YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 10:1-15

प्रस्‍थान 10:1-15 NNRV

फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ जा, किनकि उनीहरूका बीचमा मेरा यी चिन्‍हहरू देखाऊँ भनेर नै मैले त्‍यो र त्‍यसका अधिकारीहरूका हृदय कठोर गरेको हुँ, ताकि मैले कसरी मिश्रीहरूको उपहास गरें, र उनीहरूका बीचमा कस्‍ता-कस्‍ता चिन्‍हहरू देखाएँ सो तैंले आफ्‍ना छोरा-नातिहरूलाई बताउनू, र परमप्रभु म नै हुँ भनी तँलाई थाहा होस्‌।” तब मोशा र हारून फारोकहाँ गएर उनलाई भने, “परमप्रभु हिब्रूहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘कहिलेसम्‍म तँ मेरो अगि नम्र हुन अस्‍वीकार गर्छस्‌? मेरा प्रजालाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्‌। तैंले मेरा प्रजालाई जान दिन अस्‍वीकार गरिस्‌ भने, भोलि म तेरा सिमानाभित्र सलहहरू ल्‍याउनेछु। तिनीहरूले जमिनको सतह यस्‍तो गरी ढाक्‍नेछन्‌ कि जमिन देखिनेछैन। असिनाबाट जोगिएर उब्रेका सबै कुरा तिनीहरूले खानेछन्‌। तिमीहरूका वनमा उम्रेका सबै रूखपात तिनीहरूले खानेछन्‌। तेरा घरमा र तेरा सबै अधिकारीहरूका घरमा र सारा मिश्रीहरूका घरमा ती भरिनेछन्‌। त्‍यति बिघ्न सलह त तेरा पिता-पुर्खाहरूले यस देशमा आएदेखि आजसम्‍म कहिल्‍यै देखेका थिएनन्‌’।” तब मोशा फर्केर फारोबाट निस्‍केर गए। फारोका अधिकारीहरूले उनलाई भने, “कहिलेसम्‍म यो मानिस हाम्रा लागि पासो बन्‍ने? ती मानिसहरूलाई तिनीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्नलाई जान दिनुहोस्‌। मिश्रदेश नष्‍ट भइसक्‍यो भन्‍ने के हजूरलाई थाहा छैन?” अनि मोशा र हारून फारोकहाँ ल्‍याइए। उनले तिनीहरूलाई भने, “जाओ, परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्‌?” मोशाले भने, “हामी, हाम्रा केटाकेटी, बूढ़ाबूढ़ी, छोराछोरी, भेड़ाबाख्रा र गाईबस्‍तुहरू लिएर जानेछौं, किनकि हामीले परमप्रभुको निम्‍ति चाड़ मान्‍नुपर्छ।” फारोले भने, “तिमीहरूका परमप्रभु तिमीहरूसँगै रहून्‌। मैले तिमीहरूलाई आफ्‍ना आइमाई र बालबच्‍चाहरूसमेत जान दिने? तिमीहरूको मनमा केही दुष्‍ट अभिप्राय छ। अँहँ, त्‍यसो हुँदैन। तिमी पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गर, किनकि तिमीहरूले त्‍यही माग गरेका छौ।” अनि मोशा र हारून फारोको सामुन्‍नेबाट लघारिए। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “सलहहरू मिश्रमा आऊन्‌ भनी आफ्‍नो हात पसार्, र ती मिश्रमा आएर असिनाबाट बाँचेका बारीका जम्‍मै सागपातहरू खाइदेऊन्।” अनि मोशाले आफ्‍नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्‍यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो। जब बिहान भयो तब पूर्वीय बतासले सलहहरू ल्‍याएको थियो। अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि हूलका हूलमा बसे। त्‍यतिका सलहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्‌। तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्‍म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन।