YouVersion लोगो
खोज आइकन

प्रस्थान 14:15-31

प्रस्थान 14:15-31 NCV

तब याहवेहले मोशालाई भन्‍नुभयो, “तिमीहरू किन मेरो पुकार गर्छौ? इस्राएलीहरूलाई अगि बढ्नू भन्। तेरो लहुरो उठा, र इस्राएलीहरू समुद्र भएर ओबानो जमिनबाट जाऊन् भनेर पानी दुई भाग गर्नलाई तेरो हात पसार्। म इजिप्टियनहरूको हृदय कठोर पारिदिनेछु, र तिनीहरू उनीहरूको पछि-पछि समुद्रभित्र जानेछन्। अनि म फारो र त्यसका सेनाद्वारा, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा महिमित हुनेछु। जब फारो, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा मेरो महिमा हुनेछ, तब इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।” त्यसपछि इस्राएली सेनाको अगि-अगि यात्रा गरिरहेका परमेश्‍वरका स्वर्गदूत पछि सरेर तिनीहरूका पछिल्तिर गए। बादलको खामो पनि अगिल्तिरबाट सरेर तिनीहरूका पछिल्तिर उभियो; अनि इजिप्ट र इस्राएलीहरूका सेनाका बीचमा आयो। रातभरि त्यस बादलले एकातिर अँध्यारो र अर्कोतिर उज्यालो ल्यायो। यसकारण रातभरि एकपट्टिको मानिस अर्कोपट्टि गएन। तब मोशाले समुद्रमाथि आफ्ना हात पसारे; अनि याहवेहले रातभरि शक्तिशाली पूर्वीय बतास चलाएर समुद्रलाई पछिल्तिर ठेलिदिनुभयो, र त्यसलाई ओबानो जमिनमा परिणत गरिदिनुभयो। पानी दुई भाग भयो, अनि इस्राएलीहरू समुद्रबीच ओबानो जमिनबाट भएर गए; तिनीहरूका दाहिने र देब्रेतिर पानीको पर्खाल खडा भयो। ती इजिप्टियनहरूले तिनीहरूलाई खेदे, र फारोका सबै घोडाहरू, रथहरू र घोडसवारहरूले तिनीहरूलाई समुद्रमा पछ्याए। मिरमिरे बिहानी याहवेहले आगो र बादलको खामोबाट इजिप्टका सेनालाई तल हेर्नुभयो र तिनीहरूलाई अलमल पारिदिनुभयो। उहाँले तिनीहरूका रथहरूका चक्‍काहरू फुस्काइदिनुभयो, र तिनीहरूलाई कुदाउन कठिन पर्‍यो। अनि इजिप्टियनहरूले भने, “हामी इस्राएलीहरूदेखि भागौँ! याहवेह तिनीहरूको पक्षमा भई हाम्रो विरुद्धमा युद्ध गर्दै हुनुहुन्छ।” तब याहवेहले मोशालाई भन्‍नुभयो, “पानी फेरि इजिप्टियनहरू, तिनीहरूका रथहरू र घोडसवारहरूमाथि पछिल्तिर फर्केर ओइरियोस् भनेर तेरो हात समुद्रमाथि पसार्।” मोशाले आफ्ना हात समुद्रमाथि पसारे, र बिहान समुद्र फेरि आफ्नो ठाउँमा सर्‍यो। इजिप्टियनहरू यसको विपरीत भाग्दैथिए; अनि याहवेहले तिनीहरूलाई सोहोरेर समुद्रमा हालिदिनुभयो। पानी फर्केर आयो, र इस्राएलीहरूलाई समुद्रमा पछिबाट लखेट्ने रथहरू र घोडसवारहरू, फारोका सम्पूर्ण सेनालाई ढाकिदियो। तिनीहरूमध्ये एउटै पनि बाँचेनन्। तर इस्राएलीहरू त तिनीहरूका दाहिने र देब्रेतिर पानीका पर्खाल भएकाले समुद्रबाट ओबानो जमिन भएर गए। त्यस दिन याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूको हातबाट बचाउनुभयो; अनि इस्राएलीहरूले इजिप्टियनहरूलाई किनारमा मरेर पस्रिरहेका देखे। जब याहवेहले इजिप्टियनहरूको विरुद्धमा महान् शक्ति देखाउनुभएको इस्राएलीहरूले देखे, तब मानिसहरू याहवेहसित डराए र आफ्नो भरोसा याहवेह र उहाँका सेवक मोशामाथि राखे।

प्रस्थान 14 पढ्नुहोस्