YouVersion लोगो
खोज आइकन

प्रस्थान 3:13-22

प्रस्थान 3:13-22 NCV

मोशाले परमेश्‍वरलाई भने, “यदि मैले गएर इस्राएलीहरूलाई ‘तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो’ भनुँला, र तिनीहरूले मलाई ‘उहाँको नाम के हो?’ भनी सोध्लान्, तब म तिनीहरूलाई त्यस बेला के भनूँ?” परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ, जो म हुँ। तैँले इस्राएलीहरूलाई भन्‍नू: ‘म हुँ भन्‍नेले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ ” परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूका पितापुर्खाहरूका याहवेह परमेश्‍वर—अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वरले—मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ “मेरो नाम सदा यही रहन्छ, र सबै पुस्तासम्म मेरो नामको सम्झना यही हुनेछ। “जा, इस्राएलका प्रधानहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्, ‘याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर—अब्राहाम, इसहाक र याकोबका परमेश्‍वर—मकहाँ देखा परेर भन्‍नुभयो: मैले तिमीहरूमाथि दृष्‍टि लगाएको छु र तिनीहरूले तिमीहरूलाई इजिप्टमा के-के गरे, सो देखेको छु। मैले तिमीहरूलाई इजिप्टको दुःखबाट बाहिर निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देशमा ल्याउनलाई प्रतिज्ञा गरेको छु—जुन दूध र मह बग्ने देश हो।’ “इस्राएलका प्रधानहरूले तेरो कुरा सुन्‍नेछन्। तब तँ र प्रधानहरू इजिप्टका राजाकहाँ गएर यसो भन्‍नू: ‘याहवेह, हिब्रूहरूका परमेश्‍वरले हामीसित भेट गर्नुभयो। हामीलाई तीन दिनको बाटो उजाडस्थानमा गएर याहवेह हाम्रा परमेश्‍वरकहाँ बलिदान चढाउन जान दिनुहोस्।’ तर म जान्दछु, शक्तिशाली हातले त्यसलाई बाध्य नगराएसम्म इजिप्टको राजाले तिमीहरूलाई जान दिनेछैन। यसकारण म आफ्नो हात पसारेर इजिप्टियनहरूका बीचमा सबै अद्‌भुत कार्यहरू गरेर तिनीहरूलाई प्रहार गर्नेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ। “म इजिप्टियनहरूलाई यस जातिप्रति कृपा राख्ने बनाउनेछु, र तिमीहरू निस्कँदा खाली हात निस्कनेछैनौ। हरेक स्त्रीले आफ्ना छिमेकीसित र उसको घरमा बसेकी कुनै पनि स्त्रीसित सुन र चाँदीका चीजहरू, र लुगाफाटाहरू मागेर ती तिमीहरूका छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले इजिप्टियनहरूलाई लुट्नेछौ।”

प्रस्थान 3 पढ्नुहोस्