परमप्रभुले मोशालाई भन्नुभयो, “पहिले जन्मने सबै बालक र गाई-वस्तुका बाछाहरू मलाई अर्पण गर् किनभने इस्राएलको हरेक जेठो छोरा र गाई-वस्तुले ब्याएको पहिलो बाछो मेरा हुन्।” मोशाले मानिसहरूलाई भने, “आफू कमारा-कमारी भएर बसेको मिश्रदेशलाई छोडिआएको यस दिनलाई याद राख। यस दिनमा परमप्रभुले आफ्नो महान् शक्तिले तिमीहरूलाई निकाली ल्याउनुभयो। खमिर नहालेको रोटी खानू। आबीब भनिने पहिलो महिनाको यो दिनमा तिमीहरूले मिश्रदेश छोड्दै छौ। परमप्रभुले तिम्रा पुर्खाहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको देश दिने प्रतिज्ञा गर्नुभएको छ। जब उहाँले तिमीहरूलाई त्यस धनी र मलिलो देशमा पुर्याउनुहुन्छ, तब वर्षेनी पहिलो महिनामा तिमीहरूले यो चाड मनाउनू। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू र सातौँ दिनमा परमप्रभुलाई आदर गर्दै यो चाड मनाउनू। सात दिनसम्म तिमीहरूले खमिर लाएको रोटी नखानू, तिमीहरूका देशभरि कहीँ पनि खमिर वा खमिरे रोटी नराख्नू। चाड सुरु भएपछि तिमीहरूले मिश्र छोड्दा परमप्रभुले तिम्रा निम्ति जे-जति गर्नुभएको थियो, त्यसैको सम्झनाको लागि यो चाड मनाइरहेको हो भनी आफ्ना छोराहरूलाई भन। परमप्रभुको कुनै पनि व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्ति एउटा चिन्ह हातमा र निधारअघि तिमीहरूलाई सम्झना गराउने कुरा हुनेछ किनकि परमप्रभुले आफ्नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो। हरसाल तोकिएको समयमा यो चाड मनाउने गर। “तिमीहरूलाई परमप्रभुले कनानीहरूका देशमा ल्याइपुर्याउनुहुन्छ। उहाँले त्यो देश तिमी र तिम्रा पुर्खाहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। जब तिमीहरूले सो देश पाउँछौ, तिमीहरूले आ-आफ्ना जेठा छोराहरू परमप्रभुलाई अर्पण गर्नुपर्नेछ। तिमीहरूका पशुहरूले ब्याएका पहिला भाले बच्चाहरू पनि परमप्रभुकै हुनेछन्। तर गधाको हरेक पहिलो बछेडालाई तिमीहरूले भेडाको पाठो दिएर छुटाउनुपर्नेछ। तिमीहरूले गधा छुटाउन चाहँदैनौ भने त्यसको घिच्रो भाँचिदिनू। तिमीहरूले आ-आफ्ना जेठा छोरालाई दाम दिएर छुटाउनुपर्नेछ। भविष्यमा तिमीहरूका छोराहरूले किन यसो गरिएको हो भनी सोधे भने तिमीहरूले यस्तो जवाफ दिनू, ‘परमप्रभुले हामी कमारा-कमारी भएर रहेको मिश्रदेशदेखि आफ्नो महान् शक्तिले हामीलाई निकाली ल्याउनुभयो। मिश्रका राजाले हठी भएर हामीलाई नछोड्दा परमप्रभुले मिश्रका सबै मानिसका जेठा छोराहरू र पशुका पहिला जन्मेका भाले बच्चाहरूलाई नाश पार्नुभयो। यसैकारण हामी हाम्रा पशुका पहिला जन्मेका भाले बच्चाहरूलाई परमप्रभुका लागि चढाउँछौं; तर जेठा छोराहरूलाई चाहिँ तिनका सट्टामा केही चढाएर छुटाउँछौं। कुनै कुराको याद दिनलाई हात वा निधारमा बाँधेको चिन्हजस्तै यो चाडले हामीलाई परमप्रभुले आफ्नो महान् शक्तिले मिश्रदेखि निकाली ल्याउनुभएको कुराको याद गराउनेछ’।”
प्रस्थान 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 13:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू