YouVersion लोगो
खोज आइकन

प्रस्थान 34:27-35

प्रस्थान 34:27-35 NCV

त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, “यी कुराहरू लेख्; किनकि यिनै कुराअनुसार मैले तँ र इस्राएलसँग करार बाँधेको छु।” मोशा त्यहाँ रोटी नखाई र पानी नपिई याहवेहसित चालीस दिन र चालीस रातसम्म रहे। तिनले ती साक्षी पाटीहरूमा त्यस करारका वचन अर्थात् दश आज्ञाहरू लेखे। जब मोशा सीनै पर्वतबाट आफ्ना हातहरूमा साक्षी पाटीहरू लिएर तल ओर्ले, तब याहवेहसित तिनले कुरा गरेकोले आफ्नो अनुहार चम्कँदैछ भन्‍ने तिनलाई थाहा भएन। जब हारून र सबै इस्राएलीहरूले मोशालाई देखे, तिनको अनुहार चम्किरहेको थियो; अनि तिनीहरू उनको नजिक आउन डराए। तर मोशाले तिनीहरूलाई बोलाए। अनि हारून र समुदायका सबै अगुवाहरू तिनीकहाँ फर्केर आए; र तिनले उनीहरूसित कुरा गरे। त्यसपछि सबै इस्राएलीहरू तिनको नजिक आए; अनि तिनले तिनीहरू सबैलाई याहवेहले तिनलाई सीनै पर्वतमा दिनुभएका सबै आज्ञाहरू दिए। मोशाले तिनीहरूसित कुरा गरिसकेपछि तिनले आफ्नो अनुहारमाथि घुम्टो लगाए। तर जब मोशा याहवेहसित कुरा गर्न उहाँको उपस्थितिमा जान्थे, आफू बाहिर ननिस्कुन्जेल घुम्टो उतार्थे। अनि तिनी बाहिर आएर तिनले के आज्ञा पाए, सो इस्राएलीहरूलाई सुनाइदिँदा इस्राएलीहरूले तिनको अनुहार चम्केको देख्थे। याहवेहसित कुरा गर्न भित्र नगएसम्म मोशाले फेरि आफ्नो अनुहारमाथि त्यो घुम्टो लगाउँथे।

प्रस्थान 34 पढ्नुहोस्