याहवेहले मोशालाई भन्नुभयो, “पहिले जन्मेका प्रत्येक पुरुषलाई मेरा निम्ति अर्पण गर। इस्राएलीहरूबीच गर्भको हरेक पहिलो फल मेरो हो—चाहे त्यो मानिस होस् वा पशु।” तब मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर, जुन दिन तिमीहरू इजिप्टबाट, दासत्वको देशबाट निस्केर आयौ; किनकि याहवेहले तिमीहरूलाई शक्तिशाली हातले त्यहाँबाट बाहिर निकालेर ल्याउनुभयो। खमिर भएको कुनै कुरा नखाओ। आज आबीब महिनामा तिमीहरू निस्कँदैछौ। जब याहवेहले तिमीहरूलाई कनानीहरू, हित्तीहरू, एमोरीहरू, हिव्वीहरू र यबूसीहरूको देश—उहाँले तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु भनेर शपथ खानुभएको दूध र मह बग्ने देशमा ल्याउनुहुनेछ, तब तिमीहरूले यही महिनामा यो उत्सव मनाउनुपर्छः सात दिनसम्म खमिर नमिसाइएको रोटी खानू र सातौँ दिनमा याहवेहका निम्ति चाड मनाउनू। ती सात दिनहरूमा अखमिरी रोटी खानू; तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन। त्यस दिन तिमीहरूले आफ्ना छोरालाई भन्नू, ‘म इजिप्टबाट निस्केर आउँदा याहवेहले मेरो लागि जे गर्नुभयो, त्यसका लागि म यो गर्छु।’ याहवेहको व्यवस्था तिमीहरूका ओठमा रहोस् भनी यो रीति तिमीहरूको हातमा एउटा चिन्हस्वरूप र तिमीहरूका निधारमा एउटा सम्झना दिलाउने कुरो हुनेछ; किनकि याहवेहले तिमीहरूलाई इजिप्टबाट उहाँको शक्तिशाली हातले निकालेर ल्याउनुभयो। तिमीहरूले यो रीति वर्षैपिच्छे तोकिएको समयमा पालन गर्नुपर्छ। “उहाँले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूसित शपथद्वारा प्रतिज्ञा गर्नुभएझैँ याहवेहले तिमीहरूलाई कनानीहरूको देशमा ल्याएर त्यो तिमीहरूलाई दिनुभएपछि, तिमीहरूले प्रत्येक गर्भको पहिलो फल याहवेहलाई दिनुपर्छ। तिमीहरूका पशुहरूका पहिले जन्मेका सबै नरहरू याहवेहकै हुन्। पहिले जन्मेको गधालाई एउटा पाठो दिएर छुटाउनू, तर तिमीहरूले त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। तिमीहरूका छोराहरूमध्ये जेठालाई छुटाउनू। “भविष्यमा जब तिमीहरूका छोराले ‘यसको अर्थ के हो?’ भनी सोध्नेछ, तब त्यसलाई भन्नू, ‘याहवेहले हामीलाई शक्तिशाली हातले दासत्वको देश इजिप्टबाट निकालेर ल्याउनुभयो। जब फारोले हठी भएर हामीलाई जान दिएनन्, याहवेहले इजिप्टमा मानिस र पशुबाट प्रथम जन्मेका हरेकलाई मार्नुभयो। यसैकारण म प्रत्येक गर्भको प्रथम नरलाई याहवेहका निम्ति बलिदान चढाउँछु, र मेरा पहिला जन्मेका प्रत्येक छोरालाई छुटाउँछु।’ अनि याहवेहले हामीलाई इजिप्टबाट शक्तिशाली हातले निकालेर ल्याउनुभयो भन्ने यो तिमीहरूका हातमा चिन्हस्वरूप र निधारमा सङ्केतस्वरूप हुनेछ।”
प्रस्थान 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 13:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू