प्रस्थान 10
10
सलहहरूको विपत्ति
1फेरि याहवेहले मोशालाई भन्नुभयो, “फारोकहाँ जा, किनकि मैले त्यसको र त्यसका अधिकारीहरूको हृदय कठोर बनाइदिएको छु, ताकि म तिनीहरूमाथि आफ्ना यी अलौकिक चिन्हहरू गर्न सकूँ; 2अनि मैले इजिप्टियनहरूसित कति कडा व्यवहार गरेँ, र मैले कसरी तिनीहरूबीच मेरा अलौकिक चिन्हहरू देखाएँ भनी तिमीहरूले आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई भन्नेछौ, र तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।”
3यसकारण मोशा र हारून फारोकहाँ गएर तिनलाई भने, “याहवेह, हिब्रूहरूका परमेश्वर, यसो भन्नुहुन्छ: ‘मेरो अगि आफूलाई नम्र तुल्याउन तँ कहिलेसम्म अस्वीकार गर्छस्? मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। 4तैँले तिनीहरूलाई जान दिन अस्वीकार गरिस् भने म भोलि तेरो देशमा सलहहरू ल्याउनेछु। 5तिनीहरूले जमिनलाई नदेखिने गरी ढाकिदिनेछन्। असिनापछि अलि-अलि जे जति बाँकी रहेका छन्, तिनीहरूले ती सबै अनि तिमीहरूका खेतहरूमा बढ्दै गरेका प्रत्येक रूखलाई खाइदिनेछन्। 6तिनीहरूले तेरा घरहरू, तेरा सबै अधिकारीहरू र सारा इजिप्टियनहरूका घरहरू भरिनेछन्; यस्ता सलहहरू न तेरा पिताले, न त तेरा पुर्खाहरूले नै यस देशमा बसोबास गरेको समयदेखि आजसम्म देखेका छन्।’ ” तब मोशा फर्के, र फारोलाई छोडेर गए।
7फारोका अधिकारीहरूले तिनलाई भने, “यो मानिस कहिलेसम्म हाम्रा निम्ति पासो बन्ने? यी मानिसहरूलाई जान दिनुहोस्, ताकि याहवेह तिनीहरूका परमेश्वरको आराधना गरून्। इजिप्ट नाश भइसक्यो भनेर के तपाईंलाई अझ थाहा छैन र?”
8तब मोशा र हारून फारोकहाँ फर्काएर ल्याइए। अनि तिनले उनीहरूलाई भने, “जाओ, गएर याहवेह तिमीहरूका परमेश्वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्?”
9मोशाले जवाफ दिए, “हामी आफ्ना साना-ठूलासित, आफ्ना छोराछोरीहरूसित, आफ्ना बगाल र बथान सहित जानेछौँ; किनकि हामीले याहवेहका निम्ति चाड मनाउनुपर्छ।”
10फारोले भने, “म तिमीहरूलाई तिमीहरूका स्त्रीहरू र छोराछोरीहरूसहित जान दिनेछु, याहवेह तिमीहरूसित होऊन्, तर होशियार होऊ; किनभने तिमीहरूको यसमा दुष्टता देखिन्छ। 11अहँ, त्यसो होइन; तिमीहरू पुरुषहरू मात्र जाओ, र याहवेहको आराधना गर, जसका निम्ति तिमीहरूले बिन्ती गरिरहेका छौ।” तब मोशा र हारून फारोको उपस्थितिबाट निकालिए।
12अनि याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात इजिप्टमाथि पसार्, र सलहहरूका हुल यस देशमा आऊन्, र खेतमा बढिरहेका घाँसपात, असिनाबाट बचेको सबै थोक खाइदेऊन्।”
