फेरि याहवेहले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। यदि तैँले तिनीहरूलाई जान दिइनस् भने हेर्, म तेरो सारा देशमा भ्यागुताहरू पठाएर विपत्ति ल्याउनेछु। नील नदी भ्यागुताले भरिनेछ। ती भ्यागुताहरू तेरो महलभित्र, तेरो सुत्ने कोठाभित्र, तेरो खाटमाथि, तेरा अधिकारीहरूका घर-घरमा, तेरा प्रजामाथि, तेरो चुल्हा र पिठो मुछ्ने भाँडाहरूमा उक्लेर आउनेछन्। ती भ्यागुताहरू तँमाथि, तेरा प्रजामाथि र तेरा सबै अधिकारीहरूमाथि पनि आउनेछन्।’ ”
तब याहवेहले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर तपाईंको हात नदी, नाला, पोखरीहरूमाथि पसार्नुहोस्, र इजिप्ट देशमा भ्यागुताहरू उक्लेर आऊन्।’ ”
यसकारण हारूनले इजिप्टका पानीहरूमाथि आफ्नो हात पसारे; अनि भ्यागुताहरू माथि निस्केर आए, र इजिप्ट देशलाई ढाकिदिए। तर जादुगरहरूले पनि आफ्ना गुप्त कलाद्वारा त्यसै गरे; तिनीहरूले पनि इजिप्ट देशमा भ्यागुताहरू ल्याए।
तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाऊन् भनी याहवेहसित बिन्ती चढाइदेओ, तब म तिम्रा मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउनलाई जान दिनेछु।”
मोशाले फारोलाई भने, “मैले तपाईंका निम्ति, तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति नील नदीका बाहेक यी भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट मुक्त गरिऊन् भनेर प्रार्थना गरिदिने समय ठहराउने सम्मानचाहिँ म तपाईंलाई नै दिन्छु।”
फारोले भने, “भोलि प्रार्थना गरिदिनुहोला।”
मोशाले जवाफ दिए, “तपाईंले भन्नुभएझैँ नै हुनेछ, र तपाईंले याहवेह हाम्रा परमेश्वरझैँ अरू कोही छैन भन्ने जान्न सक्नुहुनेछ। यी भ्यागुताहरूले तपाईं, तपाईंका घरहरू, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूलाई छोड्नेछन्; तर तिनीहरू नील नदीमा मात्र रहनेछन्।”
मोशा र हारून फारोकहाँबाट निस्केर गएपछि मोशाले याहवेहकहाँ उहाँले फारोमाथि ल्याउनुभएका भ्यागुताहरूका निम्ति पुकार गरे। अनि याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो; अनि ती भ्यागुताहरू घर, आँगन र खेतहरूमा नै मरे। तिनीहरूले ती बटुलेर थुप्रो लगाए; र देश नै दुर्गन्धले ढाकियो। तर जब फारोले सबै शान्त भएको देखे, तब तिनले आफ्नो हृदय कठोर पारे, र याहवेहले भन्नुभएझैँ मोशा र हारूनका कुरा सुनेनन्।
फेरि याहवेहले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो पसारेर जमिनको धुलोलाई हिर्काउनुहोस्,’ अनि त्यो सारा इजिप्ट देशभरि भुसुनै-भुसुना बन्नेछ।” तिनीहरूले त्यसै गरे; जब हारूनले लहुरो उठाएर जमिनका धुलोलाई हिर्काए, तब ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि आए। जमिनको सबै धुलो सारा इजिप्ट देशभरि भुसुनाहरू बने। तर जब ती जादुगरहरूले तिनीहरूका गुप्त कलाद्वारा भुसुनाहरू निकाल्न खोजे, तिनीहरूले सकेनन्।
अनि ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि भइरहे। ती जादुगरहरूले फारोलाई भने, “यो सबै कार्यमा परमेश्वरको हात छ।” तर फारोको हृदय याहवेहले भन्नुभएझैँ कठोर थियो, र तिनले सुन्न मानेनन्।