YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 3:13-22

प्रस्‍थान 3:13-22 NNRV

मोशाले परमेश्‍वरलाई भने, “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्‍नेछु, ‘तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो,’ तब तिनीहरूले ‘उहाँको नाउँ के हो त?’ भनेर सोधे भने, मैले तिनीहरूलाई के भन्‍ने?” तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्‍नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्‍नू, “म हुँ” भन्‍नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो। परमेश्‍वरले मोशालाई यो पनि भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर, अर्थात्‌ अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्‍तासम्‍म मेरो नाउँको सम्‍झना यही हुनेछ। “जा, गएर इस्राएलका धर्म-गुरुहरूलाई जम्‍मा गरेर तिनीहरूलाई भन्‌: ‘परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर, अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर मकहाँ प्रकट भएर भन्‍नुभयो, मैले तिमीहरूको हेर-विचार गरेको छु र मिश्रमा तिमीहरूले जे भोग्‍दैछौ सो मैले देखेको छु। मैले तिमीहरूलाई मिश्रको कष्‍टबाट निकालेर कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूको देश, एउटा दूध र मह बग्‍ने देशमा लैजाने निश्‍चय गरेको छु’।” “इस्राएलका धर्म-गुरुहरूले तेरो कुरा सुन्‍नेछन्‌। तब तँ र इस्राएलका ती धर्म-गुरुहरू मिश्रका राजाकहाँ जानेछौ, र तिमीहरूले त्‍यसलाई भन्‍नेछौ, ‘परमप्रभु हिब्रूहरूका परमेश्‍वरले हामीसित भेट गर्नुभएको छ, र अब हामी बिन्‍ती गर्दछौं, कि परमप्रभु हाम्रा परमेश्‍वरको निम्‍ति बलि चढ़ाउनलाई उजाड़-स्‍थानमा हामीलाई तीन दिनको यात्रामा जाने अनुमति दिनुहोस्‌।’ तर मलाई थाहा छ, कि मिश्रको राजाले करमा परेर मात्र तिमीहरूलाई जान दिनेछ। यसकारण म मेरो हात उठाएर त्‍यहाँ तिनीहरूका बीचमा मेरा सारा आश्‍चर्यकर्महरूद्वारा मिश्रीहरूलाई प्रहार गर्नेछु, र त्‍यसपछि उनले तिमीहरूलाई जान दिनेछन्‌। “म यस जातिमाथि मिश्रीहरूको निगाह राखिदिनेछु, र तिमीहरू जाँदा रित्तो हात लिएर जानेछैनौ। हरेक स्‍त्रीले आफ्‍नो छिमेकी र त्‍यसको घरमा बस्‍ने स्‍त्रीलाई सुन र चाँदीका गहनाहरू र लुगाफाटाहरू माग्‍नेछ, र तिमीहरूले ती आ-आफ्‍ना छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्‌नेछौ।”