13तब मोशाले आफ्नो लहुरो इजिप्टमाथि पसारे; अनि याहवेहले देशको चारैतिर दिनभरि र रातभरि पूर्वीय बतास चलाइदिनुभयो। तब बिहान भएपछि पूर्वीय बतासले सलहहरू ल्यायो। 14सलहहरूले सम्पूर्ण इजिप्टमाथि आक्रमण गरे, र देशका सबै भागहरूमा धेरै संख्यामा बसे। यसअगि कहिल्यै यति धेरै सलहहरू आएका थिएनन्, न त फेरि त्यो कहिल्यै आउनेछन्। 15तिनीहरूले सम्पूर्ण जमिनलाई कालो हुने गरी ढाकिदिए। तिनीहरूले असिनाले बचेका हरेक वनस्पति र रूखका सबै फलहरू खाइदिए। इजिप्टभरिका रूखहरू अथवा बोटबिरुवाहरूमा हरियो पात केही बाँकी रहेन।
16त्यसैले फारोले तुरुन्तै मोशा र हारूनलाई बोलाएर भने, “मैले याहवेह तिमीहरूका परमेश्वर र तिमीहरूका विरुद्धमा पाप गरेको छु। 17अब फेरि एक पल्ट मेरो पाप क्षमा गरिदेओ, र यो घातक विपत्ति मबाट हटाइदेऊन् भनी याहवेह तिमीहरूका परमेश्वरसित बिन्ती गरिदेओ।”
18तब मोशा फारोकहाँबाट निस्केर गइहाले र याहवेहलाई बिन्ती चढाए। 19अनि याहवेहले बतासलाई ठूलो पश्चिमी बतासमा परिणत गरिदिनुभयो, जसले सलहहरूलाई उडाएर लाल समुद्रमा फालिदियो। त्यसपछि इजिप्टमा एउटै सलह पनि रहेन। 20तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; र तिनले इस्राएलीहरूलाई जान दिएनन्।
अन्धकारको विपत्ति
21तब याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्टमाथि अँध्यारो भइजाओस्—छाम्दा पनि थाहा पाउनेजस्तो अन्धकार।” 22यसकारण मोशाले आफ्नो हात आकाशतिर पसारे, र इजिप्टभरि तीन दिनसम्म घनघोर अन्धकार भयो। 23तीन दिनसम्म कसैले एक-अर्कालाई देख्न सकेनन्, र आफ्नो ठाउँ छोड्न सकेनन्। तरै पनि इस्राएलीहरूका निम्ति त तिनीहरू बसेको ठाउँहरूमा उज्यालो रह्यो।
24तब फारोले मोशालाई बोलाएर भने, “जाऊ, याहवेहको आराधना गर। तिमीहरूका स्त्रीहरू र छोराछोरीहरू पनि तिमीहरूसित जाऊन्; केवल तिमीहरूका बगाल र बथान मात्र यहाँ रहून्।”
25तर मोशाले भने, “तपाईंले हामीलाई याहवेह हाम्रा परमेश्वरका निम्ति बलिदान र होमबलि चढाउन दिनुपर्छ। 26हाम्रा गाईबस्तुहरू पनि हामीसित जानेछन्, र एउटै खुर समेत छोडिनेछैन; किनकि हामीले तीमध्ये कुनै-कुनै बस्तुभाउ हाम्रा याहवेह परमेश्वरलाई चढाउनुपर्छ; जबसम्म हामी त्यहाँ पुग्दैनौँ, तबसम्म हामीले याहवेहलाई के-के चढाएर आराधना गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।”
27तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; अनि उनले तिनीहरूलाई जान दिएनन्। 28फारोले मोशालाई भने, “यहाँबाट गईहाल! अब फेरि मेरो सामु तिमी देखा पर्दै नपर! तिमीले मेरो अनुहार देखेको त्यही दिन तिमी मर्नेछौ।”
29मोशाले जवाफ दिए, “तपाईंले भन्नुभएझैँ म फेरि तपाईंको सामु कहिल्यै देखा पर्नेछैनँ।”
अहिले सेलेक्ट गरिएको:
प्रस्थान 10: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.