फेरि याहवेहले मोशालाई भन्नुभयो, “फारोकहाँ जा, किनकि मैले त्यसको र त्यसका अधिकारीहरूको हृदय कठोर बनाइदिएको छु, ताकि म तिनीहरूमाथि आफ्ना यी अलौकिक चिन्हहरू गर्न सकूँ; अनि मैले इजिप्टियनहरूसित कति कडा व्यवहार गरेँ, र मैले कसरी तिनीहरूबीच मेरा अलौकिक चिन्हहरू देखाएँ भनी तिमीहरूले आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई भन्नेछौ, र तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।”
यसकारण मोशा र हारून फारोकहाँ गएर तिनलाई भने, “याहवेह, हिब्रूहरूका परमेश्वर, यसो भन्नुहुन्छ: ‘मेरो अगि आफूलाई नम्र तुल्याउन तँ कहिलेसम्म अस्वीकार गर्छस्? मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। तैँले तिनीहरूलाई जान दिन अस्वीकार गरिस् भने म भोलि तेरो देशमा सलहहरू ल्याउनेछु। तिनीहरूले जमिनलाई नदेखिने गरी ढाकिदिनेछन्। असिनापछि अलि-अलि जे जति बाँकी रहेका छन्, तिनीहरूले ती सबै अनि तिमीहरूका खेतहरूमा बढ्दै गरेका प्रत्येक रूखलाई खाइदिनेछन्। तिनीहरूले तेरा घरहरू, तेरा सबै अधिकारीहरू र सारा इजिप्टियनहरूका घरहरू भरिनेछन्; यस्ता सलहहरू न तेरा पिताले, न त तेरा पुर्खाहरूले नै यस देशमा बसोबास गरेको समयदेखि आजसम्म देखेका छन्।’ ” तब मोशा फर्के, र फारोलाई छोडेर गए।
फारोका अधिकारीहरूले तिनलाई भने, “यो मानिस कहिलेसम्म हाम्रा निम्ति पासो बन्ने? यी मानिसहरूलाई जान दिनुहोस्, ताकि याहवेह तिनीहरूका परमेश्वरको आराधना गरून्। इजिप्ट नाश भइसक्यो भनेर के तपाईंलाई अझ थाहा छैन र?”
तब मोशा र हारून फारोकहाँ फर्काएर ल्याइए। अनि तिनले उनीहरूलाई भने, “जाओ, गएर याहवेह तिमीहरूका परमेश्वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्?”
मोशाले जवाफ दिए, “हामी आफ्ना साना-ठूलासित, आफ्ना छोराछोरीहरूसित, आफ्ना बगाल र बथान सहित जानेछौँ; किनकि हामीले याहवेहका निम्ति चाड मनाउनुपर्छ।”
फारोले भने, “म तिमीहरूलाई तिमीहरूका स्त्रीहरू र छोराछोरीहरूसहित जान दिनेछु, याहवेह तिमीहरूसित होऊन्, तर होशियार होऊ; किनभने तिमीहरूको यसमा दुष्टता देखिन्छ। अहँ, त्यसो होइन; तिमीहरू पुरुषहरू मात्र जाओ, र याहवेहको आराधना गर, जसका निम्ति तिमीहरूले बिन्ती गरिरहेका छौ।” तब मोशा र हारून फारोको उपस्थितिबाट निकालिए।
अनि याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात इजिप्टमाथि पसार्, र सलहहरूका हुल यस देशमा आऊन्, र खेतमा बढिरहेका घाँसपात, असिनाबाट बचेको सबै थोक खाइदेऊन्।”
तब मोशाले आफ्नो लहुरो इजिप्टमाथि पसारे; अनि याहवेहले देशको चारैतिर दिनभरि र रातभरि पूर्वीय बतास चलाइदिनुभयो। तब बिहान भएपछि पूर्वीय बतासले सलहहरू ल्यायो। सलहहरूले सम्पूर्ण इजिप्टमाथि आक्रमण गरे, र देशका सबै भागहरूमा धेरै संख्यामा बसे। यसअगि कहिल्यै यति धेरै सलहहरू आएका थिएनन्, न त फेरि त्यो कहिल्यै आउनेछन्। तिनीहरूले सम्पूर्ण जमिनलाई कालो हुने गरी ढाकिदिए। तिनीहरूले असिनाले बचेका हरेक वनस्पति र रूखका सबै फलहरू खाइदिए। इजिप्टभरिका रूखहरू अथवा बोटबिरुवाहरूमा हरियो पात केही बाँकी रहेन।