YouVersion लोगो
खोज आइकन

प्रस्थानको पुस्तक 9:8-26

प्रस्थानको पुस्तक 9:8-26 NERV

परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “चुल्हाको खरानी हत्केलाभरी लेऊ। मोशा, फिरऊन अधि त्यो खरानी हावामा उडाईदेऊ। त्यो धूलो बनिन्छ र मिश्रको भूमिमाथि उडनेछ। जब धूलोले गर्दा मिश्रका मानिसहरू र पशुहरूलाई छालामा खटिराहरू निस्कनेछन्।” यसर्थ मोशा र हारूनले एउटा भट्टीबाट खरानी लिए अनि फिरऊनको अघि उभिए। मोशाले खरानी हावामा फ्याँकिदिए अनि मानिसहरू तथा पशुहरूको छालामा खटिरा निस्कन थाल्यो। मोशाले गरे जस्तो जादूगरहरूले गर्न सकेनन् कारण तिनीहरू पनि यस रोगले ग्रस्त थिए। यस्तो मिश्र देशमा जता-ततै भयो। तर परमप्रभुले फिरऊनलाई अट्टेरी नै बनाई राख्नु भयो, यसर्थ मोशा र हारूनका कुरा सुन्न उसले अस्वीकार गर्यो। परमप्रभुले मोशालाई भन्नु जस्तै नै भयो। तब परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान चाँडै उठ अनि फिरऊनकहाँ जाऊ। उसलाई भन, ‘परमप्रभु हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, “मेरा मानिसहरूलाई जान देऊ तिनीहरूले मेरो आराधना गरून।” यदि मेरा मानिसहरूलाई यसो गर्न दिएनौ भने म मेरो सम्पूर्ण शक्ति तिमी, तिम्रा मानिसहरू अनि तिम्रा अधिकारीहरूमाथि प्रयोग गर्नेछु। तब तिमीले जान्ने छौ संसारमा म जस्तो परमेश्वर अरू छैन। तिमी र तिम्रा मानिसहरूलाई यस भूमिबाट बाहिर ल्याउन म मेरो शक्ति प्रयोग गर्न सक्छु। तर मैले तिमीलाई मेरो शक्ति प्रकटको निम्ति राखेको हुँ। यसो गर्दा संसारका मानिसहरूले मेरो विषयमा बुझ्ने छन्। तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौं। यसर्थ भोलि यही समयमा अत्यन्तै नराम्रो असिना पार्नेछु। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिएदेखि कहिल्यै परेको थिएन। अब, तिमीले आफ्नो पशुहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्छ। प्रत्येक तिम्रो चीच जो अहिले खेतमा छ, त्यो तिमीले सुरक्षित ठाउँमा राख्नुपर्छ। किनभने मानिस होस् अथवा पशु जे पनि खेतमा हुन्छ त्यसलाई मारिनेछ। तिम्रो घर भित्र नराखिएको कुनै पनि वस्तुमाथि असिना पर्नेछ।’” फिरऊनका केही अधिकारीहरू ज-जसले परमप्रभुको वचनलाई आदर गरेका थिए, तिनीहरूले आफ्नो पशुहरू र कमारा-कमारीहरू घरभित्र राखे। तर अरू मानिसहरूले परमप्रभुको वचन ध्यान दिएका थिएनन् तिनीहरूका पशुहरू अनि कमारा-कमारीहरू खेतमा नै छोडी दिए। परमप्रभुले मोशालाई भननु भयो, “तिम्रो पाखुरा हावामामाथि उठाऊ अनि मिश्रभरी असिना पर्न शुरू हुनेछ। मिश्रमा प्रत्येक मानिस, पशु र उद्भिदमाथि असिना पर्नेछ।” तब मोशाले आफ्नो लहुरो हावामा उठाए अनि परमप्रभुले बिजुली गर्जन र असिनाहरू मिश्रमाथि पठाउनु भयो। असिना परिरहेको थियो र सँग-सँगै बिजुली पनि चम्किरहेको थियो। मिश्र एउटा राष्ट्र भए पछि सब भन्दा बढी असिना परेको यही थियो। मिश्रका सबै मानिसहरू, पशु अनि उद्भिद आँधी-बेरीले ध्वंश पार्यो। असिनाले खेतका रूखहरू पनि भाँचिदियो। असिना नपरेको ठाउँ चाँहि गोशेन मात्र थियो जहाँ इस्राएलका मानिसहरू बस्थे।