यसकारण प्रिय बालबालिकाहरूझैं परमेश्वरको अनुकरण गर्नेहरू होओ, अनि प्रेमको मार्गमा जिओ, जसरी ख्रीष्टले हामीहरूलाई प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो। तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता वा अशुद्धता वा लोभको नाउँसम्म आउनुहुँदैन, किनकि परमेश्वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित छैनन्। अनि कुनै प्रकारका अश्लील, मूर्ख बातचित अथवा बेफाइदाका ठट्यौली नगर, यो ठीक छैन, बरु परमेश्वरलाई धन्यवाद दिनेगर। किनकि तिमीहरू यो निश्चित जान, कुनै व्यभिचारी वा अशुद्ध व्यक्ति वा लोभी, यस्तो व्यक्ति मूर्तिपूजक हो र ख्रीष्ट र परमेश्वरको राज्यको हकदार हुन सक्दैन। कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदेओस्, किनकि यिनै कुराहरूका कारण परमेश्वरको क्रोध अनाज्ञाकारीहरूमाथि आउँदछ। यसकारण यी मानिसहरूले गर्ने काममा सहभागी नहोओ। किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले प्रभुमा ज्योति भएका छौ। त्यसैले ज्योतिका सन्तानझैं जिओ। किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ, अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज। अन्धकारका निष्फल कार्यहरूसँग सहभागी नबन, बरु तिनीहरूलाई प्रकट गरिदेओ। अनाज्ञाकारीहरूले गुप्तमा जे गर्छन्, त्यो भन्नु पनि लज्जास्पद कुरो हो। तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ। त्यसकारण यस्तो भनिएको छ: “हे सुतेकाहरू, जाग र मरेकाहरूबाट उठ, अनि ख्रीष्ट तिमीहरूमा चम्कनुहुनेछ।” यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होऊ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान् जस्तो होऊ। सबै अवसरको पूरा सदुपयोग गर, किनकि दिनहरू खराब छन्। यसकारण मूर्ख नबन, तर प्रभुको इच्छा के हो सो बुझ। दाखमद्यले नमात्तिओ, किनभने यसले तिम्रो जीवन बर्बाद गर्छ। बरु पवित्र आत्माले भरिपूर्ण होओ। भजन, स्तुतिगान र आत्मिकी गीतहरूमा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल। हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा, सधैं सबै कुराको निम्ति परमेश्वर पितालाई धन्यवाद चढाओ।
एफिसी 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 5:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू