबाट जन्मेको, अनि अर्को स्वतन्त्र स्त्रीबाट जन्मेको। 23सेविकाबाट जन्मेको उसको छोरो मानवीय इच्छाअनुसार जन्मेको थियो, तर स्वतन्त्र स्त्रीबाट जन्मेको चाहिँ ईश्वरीय प्रतिज्ञाको प्रतिफल थियो।
24यो कुराहरूलाई काल्पनिक रूपमा लिइएको छ: दुई स्त्रीहरूले दुईओटा करारलाई प्रतिनिधित्व गर्दछन्। एउटा करारचाहिँ सीनै पर्वतबाट हो, र यसले दासत्वको निम्ति जन्मिएका सन्तानलाई प्रतिनिधित्व गर्दछ, यो हागार हो। 25अहिले हागारचाहिँ अरब देशमा भएको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्यसको तुलना गर्न सकिन्छ, किनकि त्यो आफ्ना सन्तानका साथ दासत्वमा छे। 26तर सारा स्वर्गीय यरूशलेमकी प्रतीक हुन्, जो स्वतन्त्र छिन्, उनी हाम्री आमा हुन्। 27किनकि धर्मशास्त्रमा लेखिएको छ:
“हे बाँझी स्त्री, आनन्द गर,
तिमी जसले कहिल्यै बच्चा जन्माएकी छैनौ;
आनन्दसाथ र चर्को सोरमा कराऊ;
हे प्रसव वेदना कहिल्यै थाहा नपाउने तिमी;
किनकि पति हुने स्त्रीको भन्दा
त्यागिएकी स्त्रीकै सन्तानहरू धेरै छन्।”#4:27 यशै 54:1
28अब हे दाजुभाइ-दिदीबहिनीहरूहो, हामी पनि इसहाकजस्तै प्रतिज्ञाका सन्तानहरू हौ। 29त्यस समय मानवीय इच्छाअनुसार जन्मेको पुत्रले प्रतिज्ञाको प्रतिफलद्वारा#4:29 मूल भाषामा आत्माको शक्ति जन्मेको पुत्रलाई जसरी खेदो गर्दथ्यो, अहिले पनि त्यस्तै छ। 30तर धर्मशास्त्रले के भन्छ? “त्यस सेविका स्त्री र त्यसको छोरालाई हटाओ, किनकि सेविकाको छोरा कहिल्यै पनि स्वतन्त्र स्त्रीको छोरासँग उत्तराधिकारी हुन सक्दैन।”#4:30 उत्प 21:10 31यसकारण प्रिय दाजुभाइ-दिदीबहिनीहरूहो, हामी सेविका स्त्रीका सन्तानहरू होइनौ, तर स्वतन्त्र स्त्रीका सन्तानहरू हौं।
अहिले सेलेक्ट गरिएको:
गलाती 4: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.