YouVersion लोगो
खोज आइकन

प्रस्थान 9:8-26

प्रस्थान 9:8-26 NCV

फेरि याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, “भट्टीबाट आ-आफ्ना हातमा खरानी लेओ, र मोशाले फारोको उपस्थितिमा त्यो हावामा छरिदेओस्। त्यो इजिप्ट देशभरि मसिनो धुलो बन्‍नेछ, र इजिप्ट देशभरिका मानिसहरू र पशुहरूमा पाक्ने खटिरा निस्कनेछ।” तब तिनीहरू भट्टीबाट खरानी लिएर फारोको सामु खडा भए। मोशाले त्यसलाई हावामा छरिदिए; अनि मानिसहरू र पशुहरूमा पाक्ने खटिरा निस्के। ती खटिराहरू जादुगरहरू र सारा इजिप्टियनहरूमाथि भएका कारण ती जादुगरहरू मोशाको सामु खडा हुन सकेनन्। तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो, र याहवेहले मोशालाई भन्‍नुभएझैँ तिनले मोशा र हारूनका कुरा सुनेनन्। फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठ्, र फारोलाई भन्, ‘याहवेह, हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्, नत्रता यस पटक म मेरो पूरा शक्तिसाथ विपत्तिहरू तँमाथि, तेरा अधिकारीहरू, तेरा मानिसहरूका विरुद्धमा पठाउनेछु; र तिमीहरूले सारा पृथ्वीमा मजस्तो अरू कोही छैन भनी जान्‍नेछौ। किनकि अहिले सम्ममा मैले आफ्नो हात पसारेर तँलाई र तेरा मानिसहरूमाथि विपत्तिले प्रहार गर्न सक्नेथिएँ, जसले पृथ्वीबाट तिमीहरूको नामनिशानै मेटिदिनेथियो। तर मैले त आफ्नो शक्ति तँलाई देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस् भन्‍ने उद्देश्यले तँलाई खडा गरेको छु। तैँले त अझ पनि मेरा मानिसहरूलाई जान नदिनका लागि तिनीहरूको विरुद्धमा आफूलाई खडा गरेको छस्। यसकारण भोलि यही समयमा म यस्तो भयानक असिना पठाउनेछु; जुन इजिप्ट देश स्थापित भएको समयदेखि अहिलेसम्म कहिल्यै खसेको छैन। यसकारण तेरा गाईबस्तुहरू, तेरा खेतमा भएका हरेक कुरा सुरक्षित ठाउँमा ल्याउन भनी अहिले हुकुम दे; किनकि भित्र नल्याइएका, र खेतमै रहेका प्रत्येक मानिस र पशुमाथि असिना बर्सनेछ, र ती मर्नेछन्।’ ” याहवेहको वचनदेखि डराउने फारोका अधिकारीहरूले आफ्ना सेवकहरू र पशुहरूलाई भित्र ल्याउन हतार गरे। तर याहवेहको वचनको अवहेलना गर्नेहरूले आफ्ना सेवक र पशुहरू खेतमै छोडिराखे। तब याहवेहले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्ट देशमाथि, मानिसहरूमाथि, पशुहरूमाथि र इजिप्टको खेतमा बढ्दै गरेको प्रत्येक कुरामाथि असिना परोस्।” जब मोशाले आफ्नो लहुरो आकाशतिर पसारे, तब याहवेहले गर्जन र असिना पठाउनुभयो; अनि बिजुली चम्केर जमिनसम्मै पर्‍यो। यसरी याहवेहले इजिप्टमा असिना बर्साउनुभयो। असिना पर्‍यो र बिजुली जताततै चम्क्यो। इजिप्ट एउटा राष्ट्र बनेको दिनदेखि यता यस्तो प्रकारको असिना कहिल्यै परेको थिएन। समस्त इजिप्टमा असिनाले खेतमा भएका सबै थोक, मानिसहरू र पशुहरू दुवैलाई प्रहार गर्‍यो; यसले खेतमा बढिरहेका सबै घाँसलाई चुट्यो, र प्रत्येक रूखलाई नाङ्गो बनाइदियो। इस्राएलीहरू बसेका गोशेनको प्रान्तमा मात्र असिना परेको थिएन।

प्रस्थान 9 पढ्नुहोस्