YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 8:1-19

प्रस्‍थान 8:1-19 सरल नेपाली

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “राजाकहाँ गएर परमप्रभुले यसो भन्‍दै हुनुहुन्छ भन्, ‘मेरो प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुज्‍नेछन्। तैँले मानिनस् भने म तेरो देशलाई भ्‍यागुता पठाएर तँलाई दण्‍ड दिनेछु। नील नदीमा यति धेरै भ्‍यागुता भरिनेछन् कि तिनीहरू नदी छोडी तेरो महलमा, सुत्‍ने कोठा र पलङ्गमा, तेरा भारदार र प्रजाका घरमा र तेरा चुला र पकाउने भाँडाहरूमा समेत आइपुग्‍नेछन्। तँ, तेरा प्रजा र सबै भारदारहरूमाथि ती भ्‍यागुताहरू उफ्री-उफ्री आइपुग्‍नेछन्’।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई आफ्‍नो लट्ठी नदी, नहर र पोखरीहरूमाथि उचाल्‍न भन् र देश भ्‍यागुतै भ्‍यागुताले भरियोस्।” अनि हारूनले आफ्‍नो लट्ठी पानीमाथि पसारे र भ्‍यागुताले देश भरियो। तर ती जादूगरहरूले पनि जादू गरे र देशमा भ्‍यागुता ल्‍याए। राजाले हारून र मोशालाई बोलाउन पठाए र भने, “परमप्रभुलाई यी भ्‍यागुताहरू हटाइदिन प्रार्थना गरिदेओ र म तिम्रा मानिसहरूलाई परमप्रभुकहाँ बलि चढाउन जान दिनेछु।” मोशाले उत्तर दिए, “म खुसीसाथ तपाईंको निम्‍ति प्रार्थना गर्नेछु। तपाईं, तपाईंका भारदार र प्रजाहरूका निम्‍ति मैले कति बेला प्रार्थना गर्नुपर्ने हो, सो समय तोकिदिनुहोस्। तब सबै भ्‍यागुताहरू हट्‍नेछन् र नील नदीमा बाहेक अरू कहीँ पनि भ्‍यागुता पाइनेछैन।” राजाले भने, “भोलि मेरो निम्‍ति प्रार्थना गरिदेऊ।” मोशाले भने, “म तपाईंले भन्‍नुभएअनुसार गर्नेछु, तब तपाईंले जान्‍नुहुनेछ कि परमप्रभु हाम्रा परमेश्‍वरजस्‍तो अर्को कोही छैन। तपाईं, तपाईंका भारदार र प्रजाहरूदेखि भ्‍यागुता हट्‍नेछन् र नील नदीमा मात्र ती रहनेछन्।” तब मोशा र हारून राजाबाट बिदा भएर गए र देशमा आएका भ्‍यागुताहरू हटून्‌ भनी मोशाले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले मोशाको प्रार्थना सुन्‍नुभयो र घर-घर, आँगन र खेतबारीहरूमा भएका भ्‍यागुताहरू मरे। ती मरेका भ्‍यागुताहरूलाई मिश्रीहरूले बटुलेर राश लाए र दुर्गन्‍ध फैलियो। जब राजाले भ्यागुताहरू मरेका देखे, तब परमप्रभुले भन्‍नुभएझैँ उनले आफ्‍नो हृदय कठोर पारे र मोशा र हारूनका कुरा सुनेनन्। परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन् कि त्‍यसले आफ्‍नो लट्ठीले जमिनमा हिर्काओस् र सारा मिश्रको धुलो भुसुना बनोस्‌।” हारूनले जमिनमा लट्ठीले हिर्काए र मिश्रमा भएको सारा धुलो भुसुना भएर मानिस र पशुहरूलाई ढाके। जादूगरहरूले पनि आफ्‍ना जादूमन्‍त्रले भुसुना बनाउन खोजे तर तिनीहरूले सकेनन्। जहीँ-तहीँ भुसुनै-भुसुना भयो र जादूगरहरूले राजालाई भने, “यो कामचाहिँ परमेश्‍वरले गर्नुभएको हो!” तर राजा ढिट नै भइबसे र परमप्रभुले भन्‍नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्।

प्रस्‍थान 8 पढ्नुहोस्