“म नै याहवेह, तेरा परमेश्वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ। “मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्नू। आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू। तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्वर, डाह गर्ने परमेश्वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु; तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु। तैँले याहवेह, आफ्ना परमेश्वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन। शब्बाथलाई पवित्र राखेर त्यसको सम्झना गर्नू। छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू; तर सातौँ दिन याहवेह तेरा परमेश्वरका निम्ति शब्बाथ हो। यस दिन तैँले केही काम नगर्नू, न त तैँले, तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न त तेरा गोरुले, गधाले, वा तेरा कुनै पशुले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू, ताकि तँसँगै तेरा सेवक-सेविकाले आराम पाऊन्। तिमीहरू इजिप्टमा दास हुँदा कसरी याहवेह तिमीहरूका परमेश्वरले आफ्नो शक्तिशाली हात र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई शब्बाथ मान्न आज्ञा गर्नुभएको हो। तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, जसरी याहवेह तेरा परमेश्वरले तँलाई आज्ञा दिनुभएको छ, ताकि याहवेह तेरा परमेश्वरले दिनुहुने देशमा तेरो आयु लामो होस् र तेरो भलो होस्। तैँले मानव हत्या नगर्नू। तैँले व्यभिचार नगर्नू। तैँले चोरी नगर्नू। तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू। तैँले आफ्नो छिमेकीको घर वा जमिनको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।” याहवेहले पर्वतमा भेला भएका सारा समुदायलाई आगो, बादल र घोर अन्धकारबाट चर्को सोरले घोषणा गर्नुभएका आज्ञाहरू यिनै हुन्; अनि उहाँले अरू केही थप्नुभएन। त्यसपछि उहाँले दुई वटा ढुङ्गाका पाटीहरूमा ती लेख्नुभयो, र मलाई दिनुभयो।
व्यवस्था 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 5:6-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू