YouVersion लोगो
खोज आइकन

एफिसी 5:22-33

एफिसी 5:22-33 NCV

हे पत्नीहरूहो, प्रभुको अधीनतामा रहेजस्तै, आ-आफ्ना पतिहरूका अधीनतामा बस। किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्‍ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ, जसको निम्ति उहाँ उद्धारकर्ता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्‍टको अधीनतामा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूको अधीनतामा रहून्। हे पतिहरूहो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो, र त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकियोस्। अनि त्यसलाई आफ्नै निम्ति यस्तो प्रतापी मण्डलीको रूपमा प्रस्तुत गर्न सक्नुभएको होस्, जसमा कुनै दाग नभएको अथवा चाउरी नपरेको वा अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्। यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैं प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैलाई प्रेम गर्दछ। कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले मण्डलीलाई गर्नुहुन्छ। किनकि हामी उहाँका शरीरका अङ्गहरू हौं। “यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्ना पत्नीसँग जोडिरहनेछ, अनि ती दुई एउटै शरीर हुन्छन्।” यो एक अति गहन रहस्य हो, तर मैले ता ख्रीष्‍ट र मण्डलीबारे कुरा गरिरहेको छु। जसरी तिमी आफैलाई प्रेम गर्छौ, त्यसरी नै हरेकले आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ, र पत्नीले आफ्ना पतिको आदर गर्नुपर्छ।

एफिसी 5 पढ्नुहोस्